ढाकामा जोडियो नेपाली चिकित्सा समुदाय, १५० चिकित्सक तथा विद्यार्थी एकै मञ्चमा
काठमाडौँ, १५ कात्तिक । बंगलादेशको राजधानी ढाकामा अध्ययनरत तथा कार्यरत नेपाली चिकित्सकहरूबीच आपसी एकता, मित्रता र व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित ‘नेपाली इन्टर्न्स एन्ड डक्टर्स रिसेप्सन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।
ढाकास्थित द फरेस्ट लाउन्जमा बिहीबार भएको कार्यक्रममा वर्ल्डवाइड नेपाली स्टुडेन्ट्स अर्गनाइजेसन (डब्लुएनएसओ) बंगलादेशले आयोजक रहेको थियो भने सोसाइटी फर नेपाली डक्टर्स फ्रम बंगलादेश (एसएनडीबी) को सहकार्य तथा स्क्वायर फर्मास्युटिकल्स पीएलसी, बंगलादेशले प्रायोजन थियो ।
कार्यक्रममा नेपाली विद्यार्थी, इन्टर्न, स्नातकोत्तर तहका रेजिडेन्ट चिकित्सक तथा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत समेत गरी करीव १५० जना नेपाली चिकित्सकहरूको सहभागिता रहेको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम कोलोरेक्टल सर्जन तथा बंगलादेशबाट नेपाली चिकित्सक बनेका नेपालीहरूको संस्थाका संस्थापक अध्यक्ष डा राकेश शाह रहेका थिए। नेपाल मेडिकल एसोसिएसन र सोसाइटी अफ सर्जन्स अफ नेपालका कार्यकारी सदस्यसमेत रहेका शाह विश्वव्यापी नेपाली विद्यार्थी संगठन, बंगलादेशका संस्थापक तथा पूर्वअध्यक्ष समेत हुन्। संस्थाको स्थापनादेखि नै नेपाली विद्यार्थीहरूको हित, विकास र कल्याणमा मार्गदर्शन गर्दै आएका शाहलाई कार्यक्रममा विशेष सम्मानका साथ स्वागत गरिएको थियो।

सो अवसरमा सम्बोधन गर्दै डा. शाहले चिकित्सा शिक्षा पूरा गरेको पाँच वर्षपछि पुनः ढाका फर्किन पाउँदा खुसी र भावुक दुवै भएको बताए। बंगलादेशमा बिताएका विद्यार्थी जीवनका अविस्मरणीय क्षण स्मरण गर्दै उनले आफ्नो शैक्षिक तथा व्यावसायिक यात्रा निर्माणमा बंगलादेशको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।
नेपाली विद्यार्थी तथा चिकित्सकहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित विश्वव्यापी नेपाली विद्यार्थी संगठनले गरेको पहलको प्रशंसा गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। यस्ता जमघटले आपसी मित्रता, सांस्कृतिक सम्बन्ध, व्यावसायिक सञ्जाल तथा नेपाली विद्यार्थी र चिकित्सकबीच एकता र भाइचाराको भावना बलियो बनाउने उनको भनाइ थियो।
डब्लुएनएसओ अध्यक्ष डा. मुन्ना यादवको सभापतित्वमा भएको कार्यक्रममा बंगलादेशबाट चिकित्सक बनेका नेपालीहरूको संस्थाका स्थानीय प्रतिनिधि डा मनीष गुरमैता पनि उपस्थित थिए ।

औपचारिक कार्यक्रमसँगै नेपाली कला, संस्कृति र सांस्कृतिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो। सहभागीहरूका लागि खुला मञ्च, मनोरञ्जनात्मक खेल, आकर्षक पुरस्कार तथा चिठ्ठा कार्यक्रमको व्यवस्था गरिएको थियो। औपचारिक तथा सांस्कृतिक कार्यक्रमपछि आयोजित सामूहिक रात्रिभोजमा सहभागीहरूले आपसमा भेटघाट, अनुभव आदानप्रदान र आत्मीयता साटासाट गरेका थिए।
कार्यक्रमको सफल आयोजनाले विश्वव्यापी नेपाली विद्यार्थी संगठन, बंगलादेश र बंगलादेशबाट चिकित्सक बनेका नेपालीहरूको संस्थाबीचको सहकार्य, आपसी विश्वास तथा नेपाली चिकित्सा समुदायप्रतिको साझा प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजकको भनाई रहेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




