सन्दर्भ : विश्व क्षयरोग दिवस

नेपालमा क्षयरोग : बार्षिक ७० हजार थपिन्छन्, १८ हजारको ज्यान जान्छ

काठमाडौँ, ११ चैत । आज मार्च २४ तारिख विश्व क्षयरोग दिवस । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने मूल नाराका साथ आज विश्वभर यो दिवस मनाईदै छ ।

नेपाल सरकारले भने गत शुक्रबार नै औपचारिक कार्यक्रम गरी यो दिवस मनाईसकेको छ । आजको दिन फागु पूर्णिमा भएको र सार्वजनिक विदा समेत परेकोले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दुई दिन अघि नै दिवस मनाइएको हो ।

गत शुक्रबार मनाएको दिवसका अवसरमा केन्द्रले क्षयरोगको बारेमा विश्व स्वास्थ्य संगठनले तयार पारेको पछिल्लो अनुमानित तथ्यांक प्रस्तुत गरेको थियो । सो अनुसार नेपालमा आर्थिक वर्ष २०७९ ८९ मा ७० हजार नयाँ क्षयरोगका बिरामीहरु थपिएको र १८ हजार व्यक्तिको मृत्यु भएको उल्लेख छ ।

सोही अवधीमा राष्ट्रिय क्षयरोग कार्यक्रममा कुल ३७ हजार ४४७ क्षयरोगका बिरामीहरु दर्ता भएका थिए । त्यसमा ६५ प्रतिशत पुरुष र ३५ प्रतिशत महिला रहेको बताइएको छ । दर्ता भएका यी बिरामीमध्ये ७२ प्रतिशत फोक्सोको बिरामीहरु र २८ प्रतिशत फोक्सो बाहेक अन्य अंगमा लाग्ने क्षयरोगका बिरामीहरु रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठका अनुसार गत वर्ष अर्थात २०७९ ८० मा दर्ता भएका क्षयरोगका बिरामीमध्ये ६० प्रतिशत बिरामीहरु तराई क्षेत्रका थिए । त्यसमा पनि ६८ प्रतिशत बिरामीहरु मधेश, बागमती र लुम्बिनी प्रदेशमा दर्ता भएका थिए ।

उक्त अवधीमा क्षयरोग रोकथाम कार्यक्रम लागू भएका ४२ जिल्लाहरुमा क्षयरोग बिरामीको घर परिवारको सम्पर्कमा रहेका पाँच वर्ष मुनिका ३ हजार ६५८ बालबालिकाहरुले क्षयरोग रोकथाम उपचार प्राप्त गरेका थिए ।

डीआर टीबीको उच्च भार भएका ३० देशमा नेपाल पनि
यसैबीच दिवसको अवसरमा केन्द्रले गरेको पत्रकार सम्मेलनमा विश्वमा औषधि प्रतिरोधी क्षयरोग (डीआर टीबी) को उच्च भार भएका ३० देशहरुमा नेपाल पनि परेको बताइयो ।

नेपालमा गतवर्ष २ हजार ९०० जनामा औषधि प्रतिरोधी क्षयरोग विकास भएको अनुमान गरिएको थियो तर ६९३ बिरामीहरु मात्रै पत्ता लागेको थियो । त्यसमा पनि ५४६ जना बिरामी मात्रै उपचारको दायरामा आएका थिए ।

डा श्रेष्ठले उपचारमा आएका क्षयरोगका बिरामीको सफलता दर ९२.४ प्रतिशत रहेको र डीआर टीबीका बिरामीहरुको सफलता ८२ प्रतिशत रहेको जनाए ।

केन्द्रले नेपालमा क्षयरोगको उच्च जोखिम समूहमा कुपोसित व्यक्तिहरु, एचआईभी संक्रमितहरु, मधुमेह भएका व्यक्तिहरु, धूमपान गर्ने र मदिरा सेवन गर्ने व्यक्तिहरु रहेको उल्लेख गरेको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *