भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठान कसरी बनाउने ? सुझाव लिदै प्रधानमन्त्री

प्रधानमन्त्रीले भोली स्वास्थ्य मन्त्रालयको 'ब्रिफिङ' लिने

काठमाडौँ, २३ माघ । भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने कि चिकित्सा शिक्षा प्रतिष्ठानको रुपमा विकास गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल चलाएका छन् ।

उनले आज मात्रै स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा कृष्ण पौडेल, भरतपुर अस्पतालका मेसु डा कृष्ण पौडेल, अस्पतालका पूर्व अधयक्ष डा भोजराज अधिकारी सहितको टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाई छलफल गरेका हुन् ।

‘भरतपुर अस्पताललाई मेडिकल एकेडेमिक इन्स्टिच्युटको रुपमा विकास गर्न पर्छ भन्ने प्रधानमन्त्रीको पहिलो प्राथमिकता हो । उहाँले पहिले देखिनै भन्दै आउनु भएको हो । त्यसैले पोखरा विश्वविद्यालयसंग सम्वन्धन लिने भन्ने पनि कुरा चलेको थियो । तर त्यो प्रक्रिया धेरै ढिलो हुने भयो । त्यसैले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसंग छलफल गरेको हो । उहाँहरुले चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) अन्तरगतको कार्यक्रम सञ्चालन गर्दा राम्रो हुने सुझाव समेत दिनु भएको छ,’ भरतपुर अस्पतालका पूर्व अध्यक्ष डा अधिकारीले भने ।

उनले धरान, पाटन र कर्णालीलाई छाडेर अरु बाँकी प्रतिष्ठान र केन्द्रीय स्तरका अस्पतालहरुलाई छाता ऐन मार्फत एकीकृत गरी शैक्षिक प्रतिष्ठानको रुपमा लैजानु पर्ने सुझाव दिएको बताए ।

‘एकीकृत छाता ऐनलाई अघि बढाउने र न्याम्स अन्तरगर्त केन्द्रीय अस्पतालहरुमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न राम्रो हुने देखियो । सायद यहि दिशाबाट अघि बढ्छ होला,’ उनले भने ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले भरतपुर अस्पतालमा कसरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्न गएको बताए । ‘हामीले केही सुझाव दिएका छौँ । उहाँहरुले थप छलफल गर्नुहोला,’ उनले भने ।

स्वास्थ्यको ब्रिफिङ लिदै प्रधानमन्त्री
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली स्वास्थ्य मन्त्रालयको ब्रिफिङ लिने भएका छन् । विभिन्न मन्त्रालयको ब्रिफिङ लिने क्रममा प्रचण्डले भोली स्वास्थ्यको ब्रिफिङ लिन लागेका हुन् ।

‘भोली सचिवहरु सहितको टोलीलाई बोलाउनु भएको छ । प्रधानमन्त्रीले भोली स्वास्थ्यको विषयमा ब्रिफिङ लिदै हुनुहन्छ । स्वास्थ्यबाट नयाँ योजना तथा हुन सक्ने कामकाबारेमा पनि प्रस्ताव आउँछ होला । त्यसबेला भरतपुरको विषयमा पनि फेरी छलफल होला,’ डा अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *