विकास र समृद्धिका लागि मिडियाको भूमिका महत्वपूर्ण : स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ, २२ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले लोकतन्त्र बलियो बनाउनका लागि प्रेस जगत् बलियो हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गिरीले भ्रस्टाचार र विसंगतिविरूद्ध हिम्मतिलो भएर कलम चलाउन मिडियाकर्मीहरूसँग आग्रह गरे ।

राजनीतिक रूपमा हामीले धेरै परिवर्तन गर्‍यौं । अबको समृद्धि भनेकै विकास र आर्थिक प्रगति हो । यसका लागि उत्पादनका क्षेत्रहरू विकास गरेर जानुपर्ने आवश्यकता छ । यसमा विसंगति र भ्रस्टाचार पर्खाल बनेर खडा छन्, उनले भने,’भ्रस्ट्राचारविरूद्ध तपाईहरूबाट बमबारी हुनसकोस् । अहिले त्यो आवश्यकता छ । समाजका विकृतिविरूद्ध कलम चलाउने आँट गर्नुस् । हामीबाट त्रुटि हुँदा तपाईहरुले खबरदारी गर्नुस् ।’

सरकारले मिडियामैत्री कानुन ल्याएर मिडियाकर्मीहरूका समस्या समाधान गर्नुपर्ने उनले बताए । नेपालको स्वास्थ्य क्षेत्रमा धेरै विकृति र विसंगति कायम रहेको पनि उनले बताए । अस्पतालसम्म जान नसकेका कारण गाउँ- गाउँमा रोग पालेर बस्नेहरुको संख्या ठूलो छ ।

गुणस्तरीय सेवाका लागि जनताको पहुँच नभएको अवस्थामा दूरदराजका गाउँसम्म स्वास्थ सेवा लैजाने संकल्पसहित म यस मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको हुँ, मन्त्री गिरीले भने, ‘सातैवटा प्रदेशमा आइसियुसहितका सुविधासम्पन्न अस्पताल खोल्ने तथा गुणस्तरीय ल्याव र उपकरणको व्यवस्था गर्ने, गाउँ-गाउँमा पनि आधारभूत अस्पताल खोलेर हरेक नागरिकलाई स्वास्थ्य सेवा दिने , बिमा कार्यक्रमलाई फराकिलो बनाउँदै धेरैभन्दा धेरैलाई समेट्नेलगायत कार्य योजना कार्यान्वयनमा तपाईहरुको साथ अत्यावश्यक छ ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *