स्वास्थ्यको जनशक्ति उत्पादन गर्ने संस्थाहरुलाई नियोजन गर्ने नीति बदलौँ : स्वास्थ्य मन्त्री गिरी

अतिथि बनेर गएका सीटीईभीटी र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षबीच आरोप प्रत्यारोप

काठमाडौँ, ३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नर्सिङ तथा प्यारामेडिक्स अध्ययन् गराउने स्वास्थ्य संस्थाहरु बन्द गर्ने नीति परिवर्तन गर्नु पर्ने बताएका छन् । उनले दुर्गम गाउँका दुर दराजसम्म चिकित्सक नपुग्दा सेवा दिने स्वास्थ्यका त्यस्ता जनशक्ति उत्पादन गर्ने संस्थाहरु चिकित्सा शिक्षा ऐन कार्यान्वयन हुनासाथ बन्द हुन थालेपछि यस्तो बताएका हुन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को २७ औँ बार्षिकोत्सव समारोहलाई बुधबार सम्वोधन गर्ने क्रममा मन्त्री गिरीले भने, ‘अहिले पनि गाउँका दुर दराजमा चिकित्सकहरु पुग्न सकिरहेका छैनन्, तर अर्को तर्फ यस्तो जनशक्ति उत्पादन गर्ने संस्थाहरुमा विस्तारै नियोजन गरिदैछ । यो गम्भीर विषय हो । यहाँ बन्द हुँदा नेपालीहरुले तराईँका सीमा पारी गएर अध्ययन् गर्न बाध्य भएको अवस्था छ । यसले गुणस्तर र अर्थतन्त्रमा समेत नकारात्मक असर गरेको छ । त्यसैले यस्तो नीति परिवर्तन गर्न आवश्यक छ ।’

पछिल्लो समय चिकित्सा शिक्षा आयोगले ऐनको व्यवस्था भन्दै नर्सिङ तथा प्यारामेडिक्स अध्ययन गराउने थुप्रै कलेजहरु बन्द गराइदिएको छ । यसको चौतर्फी आलोचना हुँदै आएको छ ।

‘हामीले ऐन त बनायौँ, ऐन बनेपछि त्यसलाई कार्यान्वयन गर्नै पर्छ । तर त्यो ऐनले राम्रो गरयो कि गरेन त्यो पनि हेर्नुपर्छ । कतै हामी उल्टो बाटो त हिडिरहेका छैनौँ,’ मन्त्री गिरीले भने ।

उनले नाम नलिईकन डा गोविन्द केसी कदमलाई पनि कटाक्ष गरे । उनले भने, ‘कोही मान्छे सडकमा आएर म भोकै बसीदिन्छु भन्दा हामी भावनामा बगेर उसैको पछि लाग्ने पनि गरेका छौँ । हाम्रो बास्तविकता के हो ? यसतर्फ जानु पर्दैन ?’

मन्त्री गिरीले गुणस्तरीयता भने कप्रमाइज नगर्ने बताए । ‘हामी आज प्राविधिक जनशक्ति उतपादनमा हामी ध्यान नदिने । त्यहि शिक्षाका लागि मान्छे विदेश जाने र हाम्रो पुजी पलायन हुने, अनि हामी सिप र दक्षता नभएका जनशक्ति बाहिर पठाउने र सस्तोमा श्रम बेच्ने । त्यसैले आजको दिनमा यस विषयमा व्यापक वहसको जरुरी छ,’ उनले भने ।

मन्त्री अघि बोलेका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीले चिकित्सा शिक्षा आयोगको भूमिकाप्रति चर्को असन्तुष्टि व्यक्त गरेका थिए । उनले आफू पनि सदस्य रहेको आयोगका उपाध्यक्ष लगायतले ऐनमा भएको व्यवस्थालाई गतल तरिकाले प्रस्तुति गर्दै नर्सिङ तथा प्यारामेडिक्स कलेजहरु धमाधम बन्द गराएको आरोप लगाए ।

उनले उदाहरण दिदै आयोगको कार्यशैली ‘खुट्टाको साइज नापेर जुत्ता तयार गर्नु पर्नेमा जुत्ताको साइज नापेर खुट्टा काट्ने’ जस्तो देखिएको बताए । उनले आयोगका उपाध्यक्षले कलेज बन्द गर्न सक्नुलाई बहादुरीको रुपमा लिएको भन्दै कटाक्ष गरे ।

‘दक्ष जनशक्ति स्वदेशमै उत्पादन गरौँ भनिएको हो, अब त सिमा पारी खुलेका गुणस्तरको एकीन नभएका कलेजमा गएर पढ्नु पर्ने बाध्यता भयो तर पनि आयोगले बुझ्दैन्,’ उनले भने ।

त्यसपछि बोलेका आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले सार्वजनिक समारोहमा आफुमाथि व्यक्तिगत लान्छना लगाएको बताए । उनले एउटा उपाध्यक्षले अर्को उपाध्यक्षको सम्मान गर्न नसकेको समेत प्रतिक्रिया दिए । आफूले ऐन अनुसारको काम गरेको भन्दै ऐन भन्दा यता उता आफूले नगर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले ऐनमा भएका डुव्लीकेशनलाई कसरी व्यवस्थित गर्ने, अनुगमनलाई थप व्यवस्थित कसरी गर्ने भन्ने विषयमा थप छलफल आवश्यक रहेको बताए ।

कार्यक्रममा परिषद्का अध्यक्ष डा मोहन कृष्ण श्रेष्ठले उपलव्धीहरु सुनाएका थिए । सो अवसरमा पूर्व अध्यक्ष तथा रजिष्ट्रारहरुलाई सम्मान गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *