जिवित शिशुलाई मृत्यु घोषणा गर्ने कोशीका डाक्टर सहित तीन जना स्वास्थ्यकर्मी निलम्बनमा, घटनाको विषयमा छानविन गर्न समिति गठन

कोशी अस्पतालको घटनाको विषयमा स्वास्थ्य मन्त्री गिरीको चासो, भविस्यमा यस्ता गल्ती नगर्ने गरी काम गर्न निर्देशन

काठमाडौँ, ५ माघ । स्वास्थ्य मन्त्री पदम गिरीले बिराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षबाट जिवित शिशुलाई मृत्यु भएको भन्दै उपचार नगरी फर्काइएको घटनाको विषयमा अस्पताल प्रशासनसंग जानकारी लिएका छन् ।

उनले घटनाको विषयमा अस्पताल प्रशासनले चालेको कदमलाई सकारात्मक भन्दै त्यसलाई निस्कर्षमा पुर्‍याई भविस्यमा यस्ता खालका गल्ती नहुने गरी काम गर्न निर्देशन दिएका छन् ।

घटनाको विषयमा जानकारी दिन अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डन डा लक्ष्मीनारायण यादव बिहीबार अपरान्ह स्वास्थ्य मन्त्रालय आएका थिए । उनले घटनाको विषयमा जानकारी गराउँदै अस्पताल छानविन अघि बढाएको र प्रतिवेदन नआउँदासम्म आरोपितहरुलाई तत्काल काम काज गर्न रोक लगाएको जानकारी गराएका थिए ।

बुधबार विहानकोशी अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि लगेको १८ दिनेलाई शिशुलाई सास नरहेको र धड्कन बन्द भएको भन्दै डा आकाश यादव सहितको टोलीले मृत घोषणा गर्दै फर्काएको थियो । सो टोलीमा अहेब लक्ष्मण माझी र टिका भण्डारी थिए ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले बुधबारको घटनाको विषयमा अस्पतालले चालेको कदमलाई प्रभावकारी ढंगले अघि बढाउन मन्त्री गिरीले निर्देशन दिएको बताए । ‘कोशीका निमित्त मेसुले घटना र त्यसपछिका कदका बारेमा ब्रिफिङ गर्नु भयो । मन्त्री ज्यूले पनि अस्पताल प्रशासनले अहिले जसरी छानविन समिति गठन गरि छानविन समेत सुरु गरिसकेको छ, यो ठीक छ । त्यसले कस्तो प्रतिवेदन दिन्छ । त्यसलाई हेरेर मन्त्रालयले आवश्यक परेमा थप कदम अघि बढाउँन पनि सक्छ भन्नु भएको छ । अहिलेलाई अस्पतालले गरेकै कामलाई नजिकबाट निहालेको छौँ भन्नुभयो,’ डा. पोखरेलले भने ।

अस्पतालले बिहीबार नै बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वको तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा बालरोग विशेषज्ञ डा सूर्यकान्त चौधरी र शाखा अधिकृत रामप्रसाद नेपाललाई सदस्य सचिव बनाइएको छ ।

समितिलाई सात दिन भित्र छानविन प्रतिवेदन बुझाउन निर्देशन दिइएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ड लक्ष्मीनारायण यादवले जानकारी दिए । छानविनबाट चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाही देखिए कारवाही गरिने उनले बताए ।

घटना के थियो ?

बुधबार विहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए । त्यसबेला अस्पतालको आकस्मिक कक्षमाडा. यादव र अहेबद्वय माझी र अधिकारीको ड्युटी रहेको थियो । उनीहरुको डिउटी विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म थियो ।

डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार श्वास छैन, धड्कन चल्न छाडिसक्यो, घर लैजानु भन्दै मृत घोषणा गरेका थिए । परिवारले अस्पतालबाट फर्काई  दाहसंस्कारको तयारी चल्दै गर्दा शिशुका हातगोडा चलमलाए पछि यो घटना बाहिर आएको हो । शिशुका परिवार तथा आफन्तले जिवित शिशुलाई उपचार नै नगरी मृत्यु घोषणा गरेको भन्दै आक्रोशित भएका थिए ।

बुधबार अस्पताल दिनभरी तनाबग्रस्त बनेको थियो ।

मृत घोषणा गरिएको सो शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एनआइसियूमा राखेर उपचार भइरहेको छ । गोल्डेन अस्पतालले शिशुको स्वास्थ्य अवस्थामा सुधार भएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *