त्रिवि शिक्षण अस्पतालको आयोजनामा गुणस्तर सुधार र बिरामी सुरक्षासम्बन्धी कार्यशाला तथा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं, १६ कात्तिक । स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामीको सुरक्षालाई प्राथमिकतामा राख्दै गत शुक्रबार र शनिबार कार्याशाला गोष्ठीको आयोजना गरेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज अन्तिम दिन एक दिन अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
अस्पतालको गुणस्तर सुधार तथा बिरामी सुरक्षा एकाइ (क्युआईपीएस)को आयोजनामा गत शुक्रबार बुढानीलकण्डस्थित पार्क भिलेज होटलमा भएको सम्मेलनमा नेपाल, भारत र बंगलादेशका स्वास्थ्य संस्थाका प्रतिनिधि तथा स्वास्थ्यकर्मीसहित २२५ जना सहभागी थिए। कार्यशालामा भने ६६ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
‘गुणस्तर सुधार र बिरामी सुरक्षालाई सचेतनाबाट व्यवहारमा रूपान्तरण’ भन्ने नारासहित आयोजित सम्मेलनमा अन्तर्राष्ट्रिय विज्ञ, स्वास्थ्य क्षेत्रका नेतृत्वकर्ता, नीतिनिर्माता, प्राध्यापक तथा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरू सहभागी थिए।
सम्मेलनमा स्वास्थ्य सेवाका क्रममा देखिने प्रणालीगत चुनौती, बिरामीको सुरक्षा र अस्पतालमा सुरक्षित उपचारको दिगो संस्कृति विकास गर्ने विषयमा छलफल भएको आयोजकले जनाएको छ।
सम्मेलन त्रिवि शिक्षण अस्पतालमा सन् २०२५ जुलाईमा गुणस्तर सुधार तथा बिरामी सुरक्षा एकाइ स्थापना भएपछि यस क्षेत्रमा भएका प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा आयोजना गरिएको बताइएको छ । एक वर्षको अवधिमा संस्थागत अवधारणाका रूपमा रहेको गुणस्तर सुधार र बिरामी सुरक्षाको अभियानलाई बहुविषयगत तथा व्यवस्थित चिकित्सकीय अभियानका रूपमा अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।

कार्यशालामा भारतको कन्सोर्टियम अफ एक्रिडिटेड हेल्थकेयर अर्गनाइजेसन्स (काहो)का अध्यक्ष डा लल्लु जोसेफ, अमृता अस्पतालका मेडिकल डाइरेक्टर डा सञ्जीव के. सिंह, केएमसी मणिपालका बालरोग प्राध्यापक डा. सुनील सी. मुन्डकुर तथा सूक्ष्मजीव विज्ञान विज्ञ डा. जे. जयलक्ष्मीलगायत अन्तर्राष्ट्रिय विज्ञहरूले सहजीकरण गरेका थिए।
सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले गरेका थिए। कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा डा मोहनराज शर्मा सम्मानित अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी टिचिङ अस्पतालका कार्यकारी निर्देशक प्राडा सुभाश प्रसाद आचार्य, सम्मेलन आयोजक समितिका अध्यक्ष प्राडा पवनराज चालिसे तथा काहोका अध्यक्ष डा. लल्लु जोसेफ पनि कार्यक्रममा सहभागी थिए।

सम्मेलनले उपचारका क्रममा देखिने जटिलता उत्पन्न भएपछि मात्रै प्रतिक्रिया जनाउने परम्परागत अभ्यासबाट अघि बढ्दै बिरामीको सुरक्षा सुनिश्चित गर्न पूर्वयोजनासहितका पहल र गुणस्तर सुधारलाई स्वास्थ्य सेवाको अभिन्न अंग बनाउनुपर्ने सन्देश दिएको आयोजकको भनाइ छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




