पञ्चराम तमु बने गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री

पोखरा, १० माघ । गण्डकी प्रदेशमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्हाल्ने भएको छ । मंगलबार मुख्य मन्त्री खगराज अधिकारीले मन्त्रालय बाँडफाँड गरी मन्त्रिपरिषद् विस्तार गर्दा राप्रपाका पञ्चराम तमुलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
गत २५ पुसमा मुख्यमन्त्री खगराज अधिकारीले सपथ लिदै गर्दा तमु विना विभागीय मन्त्री बनेका थिए ।
मन्त्री तमु राप्रपाका गण्डकी प्रदेश अध्यक्षसमेत हुन् । उनी पार्टीमा समानुपातिक तर्फका सांसद हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट पहिलो पटक सांसद पाएको राप्रपामा तमुको नाम जनजातितर्फ १ नम्बरमा थियो ।
मुख्यमन्त्री अधिकारीले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री, र एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।