२१ बर्षीया नातिनीलाई ८१ बर्षका बयोबृद्ध हजुरबुबाले दान गरे मिर्गौला

अंगदाता ८१ बर्षीय हजुरबुबाको साथमा अंग ग्रहणकर्ता २१ बर्षीया नातिनी : बायाँबाट क्रमश

काठमाडौँ, २५ चैत । नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपणको क्षेत्रमा शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नाम अग्रस्थानमा आउँछ । वितेको १२ बर्षमा केन्द्रले १ हजार २२७ जनाको मिर्गौला र २३ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।

नेपालमा सबैभन्दा बढी मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको अंग सबैभन्दा पहिले प्रत्यारोपण गर्ने, पियर एक्सचेन्ज कार्यक्रम सबैभन्दा पहिले सञ्चालन गर्ने जस्ता रेकर्ड यहि केन्द्रको नाममा छ ।

प्रत्यारोपणको क्षेत्रमा रेकर्ड राख्ने सिलसिलामा केन्द्रले अर्को एक दुर्लभ रेकर्ड राखेको छ । त्यो रेकर्ड हो बयोबृद्ध व्यक्तिबाट मिर्गौला झिकेर युवा पुस्ताकी बिरामीमा सफल प्रत्यारोपण गर्नु ।

हजुर, छ दिन अघि प्रत्यारोपण केन्द्रले राजगढ गाउँपालिका ४ सप्तरीकी २१ बर्षीया सन्नीकुमारी साहमा मिर्गौला प्रत्यारोपण गरेको थियो ।

उनलाई मिर्गौला दिने व्यक्ति थिए ८१ बर्षीय उनकै हजुर बुबा गणेशजी साह ।

‘नातिनीको मिर्गौला फेल भयो, छोराको ब्लड प्रेसरका कारण दान गर्न नमिल्ने भयो, मैले अति माया गर्ने नातिनी जसले मलाई पनि उत्तिकै माया गर्छे उसका लागि मैले नै दान गर्छु भनेर अघि सरें,’ शनिबार अस्पतालबाट नातिनि डिस्चार्ज हुँदै गर्दा उपस्थित भएका हजुरबुबा साहले अगाडी थपे, ‘मेरो ईच्छालाई यहाँका डाक्टरले पनि साथ दिनु भयो र प्रत्यारोपण सम्पन्न भयो ।’

अस्पतालका निर्देशक एवं प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले यति धेरै उमेरमा मिर्गौला दान गर्ने नेपालको त पहिलो नै हो भन्दै विश्वमा पनि यस्ता केश साह्रै कम मात्रमा देख्न पाइने बताए ।

‘नेपालमा त भएकै छैन, मैले बेलायतमा र अरु देशमा पनि बुझ्ने कोशिश गरेँ । यति पाको उमेरको व्यक्तिले दान गरेको थाहा पाएको छैन । तर हामीले गर्‍यौँ र सफल बनायौँ,’ उनले भने ।

डा. श्रेष्ठले ८१ बर्ष पुगेको व्यक्तिलाई सर्जरी गर्न नै जोखिम हुने भए पनि गणेश जी साह स्वस्थ र आत्मबल बलियो रहेको व्यक्ति भएकोले सम्भव भएको बताए ।

‘बेहोस गराउनु पर्‍यो, अंग झिक्नु पर्‍यो, यति पाको उमेरमा काम जोखिम त हुन्छ नै तर हामीले यसलाई सफल बनायौँ,  प्रत्यारोपण केन्द्रको सर्जरी टिम (डाक्टर नर्स तथा अन्य सहयोगी कर्मचारी) ले यो केसलाई सफल गराएको हो,’ उनले भने ।

डा. श्रेष्ठले नातिनीको बुबाको उच्च रक्तचापका कारण अंग झिक्न नमिलेको र हजुरबुबाको अंग पनि मिलेको र दान गर्न समेत इच्छा देखाएकोले अंग लिएको स्पष्ट पारे ।

‘हामीले सुरुमा मिर्गौला जाँच गरेउँ, ठिक देखियो, उहाँ पाको उमेरको भए पनि निरोगी हुँनु हुँदो रहेछ । त्यसैले पनि हामीमा आँट आयो । अंग झिकेको चौथो दिनमा उहाँ (हजुरबुबा) डिस्चार्ज हुनु भयो, नातिनी आज छैटौँ दिनमा ।’

उनले प्रत्यारोपण केन्द्रले अंग प्रत्यारोपणको क्षेत्रमा जोखिम युक्त मानिने केशहरुलाई सफलतापूर्वक प्रत्यारोपण गरिरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *