‘प्रतिष्ठानहरुलाई एकीकृत ढंगले सञ्चालन गर्ने छाता ऐनमा मेरो चित्त बुझेको छैन’ : उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव

'न्याम्स र वीरलाई भने छुट्याउँदा राम्रो'

काठमाडौँ, ४ बैशाख ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सबै प्रतिष्ठानलाई एकीकृत ढंगले सञ्चालन गर्ने गरी ल्याउन खोजिएको छाता ऐन आफूलाई चित्त नबुझेको बताएका छन् ।

सरकारले छ वटा प्रतिष्ठानलाई एउटै छाता ऐनमा समाहित गर्न नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको मस्यौदा तयार गरी संघीय संसदबाट पारित गर्ने तयारीमा छ ।

मंगलबार स्वास्थ्य पत्रकारहरुसंगको छलफलमा मन्त्री यादवले संसदमा दर्ता भए पनि व्यक्तिगत रुपमा आफू छाता ऐनको पक्षमा नभएको बताए ।

‘प्रतिष्ठानहरु सबैका फरक फरक विशेषता छन्, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रकृति फरक छ, उ आफ्नो खुट्टामा उभिएको छ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रकृति फरक छ । अहिले केही समस्या त छ तर उसको पनि राम्रो थियो । यस्तै अरु प्रतिष्ठानको पनि फरक फरक छ । त्यसैले प्रतिष्ठानहरुलाई थप अधिकार र स्वायत्त रुपमा सञ्चालन हुन दिनु पर्छ भन्ने मेरो मान्यता हो । र त्यो सम्भव छ,’ मन्त्री यादवले भने ।

उनले फरक फरक विशेषता बोकेका प्रतिष्ठानलाई एकीकृत गर्दा त्यसको व्यवस्पन चुनौती हुने समेत बताए । उनले भने,  ‘किनभने यहाँ सबैका विशेषता फरक फरक छन्, छाता ऐन बनाउँदा सिन्डिकेट हुन्छ । सबै शक्तिहरु एकठाउँमा हुने तर व्यवस्थापन सकिएन भने भताभुङ्ग भएर जान्छ । शक्तिको गलत प्रयोग हुनसक्छ । त्यसैले म फेरी पनि भन्छु छाता ऐन मलाई व्यक्तिगत रुपमा ठिक लागेको छैन । मेरो बिचार गलत रहेछ भने अघि बढ्न पनि सक्छ ।’

त्यसो त चालु आर्थिक वर्ष २०८० /८१ को बजेटको २५० औँ नम्बर बुँदामा,  ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायत सबै संघीय स्वास्थ्य विज्ञान प्रतिषठनको सञ्चालन र व्यवस्थापनमा एक रुपता कायम गर्न एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तर्जुमा गरिने छ,’ भनिएको थियो ।

‘न्याम्स र वीरलाई भने छुट्याउँदा राम्रो’
यसैबीच मन्त्री यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पताल छुट्याउन पर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले भने, ‘एकेडेमिक अर्थात प्राज्ञिक कार्य सबै न्याम्स अन्तरगत सञ्चालन गर्ने र उपचार तथा मेडिकल कलेजको काम वीरमा भयो भने राम्रो हुन्छ । अहिले वीर र न्याम्समा देखिएको बेथिति पनि सुधार हुन्छ भन्ने लाग्छ ।’

त्यसो त न्याम्स र वीरलाई छुट्याउने विधेयक संसदमा दर्ता भइसकेको छ । तर एकीकृत हुनुपर्छ र छुट्टा छुट्टै हुनुपर्छ भन्ने समूह उत्तिकै बलिया देखिएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *