स्वास्थ्य क्षेत्रमा हुने खरीद प्रक्रियाबारे व्यवस्थापन महाशाखाले गर्‍यो पत्रकार अन्तरक्रिया कार्यक्रम

काठमाडौँ, १४ माघ । देशमा संघीय संरचना लागू हुँदा खरीद गर्ने इकाइहरु पनि संघ देखि प्रदेशसम्म छरिएका छन् । मात्रात्मक रुपमा कम बढी भएपनि प्रक्रिया भने करीव करीव उस्तै छ ।

संघमा विभाग, केन्द्र, अस्पताल, बोर्ड तथा शिक्षण अस्पतालहरुबाट खरीद हुने गर्दछ भने, प्रदेशबाट स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, अस्पतालहरु र स्वास्थ्य कार्यालयहरुले खरीद गर्न सक्छन् । यस्तै स्थानीय तहका महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरुले पनि स्वास्थ्य सामग्री खरीद गर्ने गरेका छन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले शुक्रबार स्वास्थ्य पत्रकारहरुलाई स्वास्थ्य क्षेत्रमा हुने खरीद प्रक्रिया सम्वन्धी विषयमा जानकारी गराएको थियो ।

 

‘स्वास्थ्य क्षेत्रमा हुने गरेका खरीद तथा आपूर्तिका विषयमा आम चासो छ । मिडियाले पनि यसलाई प्राथमिकता दिएर प्रकाशित गर्न थालेका छन् । यसैले खरीद प्रक्रिया के हुन्छ ? कसरी गरिन्छ ? कहाँ कहाँबाट गरिन्छ ? यी कुराहरुलाई अझ प्रष्ट पारौँ भनेर कार्यक्रम राखिएको हो,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले भने । उनले खरीद प्रक्रियामा राज्यले तय गरेको नियम, आधारहरुलाई टेकेर नै अघि बढ्नुपर्ने बताए । डा. शर्माले स्वास्थ्यको खरीद प्रक्रिया र अन्य खरीद प्रक्रियालाई फरक ढंगले बनाउनु पर्ने समेत बताए ।

‘सार्वजनिक खरीद ऐनले मूल्यलाई प्रधान मानेको छ, तर स्वास्थ्यमा गुणस्तरका कुरा हुन्छन्, त्यसैले केही समस्या हुने गरेको छ । यसलाई सुधार गर्दै लानु पर्छ जस्तो लाग्छ,’ उनले भने ।

कार्यक्रममा व्यवस्थापन अन्तरगत आपूर्ति शाखाका प्रमुुख डा सुरेन्द्र चौरसियाले खरीद प्रक्रिया, सार्वजनिक खरीद ऐन २०६३ ले निर्देश गरेका कुराहरु, खरीद आवश्यकताको पहिचान गर्ने, स्पेसिफिकेसन,  तयगर्ने अनुमानित लागत तयार गर्ने र स्वीकृत गर्ने, बोलपत्र मूल्यांकन समितिको व्यवस्थाका बारेमा सुक्ष्म रुपमा जानकारी गराएका थिए । सो अवसरमा उनले खरीद प्रक्रियामा देखिएका चुनौती र गर्नु पर्ने कामका बारेमा समेत उल्लेख गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा क्रियाशिल ३० बढी पत्रकारको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *