अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

तत्काल वार्ता गरी समाधान खोज्न चिकित्सक संघको आग्रह
16
Shares

काठमाडौँ, १६ कात्तिक । इलाम पुगेर गत १२ कात्तिक देखि आमरण अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाल चिकित्सक संघले सरकारलाई तत्काल वार्ता गरी उनका माग सम्बोधन गर्न आग्रह गरेको छ।

रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि शनिबार राति इलाम अस्पताल भर्ना गरिएका केसीको स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने भन्दै संघले उनको जीवन रक्षाका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

संघले आइतबार जारी गरेको विज्ञप्तिमा केसीको शरीरमा सुगर र अक्सिजनको मात्रा कम हुनुका साथै स्वास्थ्यमा थप जटिलता देखिएको उल्लेख छ। उनलाई अक्सिजनसमेत दिनुपरेको र थप सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न चिकित्सकहरूले सुझाव दिएको जानकारीले संघलाई गम्भीर बनाएको जनाएको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच तथा सुशासनका लागि लामो समयदेखि आवाज उठाउँदै आएका केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै जानु चिन्ताको विषय भएको संघले जनाएको छ।

संघले केसीका जायज माग तत्काल सम्बोधन गर्न उनीसँग अविलम्ब वार्ता गरी समाधान खोज्न सरकारसँग आग्रह गरेको छ। साथै उनको जीवन रक्षाका लागि आवश्यक उपचार तथा स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाई आमरण अनशन अन्त्य गर्ने वातावरण निर्माण गर्न पनि सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

यसअघि इलाम अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य विवरणअनुसार टाइप–२ मधुमेहका बिरामी रहेका केसीको रगतमा ग्लुकोजको मात्रा घटेर ३६ मिलिग्राम प्रतिडेसिलिटरसम्म पुगेको थियो। पिसाबमा एसिटोनको मात्रा बढेको र मुटुको इसिजी परीक्षणमा भेन्ट्रिकुलर प्रिम्याच्योर कम्प्लेक्स (भिपिसी) समेत देखिएको अस्पतालले जनाएको छ।

स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने र जीवन जोखिममा पर्न सक्ने भन्दै अस्पतालले थप उपचार तथा व्यवस्थापनका लागि कोशी प्रदेश सरकारसँग आग्रह गरेको थियो। यसैबीच कोशी प्रदेशका स्वास्थ्य सचिव डा। कीर्तिपाल सुवेदीले आइतबार अस्पताल पुगेर केसीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका थिए।

डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका छबुँदे माग राख्दै गत कात्तिक १२ गतेदेखि इलामस्थित नारायण मन्दिर परिसरमा आफ्नो २५औँ आमरण अनशन सुरु गरेका हुन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुनः सत्याग्रह थालेका हुन्।

उनका मागमा गेटामा न्यूनतम पूर्वाधार र कानुनी मापदण्ड पूरा नगरी एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने निर्णय खारेज गर्नुपर्ने, मापदण्डविपरीत मेडिकल कलेजमा बढाइएका सिट खारेज गर्नुपर्ने तथा चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारीको नियुक्ति र निर्णय प्रक्रियाबारे निष्पक्ष छानबिन गर्नुपर्ने विषय छन्।

त्यस्तै, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, सरकारी तथा सार्वजनिक स्रोतबाट सञ्चालित संस्थामा ७५ प्रतिशत छात्रवृत्ति व्यवस्था लागू गर्नुपर्ने र सरकारसँग भएका स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारसम्बन्धी सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ।

इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने तथा बर्दिवास मेडिकल कलेज निर्माण अघि बढाउने सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि केसीले अघि सारेका छन्।

केसीको अनशन र स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा उनका माग सम्बोधनका लागि सरकारमाथि दबाब बढेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *