स्वास्थ्यमा भ्रष्टाचार र सेटिङको खेल चल्न पाउँदैन : स्वास्थ्य मन्त्री गिरी

'स्वास्थ्य वीमा कार्यक्रम उच्च प्राथमिकतामा'

काठमाडौँ, ९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आफ्नो कार्यकालमा भ्रष्टाचार र कमिसनको खेल हुन नदिने बताएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले आफु पदमा रहँदा सम्म भ्रष्टाचार र कमिसनको खेल हुन नदिने बताएका हुन् ।

‘भ्रष्टाचार तथा कमिसनका कुरा उठाउनु भयो यसमा मेरो स्पष्ट नीति छ, भ्रष्टाचार विरुद्ध मेरो शुन्य सहनशीलताको नीति हो । अर्थात जिरो टोलरेन्स । हरेक काम पारदर्शी ढंगबाट मात्रे हून्छ । यो मेरो सार्वजनिक प्रतिवद्धता हो । किनभने जनताको रगत पसिनाबाट प्राप्त भएको राजश्वलाई दुरुपयोग हुन दिने छैन्,’ उनले भने ।

मन्त्री गिरीले पूर्वाधार र जनशक्ति व्यवस्थापन आफ्नो अर्को प्राथमिकतामा रहेको भन्दै यसलाई वैज्ञानिक ढंगबाट अध्ययन गरी अघि बढाउने बताए ।

बाँकेमा फैलिएको दादुरा प्रकोप नियन्त्रणको अवकलोकनका लागि मन्त्री गिरी सहितको स्वास्थ्य मन्त्रालयको टोली आइतबार त्यहाँ पुगेको थियो । बाँकेमा कुनै पनि बालबालिकालाई खोप लगाउन नछुटाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको उनले पत्रकार भेटघाटमा जानकारी गराएका छन्

दादुराको प्रकोप नियन्त्रण हुन अझै एक महिना लाग्ने बताउँदै उनले नियन्त्रणका लागि स्रोत साधनमा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

स्वास्थ्य वीमा कार्यक्रम उच्च प्राथमिकतामा

त्यसो त मन्त्री गिरी पदवहाली गरे देखि नै स्वास्थ्य वीमा कार्यक्रम प्राथमिकतामा रहेको बताएका छन् । सोमबारको पत्रकार भेटघाट कार्यक्रममा पनि उनले त्यसलाई दोहोरयाउँदै यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गरेरै छाड्ने उल्लेख गरे । उनले स्वास्थ्स्य बीमा दायरालाई अझ फराकिलो र व्यापक बनाएर लैजान सके मात्र गरीव तथा विपन्न नागरिकले स्वास्थ्य सेवा पाउन सक्ने बताए ।

उनले भने, ‘वीमा कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । कार्यान्वयन नगर्ने छुट छैन । बिमाको दायरालाई अझ फराकिलो बनाएर लैजानुपर्छ। तब मात्र गरिब तथा विपन्न नागरिकले स्वास्थ्य सेवा पाउँछन्।’

यो सँगै स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको विषय पनि आफ्नो प्रमुख प्राथमिकतामा रहेको उनले बताए। पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि ठोस योजनाका साथ अघि बढ्ने उनको प्रतिवद्धता छ।

‘कहाँ, कुन ठाउँमा के अवस्था छ भनेर हामी अध्ययन गर्छौ।’ उनले भने, ‘पूर्वाधार र जनशक्तिको व्यवस्थापनका लागि ठोस योजनाका साथ हामी आउँछौ।’

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य क्षेत्र सुधारका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै सकारात्मक कार्यका लागि हातेमालो गर्न तयार रहेको बताए । उनले जनताको स्वास्थ्यसंग जोडिएको विषयलाई आम जनताले समेत नजिकबाट हेरिरहने भन्दै मन्त्रीलाई आम जनताको पक्षमा रहेर काम गर्न सुझाव समेत दिए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुले मन्त्रीलाई स्वास्थ्य क्षेत्रमा गर्नु पर्ने कामका विषयमा सुझाव दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *