जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : स्वास्थ्य मन्त्री गिरी

काठमाडौँ, २१ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको बताएका छन् । शनिबार स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्‍घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी मन्त्री गिरीले स्वास्थ्य क्षेत्रका विकृति र विसंगति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए । ‘नेपालको स्वास्थ्य क्षेत्र विकराल छ । जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्‍ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,’ मन्त्री गिरीले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ ?  गरिबले पनि कसरी गुणस्तरीय सेवा पाउन सक्छन् ? यस विषयमा खोज गरेर कलम चलाइदिनुस् । हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् ।’ उनले स्वास्थ्य क्षेत्रका बेथिति, भ्रस्टाचार र अपारदर्शिताविरुद्ध निर्मम भएर कलम चलाउँदा देशका लागि ठूलो योगदान हुने बताए । हामी जिम्मेवारीमा छौं, तपाईहरूले हामीलाई खबरदारी गर्नुपर्छ,’ उनले भने ।

स्वास्थ्य क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्‍त्रालय सम्हालेको मन्त्री गिरीले बताए । ‘हामीले ठूलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौं । एकैचोटी सबै समस्या समाधान नहोला । हाम्रो स्रोत र साधनका सिमा छन् । तर आम जनताले महसुस गर्नेगरी काम गर्नेछौं,’ उनले भने, ‘पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौं । अहिले अध्ययनमै छौं ।’

कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले स्वास्थ्य पत्रकारितालाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाउने बताईन् । उनले बिट पत्रकारितामा स्वास्थ्य पत्रकारिता अगाडी देखिएको भन्दै यसलाई गुणात्मक सुधार गरेर लान आवश्यक रहेको बताईन् ।

यस्तै सांसद निशा डाँगीले आफू सदस्य रहेको संस्थाको अधिवेशनमा आउन पाउँदा खुशी लागेको भन्दै स्वास्थ्यका मुद्धाहरुलाई सदनमा प्राथमिकताका साथ आफूले उठाउने बताईन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई थप गतिशील बनाएर अघि बढ्नु पर्ने बताए । उनले स्वास्थ्य पत्रकार मञ्चसंग आफू सधै सहकार्य गर्ने कोशिश गरेको बताए ।

कार्यक्रममा नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीले नसर्ने रोगको रोकथामका लागि स्वास्थ्य पत्रकारको भूमिका चर्चा गर्दै मञ्चसंग आफूहरु सहकार्य गर्न तयार रहेको बताए ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा विनोद बुराले नेपालको स्वास्थ्य पत्रकारितामा मञ्चको उत्कृष्ठ योगदान रहेको भन्दै यसलाई डब्लुएचओ सहकार्य गर्न तयार रहेको बताए ।

निजी अस्पताल सञ्चालकहरुको संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपाल (अफिन)का अध्यक्ष डा पदमबहादुर खड्काले निजी क्षेत्रले दिएको योगदानलाई जनमानसमा पुरयाउन स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पत्रकारहरुको क्षमता अभिबृद्धि तथा बृत्ति विकासका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

यस्तै नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधि क्षेत्रका विषयबस्तुलाई उठाउने र यसबारे छलफल गर्ने गरी मञ्चसंग सहकार्य नै गरेको बताए ।

कार्यक्रममा मेडिकल तथा डेन्टल एसोसिएसनका कोषाध्यक्ष शान्तराज बतासले नेपालको निजी मेडिकल क्षेत्रले दिएको सेवाको चर्चा गर्दै राज्यले निजी क्षेत्रको भूमिकालाई सम्झनु पर्ने बताए ।

कार्यक्रममा केमिकल एण्ड मेडिकल सप्लायर्स एसोशिएसन अफ नेपाल (केमसान)का अध्यक्ष भक्त हमालले राज्यले औषधि उपचारमा प्रयोग हुने सामग्रीको गुणस्तर हेर्नुपर्ने बताउँदै आफूहरु त्यसका लागि सरकारलाई सहयोग गर्न तत्पर रहेको बताए । यस्तै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आफ्नो संस्थाले गरेको कामलाई जनमानसमा सवस्थ्य पत्रकारहरुले लगेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवालीेले एनएचआरसी र स्वास्थ्य पत्रकार मञ्च नेपालबीच विगतमा भएका कार्यक्रम र अव गर्ने कार्यक्रमको चर्चा गरे ।

सुदर्शन शारदा देवकोटा स्मृती फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत तेजकुमार बास्तोलाले मञ्चसंग सहकार्य गरेर नै विगत दुई वर्ष देखि स्वास्थ्य पत्रकारिता पुरस्कार दिन थालेको चर्चा गरे । उनले आगामी दिनमा पनि मञ्चका गतिविधिहरुलाइे नियाल्दै थप सहकार्यका प्रस्ताव अघि बढाउने बताए ।

नेशनल न्युरो सेन्टरका तर्फबाट डा अभिषेक मान श्रेष्ठले स्वास्थ्य सचेतनाका विषयमा स्वास्थ्य पत्रकार मञ्चसंग हातेमालो गर्न चाहेको बताए । उनले संस्थाको तर्फबाट मञ्चलाई थप १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा भएको बताए ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेको सभापतित्वमा सञ्चालन भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *