आत्महत्या गर्ने सोच आयो ? ११६६ नम्बरमा फोन गरौँ

काठमाडौँ, ११ माघ । मंगलबार दिउसो संसद भवन अगाडी आफैलाई आगो लगाएका ३७ वर्षीय युवकको निधन भएको छ । उनको उपचार भइरहेको कीर्तिपुर अस्पतालको बर्न्स, प्लाष्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभागका डा. किरण नकर्मीले आज विहान उपचारको क्रममा निधन भएको बताए ।

‘उहाँको ८० प्रतिशत शरीर जलेको थियो साथै इन्हेलेसन (तातो हावा र धुवाहरु भित्र जाने) भएको थियो । इन्हेलेसनले शरीरलाई खराव असर गर्छ । हामीले बचाउन सकेनौँ,’ डा नकर्मीले भने ।

शरीरमा आगो लगाउनु अघि नै ती युवकले आफ्ना प्रयास असफल भएका दुख, भोगाइ, निरासा र असन्तुष्टिहरु लामो विवरण सार्वजनिक गरेका थिए । विवरणमा उनले ती परिवेशले आफू मानसिक रुपमा अस्वस्थ (डिप्रेसन)मा परेको समेत उल्लेख गरेका छन् ।

नेपालमा अहिले प्रत्येक दिन औषत २० जनाले आत्महत्याको कारण ज्यान गुमाउने गरेका छन् । समयमै मनोपरामर्श दिन नसक्दा धेरै जसो आत्महत्याका घटना घटने गरेको मानसिक रोग विशेषज्ञहरुले बताउने गरेका छन् ।

मानसिक अस्पताल पाटनका निर्देशक डा अनन्त अधिकारीका अनुसार ८५ प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यसंग जोडिएको हुन्छ । त्यसमा बढी जसो डिप्रेशनका केश भएको पाइन्छ । उनी भन्छन्, ‘यस्तो बेलामा सामान्य मनोपरामर्श (काउन्सिलिङ्ग) दिन सकियो भने पनि मानिसहरुको ज्यान बचाउन सकिन्छ । हिजो कै युवकको केशमा पनि त्यति लामो विवरण लेख्दै गर्दा सुनिदिने र काउन्सिलिङ्ग गर्ने कोही व्यक्ति भइदिएको भए आत्मदाहको अवस्थामा पुग्ने थिएनन् कि ।’

डा. अधिकारीले डिप्रेसनमा परेका व्यक्ति वा आत्महत्या गर्ने सोच भएकाहरुमा निराशा र नकारात्मक सोच मात्रै आउने भएकोले त्यसबेला सकारात्मक कुरा पहिल्याईदिन सकेमा त्यो सोँच परिवर्तन भई दुर्घटना टर्न सक्ने बताउँछन् ।

तपाईँको मनमा आत्महत्या गर्ने सोच आयो ? तत्काल ११६६ नम्बरमा फोन गर्नुहोस्


नेपालमा मात्रै होइन विश्वमै आत्महत्या हुने दर डरलाग्दो रुपमा बढेको छ । नेपालमा गतवर्षको तथ्यांक हेर्ने हो भने दैनिक रुपमा औषत करीव २० जनाले आत्महत्या गर्ने गरेका छन् ।

यसलाई नियन्त्रण गर्न सरकारले निशुल्क परामर्शका लागि टोल फ्रि नम्बर उपलव्ध गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मानसिक अस्पताल र टिपियो नेपालको सहकार्यमा यो नम्बर सञ्चालनमा ल्याइएको हो ।

यो नम्बरमा देशभरबाट चौविसै घण्टा निशुल्क रुपमा फोन गरी मनोपरामर्श लिन सकिन्छ ।

‘आत्महत्या गर्ने सोच कसैमा आयो, कसैले आफ्नो जीवनसंग जोडेर यस्ता निराशावादी कुरा गरिरहेका छन् भने तत्काल फोन गरेर मरामर्श लिन सकिन्छ । हाम्रा विज्ञ परामर्शदाता ११६६ नम्बरको फोनमा चौविसै घण्टा उपलव्ध हुनुहुन्छ । यसले सम्भावित ठूलो दुर्घटना रोक्छ । जीवनलाई निराशा नफालौँ, समस्या परेमा खुलेर भनौँ,’ डा. अधिकारीले भने ।

उनले परामर्श लिन चाहनेको गोप्यता रहने भन्दै अफ्टेरो नमानी आफ्ना समस्या व्यक्त गर्न आग्रह समेत गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *