भूकम्प प्रभावित टर्कीमा नेपालले मेडिकल टिम र अत्यावश्यक राहत सामग्री पठाउने
काठमाडौं, २५ माघ । नेपाल सरकारले भूकम्प प्रभावित टर्कीमा मेडिकल टिम र अत्यावश्यक राहत सामग्री पठाउने भएको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौँ बैठकले विनाशकारी भूकम्पको चपेटामा रहेको टर्कीमा राहत र पुनर्स्थापनाका लागि सहयोग पठाउने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्ने बताए । ‘हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको थियो । टर्की सरकारको दुखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं’ प्रधानमन्त्रीले बैठकमा भने ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए ।
टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ म्याग्निच्युड र त्यसको केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा ठूलो मानवीय क्षती भएको छ ।