स्वास्थ्य क्षेत्र सुधारका लागि कार्ययोजना बनाउँदै छौँ : स्वास्थ्य राज्यमन्त्री डा. कार्की

'आइसीयू भिडियो खिचेको विषयमा जवाफदेही छैन'

काठमाडौँ, १३ माघ । स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले आफू स्वास्थ्य क्षेत्र सुधारका लागि कार्ययोजना बनाइरहेको बताएकी छन् । सन् २०३० सम्म हासिल गर्नु पर्ने दीगो विकास लक्ष्य पुरा गर्ने गरी काम गर्नका आफू तल्लिन गरेको बताएकी हुन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले शुक्रबार आयोजना गरेको भेटघाट तथा परिचय कार्यक्रममा राज्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्र सुधारका लागि आफू हरसम्भव प्रयासरत रहेको समेत दावी गरिन । शिक्षा र स्वास्थ्यमा अधिकतम बजेट नछुट्याउने सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार नहुने भन्दै आफू स्वास्थ्य क्षेत्रको बजेट बढाउन लागि परेको बताईन् । ‘अहिलेसम्म स्वास्थ्यमा जम्मा ७.५ प्रतिशत बजेट छुट्याइएको रहेछ । यो स्वास्थ्यका लागि पर्याप्त होइन । मेरो प्रयास अव यसलाई बढाउनेमा हुनेछ,’ उनले भनिन् ।

स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्य सेवाको न्युनतम सेवा मापदण्ड निशुल्क औषधि, जनशक्ति व्यवस्थापनमा आफू क्रियाशिल रहेको भन्दै यसमा सफलता पाएरै छाडने ठोकुवा गरिन् ।

‘आइसीयू भिडियो खिचेको विषयमा जवाफदेही छैन’
यसैबीच राज्यमन्त्री कार्कीले तीन दिन अघि आफ्नै शरीरमा आगो लगाई गम्भीर घाइते भएका प्रेम प्रकाश आचार्यलाई उपचार भइरहेको आईसीयू कक्षमा भेटन जाँदा खिचिएको भाइरल भिडियोको बारेमा आफूलाई थाहा नभएको बताएकी छन् ।

उनले आफू एक जना चिकित्सक र मानवताको नाताले आत्मदाहको प्रयास गरेको आचार्यलाई भेटन पुगेको भन्दै त्यसमा आइसीयू कक्षमा जाँदा अपनाउनु पर्ने प्रोटोकल पूर्ण पालना गरेको दावी गरिन् । गम्भीर अवस्थाको बिरामीको उपचार गरिरहेको आइसीयू कक्षमा गएर भिडियो खिचेको भन्दै राज्यमन्त्री कार्कीको सर्वत्र आलोचना भएको थियो ।

‘त्यो भिडियो कसले खिच्यो मलाई थाहा भएन र त्यसैले म त्यसमा जवाफदेही हुनु पर्छ भन्ने छैन,’ उनले भनिन् ।

उनले वीर अस्पतालको क्याथ ल्यावमा दोहोरो रिवन काटने विषयमा भएको आलोचनामा समेत आफ्नो गल्ती नभएको भन्दै बचाउ गरेकी छन् ।

कार्यक्रममा मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले सूचनाको सहज पहुँचको व्यवस्था गर्न राज्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *