राष्ट्रपतिको सवारीमा डाक्टर माथि प्रहरीको लाठी

डाक्टरसंग बार्ता गर्न ट्रमा पुगे काठमाडौँ प्रहरी प्रमुख

काठमाडौँ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीले डाक्टर माथि लाठी प्रहार गरेका छन् । लाठी प्रहारबाट राष्ट्रिय ट्रमा सेन्टरका अंको सर्जन डा. जनिथ सिंह घाइते भएका छन् ।

घटना शुक्रबार अपरान्ह सवा चार बजे तिरको हो ।

संसदको संयुक्त बैठकलाई सम्बोधन गरेर फर्कने क्रममा राष्ट्रपतिको सवारी सुरक्षामा खटिएका प्रहरीले वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा। सिंहमाथि लाठी हानेका हुन् । लाठी प्रहारबाट डा सिंहको टाउकोमा गम्भीर चोट लागेको छ ।

वीर अस्पतालमा निमित्त प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतकाअनुसार डा. सिंह ट्रमाबाट बाहिर निस्किएर वीर अस्पताल तर्फ आउँदै थिए । सड्क छेउको सुरक्षामा खटिएका प्रहरीले उनलाई रोके तर उनले आफू चिकित्सक भएको र वीर अस्पताल तर्फ हिडेको बताएपछि आक्रोशित प्रहरीले टाउकोमा लाठी हानेको थियो ।

घटना पछि ट्रमा तर्फ वीर अस्पतालका चिकित्सकहरु आक्रोशित भएका थिए । उनीहरुले प्रहरीले चिकित्सक माथि ज्यादती गरेको भन्दै नाराबाजी गरेका थिए । उनीहरुले दोशी प्रहरी माथि छानवीन गरि कारवाही गर्नु पर्ने माग राखेका थिए ।

बार्ता गर्न काठमाडौँ प्रहरी प्रमुख ट्रमा सेन्टरमा
यसैबीच दिउसोको घटना र चिकित्सकको मागका विषयमा अहिले राष्ट्रिय ट्रमा सेन्टरमा प्रहरी र चिकित्सक पक्षबीच बार्ता भइरहेको छ । डाक्टरसंग बार्ता गर्न काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन् । यस्तै नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा बद्री रिजाल, राष्ट्रिय ट्रमाका निमित्त प्रमुख डा ममता भट्टराई लगायतको टोली छलफलमा रहेको छ ।

‘खासगरी डाक्टरका सुरक्षा र कानूनमा भएका व्यवस्थाका विषयमा हामीले कुरा उठाएका छौँ । यो विषयलाई कसरी सम्वोधन गर्न सकिन्छ भनेर छलफलकै क्रममा छौँ । केही निष्कर्ष निस्केला,’ निमित्ति प्रमुख डा  भट्टराईले भनिन् ।

अस्पतालका प्रशासन कर्मचारी नवराज गौतमले घटना पछि चिकित्सक र प्रहरीका अधिकारीबीच राष्ट्रिय ट्रमा सेन्टरमा बार्ता भइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *