नेपालले बालबालिकामा देखिने क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निशुल्क प्राप्त गर्दै

स्वास्थ्य मन्त्रालय र डब्लुएचओबीच भयो सम्झौँता

काठमाडौँ, १४ चैत । नेपालले बालबालिकामा हुने क्यान्सर बिरुद्ध प्रयोग हुने ३५ प्रकारका औषधिहरु निशुल्क प्राप्त गर्ने भएको छ । नेपालले सेन्ट जुड्स ग्लोबल र विश्व स्वास्थ्य संगठनको संयुक्त पहल ग्लोबल प्लेटफर्म फर एक्सेस टू चाइल्डहुड क्यान्सर मेडिसिन्स (जीपीएसीसीएम) मा सामेल हुने निर्णय गरेपछि ३५ प्रकारका औषधि निशुल्क प्राप्त गर्ने भएको हो ।

जीपीएसीसीएममा नेपाल सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सचिव डा रोशन पोखरेल र विश्व स्वास्थ्य संगठनका तर्फबाट नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले सम्झौँता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौँता अनुसार नेपालले अब बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधिहरु निशुल्क प्राप्त गर्नेछ । डब्लुएचओले औषधिको प्रभावकारी वितरण सुनिश्चित गर्न आपूर्ति प्रणाली र स्वास्थ्य सेवा सुदृढ गर्न प्राविधिक सहयोग प्रदान गर्नेछ । जीपीएसीसीएममा युनिसेफ भने अन्तराष्ट्रिय मञ्चको खरीद साझेदारको रुपमा रहेको छ ।

सम्झौँता पछि  पहिलो खेप सन् २०२४ को तेस्रो त्रैमासिकमा आउने बताइएको छ ।

आएका औषधिहरु भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन अस्पताल गरी चारवटा अस्पतालमा वितरण गरिनेछ । भविस्यमा भने अन्य अस्पतालमा पनि यो कार्यक्रम विस्तार गरिने बताइएको छ ।

सम्झौँता पछि बोल्दै स्वास्थ्य सचिव डा. पोखरेलले नेपालका लागि आजको दिन महत्वपूर्ण भएको भन्दै नेपाल जीपीएसीसीएममा औपचारिक रुपमा सामेल भएको बताए । उनले आजको सम्झौँता पछि नेपालका क्यान्सर प्रभावित बालबालिकाहरुको उपचारमा ठूलो मद्धत पुग्ने बताए । अहिले चारवटा अस्पतालबाट सेवा सुरु गरे पनि भविस्यमा धेरै अस्पतालबाट यो सेवा दिइने उनले जानकारी दिए ।

डब्लुएचओ नेपालका प्रमुख डा. पाण्डवले नेपालमा हरेक वर्ष करीव ९०० बालबालिकामा क्यान्सर पहिचान हुने गरको भन्दै उपचार तथा सेवाहरु सीमित पहुँच र स्रोतको अभावले एक तिहाई मात्रै उपचारको पहुँचमा पुग्ने गरेको बताए । उनले यसबाट बाल मृत्युदर समेत बढ्दै गएको बताए । पाण्डवले यो नविनतम औषधि उपलव्ध भएपछि समस्या समाधान हुने र क्यान्सर उपचारको पहुँच बढ्ने तथा परिवारको आर्थिक भार समेत कम हुने बताए ।

नेपाल ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सरको लागि विशेष राष्ट्रको रुपमा सन् २०२० मा छनौट भएको थियो ।

यस पहलले विश्वभरका क्यान्सर पीडित बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ । डब्लुएचओले सन् २०३० सम्ममा क्यान्सर भएका बालबालिकाहरुको बाच्ने दर कम्तीमा ६० प्रतिशत पुरयाउने लक्ष्य राखेको बताएको छ ।

अहिले क्यान्सर भएका बालबालिकाहरुको निको भई बाँच्ने दर न्युन तथा मध्यम आए भएका देशहरुमा २० देखि ३० प्रतिशत रहेको छ । उच्च आय भएका देशहरुमा ८० प्रतिशत भन्दा बढी छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *