निर्वाचन तयारीबारे छलफल गर्न गएका डाक्टरले जब होटल परिसरमा रक्तदान शिविर देखे ….

काठमाडौँ, १५ माघ । नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगर्त आगामी १९ देखि २१ माघसम्म काठमाडौँ उपत्यकामा निर्वाचन हुँदैछ । निर्वाचन प्रतिस्पर्धामा उत्रिएको चिकित्सकहरुको तीन समूहमध्ये एउटा हो डा. सन्तोष पौडेलको नेतृत्वको पेशागत समावेशी समूह । सोही समूहको निर्वाचन परिचालन कमिटिमा छन् डा. कालुसिंह खत्री र डा. छविलाल पन्थी ।

शनिबार दिउसो उनीहरु निर्वाचन तयारी बारे साथीहरुसंग छलफल गर्न भन्दै बागबजारस्थित हार्दिक होटल पुगेका थिए । साथीहरु आइसकेका थिएनन् । बरु त्यहाँ रक्तदान शिविर चलिरहेको थियो ।

१७ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजले आयोजना गरेको शिविरमा धमाधम स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए ।

रगतको महत्व बुझेका डाक्टरद्धयले त्यो मौका गुमाउन चाहेनन् । बी पोजेटिभ रक्त समूह भएका उनीहरुले तत्काल रक्तदान गर्ने निर्णय गरे । रक्तदानका लागि फारम भरे, सामान्य स्वास्थ्य जाँच गराए र रक्तदानका लागि तयार भए ।

‘हामी संगठनको बैठकका लागि आएका थियौं ।साथीहरुलाई पर्खिनु पर्ने पनि थियो । तर यहाँ रक्तदान चलेको रहेछ, कसको आयोजना हो, हामीलाई मतलव पनि भएन, मतलव थियो त रगत दान गर्ने, बिरामीले रगत सहज रुपमा पाउन भन्ने । त्यसैले चिया खान तिर नलागी रक्तदान तर्फ लाग्यौँ,’ डा. खत्रीले भने । उनले अहिलेसम्म २० पटक रक्तदान गरेको बताए ।

डा. पन्थीले भने शनिबार १० औँ पटक रक्तदान गरेको बताए । ‘नियमित रक्तदान गरेको त होइन, यस्त्रै शिविर चल्दा र कसैलाई आवश्यक परयो भनेर बोलाउँनासाथ रक्तदान गर्छु,’ उनले भने ।

‘रक्तदानलाई महादान पनि भनिन्छ, यो १८ वर्ष पुगेका स्वस्थ नागरिकले गर्न सक्दछ । हरेक तीन तीन महिनाको अन्तरमा दिन मिल्छ । सबै पेशा व्यावसाय, जात, धर्म, लिंग भएका व्यक्तिहरु सहभागि हुन सक्नुहुन्छ । हामीले पनि केही नसोची, कसैले नभनी रक्तदान गर्न आएका हौँ,’ डा. खत्रीले अन्तिममा भने ।

रक्तदान सम्वन्धी कार्य १० मिनेटमा सक्काए पछि उनीहरु पूर्व निर्धारित निर्वाचन सम्वन्धी छलफल तर्फ लागे ।

शनिबारको शिविरमा ३४ जनाले रक्तदान गरेको स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *