डाक्टर कुट्ने प्रहरीविरुद्ध किटानी जाहेरी दिने तयारीमा ट्रमा सेन्टर

काठमाडौँ, २८ माघ । राष्ट्रिय ट्रमा सेन्टरले डा जनिथलाल सिंहमाथि लाठी हान्ने प्रहरीमाथि कारवाही गर्न प्रहरीमा किटानी जाहेरी दिने भएको छ । शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टर अगाडी खटिएका प्रहरीले डा सिंहमाथि लाठी प्रहार गरेका थिए । लाठी प्रहारबाट डा सिंहको टाउकोमा गम्भीर चोट लागेको छ ।

अस्पतालको डिउटी सकि घर फर्कदै गरेका आफ्ना सहकर्मीमाथि प्रहरीले आक्रमण गरेको भन्दै ट्रमा तथा वीर अस्पतालका डाक्टरहरु विरोधमा उत्रिएका छन् । नेपाल चिकित्सक संघले आक्रमण गर्ने प्रहरीमाथि कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिईसकेको छ ।

घटनापछि शुक्रबार राती नै नेपाल चिकित्सक संघ, ट्रमा सेन्टर र प्रहरीका प्रतिनिधिबीच बार्ता भएको थियो । बार्ता गर्न प्रहरीका काठमाडौँ प्रमुख एसएसपी दानबहादुर कार्की नेतृत्वको टोली ट्रमा सेन्टर पुगेको थियो । छलफल पछि प्रहरीले कारवाही प्रक्रियालाई अघि बढाउने आश्वासन दिएको थियो ।

‘घटनाको हामीले विरोध गरयौँ । प्रहरीका प्रतिनिधिले आक्रमण गर्ने प्रहरीमाथि छानवीन तथा कारवाही प्रक्रिया अघि बढाउने आश्वासन दिएको छ । सोही अनुसार आज हामीले ती प्रहरी विरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छौँ । त्यसका लागि, हामीसंगै नेपाल चिकित्सक संघको समेत साथ छ,’ ट्रमाका निमित्त निर्देशक डा ममता भट्टराईले भनिन् ।

उनले जाहेरी पछि प्रहरीले चाल्ने कदम हेरेर आवश्यक निर्णय लिने समेत बताईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *