बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ

काठमाडौँ, ११ माघ । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ बन्ने भएका छन् । स्वास्थ्य मन्त्रालय नेकपा एमालेको भागमा परेपछि पार्टीले श्रेष्ठलाई स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेको हो ।

कुल ११ मन्त्रालयमा सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा आज सहमति भएको थियो । त्यसमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएको थियो ।

मन्त्रीका लागि सिफारिस श्रेष्ठ गत ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर २ (१)बाट विजयी भएका थिए ।

यसअघि २०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका श्रेष्ठले यसपटक पनि मेयरमा दाबी गरेका थिए । उनलाई प्रदेशसभा उम्मेदवार बनाउन एमालेले हरिगोविन्द श्रेष्ठलाई अघि सारेको थियो ।

२०१८ साल असार १ गते ललितपुरको महालक्ष्मी- ५ टिकाथलीमा जन्मिएका श्रेष्ठ २०३५ सालमा अनेरास्ववियु संगठित भएर राजनीतिमा होमिएका थिए । एमबीए अध्ययन गरेका उनी २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भएका नेता हुन् ।

अनेरास्ववियु काठमाडौं, पाटन, भक्तपुर जिल्लाको सचिव र दुई कार्यकाल अध्यक्ष भएका उनी अनेरास्ववियु सातौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य भएका थिए । एमाले ललितपुर जिल्ला कमिटी सचिवालय सदस्य,  प्रदेश कमिटी सदस्य हुँदै उनी अहिले नेकपा (एमाले) केन्द्रीय लेखा आयोग सदस्य छन् ।

२०४६ सालको आन्दोलनमा ९ महिना जेल जीवन बिताएका श्रेष्ठ मेयर हुनुअघि नेपाल औषधि व्यवसायी संघ वागमती अञ्चल कोषाध्यक्ष, सचिव र अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए ।

महेन्द्रग्राम मावि व्यवस्थापन समिति अध्यक्ष, नमूना मच्छिन्द्र मावि व्यवस्थापन समिति सदस्य लगायत दर्जनौं सामाजिक संस्थामा क्रियाशील छन् ।

नवनियुक्त मन्त्रीहरूको सपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *