नुनमा आयोडिनको मात्रा घटाउने तयारी

काठमाडौँ, १८ माघ । प्याकेटवाला नुन, तयारी खाद्य बस्तुको बढी प्रयोग हुन थालेपछि नेपालीहरुको शरीरमा आयोडिनको मात्रा चाहिने भन्दा बढी रहेको विज्ञहरुले निस्कर्ष निकालेका छन् । अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसको काम गरिरहेको बताइएको छ ।

स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लिला बिक्रम थापाले आयोडिनको मात्रा तोक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकको अध्यक्षतामा बसेको स्टान्डराइजेशन कमिटिको बैठकले आयोडिनको मात्रा घटाउन सुझाव दिएको बताए ।

अहिले नुनका प्याकेटहरुमा उत्पादन हुँदा कम्तिमा ५० पीपीएम, पसलसम्म आइपुग्दा कम्तीमा ३० प्रतिशत र भान्सामा पुगि प्रयोग गर्ने अवस्थासम्म पुग्दा कम्तीमा १५ पीपीएम हुनुपर्ने मापदण्ड रहेको छ ।

सन् २०१६ को माइक्रो न्युट्रियन्ट सर्भेले ४० पीपीएम भन्दा बढी आयोडिन खानेको जनसंख्या ६७ प्रतिशत रहेको देखाएको थियो । इन्ड्रोक्राइनोलोजिष्टहरुले आयोडिनको मात्रा बढी भएर हाइपर थाइराइराडिजम (आयोडिन शरीरमा बढी भएर हुने रोग) समस्या बढेको बताउँदै आएका थिए ।

अहिले ‘फ्याक्ट्रीमा नुन प्याकिङ हुँदा आयोडिनको मात्रा ५० पीपीएम राखिने गरेको छ । तर मानव स्वास्थ्यका लागि आयोडिनको मात्रा १५ देखि ४० पीपीएमसम्म भए पुग्छ । प्याकेटवाला नुनमा आयोडिन मात्रा हराउने सम्भावना पनि कम भयो । त्यसैले नुनमै आयोडिनको मात्रा घटाउनुपर्ने भयो,’ थापाले भने ।

उनले पकाएका खानामा नुन हाल्दा ३० देखि ७० प्रतिशत आयोडिन नष्ट हुने तर नपकाई नुन छर्केर खाने खानाहरुमा आयोडिनको मात्रा बढी हुने समेत जानकारी दिए ।

सरकारले फेब्रअरी महिनालाई आयोडिन सचेतना महिनाको रुपमा मनाउँदै आउने गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *