कोरोना संक्रमण अझै हराएन, टेकु अस्पतालको आइसीयूमा उपचार गराउँदै छन् संक्रमितहरु

काठमाडौँ, १५ चैत । दम र रुघा खोकीको उपचार गर्न आएका बिरामीको परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएको फेला परेको छ । टेकु अस्पतालमा गत साता १० जना कोभिड-१९ का बिरामीले भर्ना भएका थिए ।

अहिले भने अस्पतालमा २ जना मात्रै रहेका छन् । तर, ती दुबै जनालाई आइसीयूमा राखेर उपचार गरिएको छ ।

‘कोभिड – १९ सकियो त भन्यौँ तर फाटफुट रुपमा देखिएकै छ । कोभिड – १९ पुष्टि भएपछि कतिपय अस्पतालहरुले यहाँका लागि रिफर गरिदिने गरेका छन् । कोही सुरुमै रुघाखोकी लाग्यो भन्दै यही आउनु हुन्छ । गत साता कोभिडको उपचार गर्ने १० जना हुनुहुन्थ्यो, आज भने २ जना मात्रै हुनुहुन्छ । अरु सबै उपचार पछि डिस्चार्ज हुनु भयो,’ टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले भने ।

उनले गम्भीर संक्रमणमा परेकाहरुलाई अक्सिजन आवश्यक पर्ने भएकोले आईसीयूमा राखेर उपचार गरिएको प्रष्ट पारे । उनले हरेक साता दुई चार जना देखि आठ दश जनासम्म कोभिड – १९ का बिरामी भर्ना हुने अवस्थामा आइरहेको बताए ।

डा.  बसौलाले ५० बर्ष माथिका दम खोकीको समस्या भएकाहरुमा जाँच गर्दा कोभिड देखिएको बताए । उनले कुन भेरियन्ट हो भन्ने बारेमा भने थाहा नभएको सुनाए ।

‘अहिले जीन सिक्वेन्सिङ गरिएको छैन । पीसीआर मात्रै गरिन्छ । त्यसमा पोजेटिभ आयो भने कोभिड १९ भएछ भनेर थाहा पाउने हो । कुन भेरियन्ट हो भनेर चाहि थाहा हुँदैन,’ उनले भने ।

त्यसो त पछिल्लो समय कोभिड -१९ मत्थर हुँदै जाँदा कोभिड विरुद्धको खोप लगाउने, साबधानी अपनाउने कार्यमा समेत आम नागरिकले वेवास्ता गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *