गुणस्तरीय औषधिमा आत्म निर्भर कसरी ? सरोकारवाला भन्छन् – ‘यसरी’

काठमाडौँ, २२ फागुन । ‘नेपालमा औषधिको कारोवार बार्षिक ६० अर्ब आसपासमा रहेको छ । त्यसमध्ये स्वदेशी उत्पादनको हिस्सा ५० प्रतिशत मात्रै अर्थात ३० अर्ब आसपासमा हो । तर नेपाली औषधि उद्योगमा लगानी भने ६६ अर्ब बढी पुगिसकेको छ ।’

स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालको औषधि बजारको हिसाव प्रस्तुत गरेका थिए ।

सोही अवसरमा उनले स्वदेशी औषधि बजार हिस्साको ५० प्रतिशतलाई बढाएर ५ ६ बर्षमै ६० प्रतिशतसम्म पुर्‍याउन सकिने उपाय समेत प्रस्तुत गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागका उच्च अधिकारीसहित औषधि क्षेत्रका विभिन्न सरोकारवाला सहभागी उक्त कार्यक्रममा औषधि क्षेत्रलाई आत्म निर्भरको बाटोमा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा समेत छलफल अघि बढेको थियो ।

अन्तरक्रिया कार्यक्रममा कसले के भने ?

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल गरिरहेको बताए । उनले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधिको उत्पादन स्वदेशी उद्योगले गर्ने र त्यसको खरीदको ग्यारेन्टी सरकारले गर्न सके नेपाली औषधि उद्योगलाई राहत हुने र आत्मनिर्भरता तर्फको पहिलो ‘स्टेप’ हुने बताए ।

‘अहिले हामी ५० प्रतिशत मात्र आत्मनिभएर भएका छौ, । उत्पादन र आयातको तारताव्यता मिलाउनु प र्‍यो । कुनै पनि देशले आफ्नै देशमा उत्पादित औषधिबाटै नै आत्मनिर्भर हुने भन्छ । हामीले पनि स्वदेशी औषधि उपभोग गर्नुपर्दछ,’ उनले भने, ‘कुन–कुन उद्योगबाट के–के औषधि उत्पादन गर्न हुन्छ के हुदैन । हाम्रो देशमा कस्ता रोग फैलिरहेको छ । त्यो हेरेर हामीले औषधि उत्पादनको रोडम्याप बनाउनु पर्दछ ।’

अतिरिक्त स्वास्थ्य सचिव डा. देवकोटाले चुहावट नियन्त्रण गरेर औषधिको मूल्यमा समायोजन गर्ने बताए ।

उनले उद्योगमा नै प्रयोगशाला रहेकोले औषधि गुणस्तर रहेको छ भन्ने हामीले विश्वास गरेको बताए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले शरीरमा पुगेको औषधिले काम गर्‍यो भने मात्र त्यो गुणस्तरीय हो भनेर बुझ्न सकिने भन्दै कहिलेकाँही कागजमा सबै मापदण्ड पुगेको भनिने तर औषधिले काम नगर्ने अवस्था समेत हुने सुनाए । उनले अगाडी थपे, ‘मापदण्ड पुगेको देखिने तर औषधिले काम नगर्ने भयो भने त्यसलाई मापदण्ड पुगेको वा गुणस्तरीय भन्न सकिदैन ।’

उनले गुणस्तर सुधार्न विभागले नयाँ नयाँ प्रविधि ल्याइरहेको भन्दै उद्योगले पनि सुधार गरिरहेको बताए । ‘रिसर्च, विज्ञलाई राखेर औषधिको फर्मुलेसन भइरहेको छ । सर्टेन टेष्ट गरेपछि गुणस्तर भन्ने मिल्दैन । होल लाइफसाइकललाई हेर्नुपर्दछ । जीवन पथमा त्यो औषधिले काम गरेर मात्र त्यो गुणस्तर हुन्छ’ उनले भने । उनले औषधिको उत्पादनदेखि प्रयोगसम्म हेरेर मात्र गुणस्तर हो वा होइन भन्ने थाहा हुने बताए ।

नेपालमा औषधिको बजार हिस्सा सुनाउँदै नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालमा उत्पादन गने औषधि गुणस्तर नै रहेको बताए । उनले नेपालमा औषधि उद्योग संचालन गर्न त्यति सजिलो नभएको भन्दै बाहिर बसेर औषधि उद्योगभित्र पिडा नबुझ्ने बताए ।

“औषधि उद्योगमा ६० अर्ब रुपिया लगानी रहेको छ । एउट औषधि उद्योग संचालन गर्न करिव ८० करोड लाग्दछ । तर स्वदेशी उद्योगले उत्पादन गरेका औषधिको उपभोगको ३० अर्ब रहेको छ,” उनले भने, “ ६० अर्ब लगानी गरेर ३० अर्ब वेचेको छौ । कुनै पनि बिजनेश लगानीको ६ गुणा गर्नुपर्दछ । यसले गर्दा हामीलाई समस्या छ ।”

उनले सरकारले खरीद गर्ने औषधि स्वदेशी उद्योगले उत्पादन गरेको खण्डमा स्वदेशी औषधि उद्योग फस्टाउने बताए । उनले सरकारले खरिद गर्ने औषधि स्वदेशी उत्पादन हुने भए आफुहरु छ बर्षभित्रमा मुलुकलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र बाहिरबाट कुनै पनि औषधि खरिद गर्न नपर्ने अवस्थाको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यसै साता चितवनमा हुने फार्मा एक्स्पोले नेपाली औषधिको गुणस्तर तथा प्रविधिको प्रयोगको विषयमा समेत जानकारी दिने भन्दै सहभागी हुन आव्हान गरे ।

कार्यक्रममा आयुर्वेदिक औषधि उत्पादन संघका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदशील रहेको भन्दै आयुर्वेदिक औषधि पनि सरकारले बनाएको मापदण्ड पुरा गरेर नै बिरामीसम्म पुग्ने गरेको जानकारी दिए । उनले आयुर्वेदिक औषधि बनाउनका लागि गुणस्तरीय कच्चा पदार्थ आवश्यकता भएको भन्दै त्यसका लागि राज्यले सहजीकरण गरिदिनु पर्ने बताए ।

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले नेपाली औषधि उद्योग फस्टाउनुपर्ने धारणा राखे। उनले औषधिमा गुणस्तर सबैभन्दा महत्वपूर्ण र अनिवार्य रहेको भन्दै स्वदेशी उद्योग संरक्षणमा राज्यले विशेष पहल गर्नु पर्ने बताए ।

उनले नेपाल विश्वमै सबैभन्दा कम मूल्यमा औषधि बेच्ने मुलुक हो भन्दै १५ औँ बर्षसम्म एउटै मूल्यमा औषधि बेच्नु पर्ने अवस्था सिर्जना गरी राज्यले नेपाली उद्योगी व्यवसायीलाई गिनिज बुकमै नाम लेखिने अवस्थामा पुर्‍याएको भन्दै कटाक्ष गरे । उनले नयाँ ऐन बन्दै गरेको भन्दै अहिले छुटेका कुराहरुलाई समेटेर बृहत नीति बनाउन समेत माग गरे ।

नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव संजिव कट्टेलले औषधिको लागि गुणस्तरका लागि हरेक प्रदेशमा प्रयोगशालासंगै आवश्यक पर्ने दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने बताए । ‘हामी गुणस्तरका कुरा गर्दछौँ तर गुणस्तर मापन गर्ने प्रयोगशाला छैन । जनशक्ति पनि छैन् । विभागले धेरै पटक ओएनएम गरेको भन्छ तर फाइल अड्केको अड्क्यै हुन्छ । यसलाई साच्चिकै काम हुने गरी अघि बढाउनु आवश्यक छ’ उनले भने ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले औषधि मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने भएकोले गुणस्तरीय औषधि उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *