सन्दर्भ : फोक्सोको क्यान्सर सचेतना महिना

‘सामान्य अवस्थामा फर्केका छन्, जटिल अवस्थामा पुगेका क्यान्सरका बिरामी’

क्यान्सर हुने बातावरण सिर्जना नगरौँ, भईहालेमा पनि नआत्तिऔँ : डा शाही

काठमाडौँ, २९ कात्तिक । काठमाडौँ ढल्कोका नविन तन्डुकारलाई फोक्सोको क्यान्सर लागेको ८ बर्ष भयो । उनले पाटन अस्पतालबाट निशुल्क पाउने औषधि सेवन गरेर जीवनलाई सामान्य अवस्थामा ल्याई क्रियाशिल बनाएका छन् ।

उता भरतपुर ५ का देवेन्द्रप्रसाद पौडेलले पनि छ वर्ष अघि आफूलाई फोक्सोको क्यान्सर देखा भएको थाहा पाए । तर उनले जति बेला थाहा पाएँ त्यसबेला क्यान्सर चौथो स्टेजमा थियो । उनले पनि त्यसबेला देखि नै पाटन अस्पतालबाट निशुल्क पाउने फोक्सोको क्यान्सर विरुद्धको औषधि सेवन गरेर आफ्नो जीवनलाई सामान्य अवस्थामा ल्याएका छन् ।

यी दुई जनाकै उदाहरण हेर्ने हो भने अब क्यान्सरलाई जटिल रोग हो भनेर साह्रै चिन्तित हुनु पर्ने अवस्था देखिदैन् । यसो भन्दैमा हेलचेक्राई गर्नु पर्छ भन्ने चाहि होईन् ।

किनभने अहिले पनि नेपालमा सबैभन्दा बढी नयाँ थपिने र मृत्यु गराउने फोक्सोकै क्यान्सर देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले ईन्डोर्स गरेको संस्था ग्लोबोक्यानले सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा हरेक वर्ष २ हजार ५०५ जना फोक्सोको क्यान्सर भएका नयाँ बिरामी थपिन्छन् । त्यहि अवधीमा मृत्यु हुनेको संख्या २ हजार २८५ जना रहेको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अंकोलोजिष्ट डा अरुण शाही फोक्सोको क्यान्सर नेपालमा देखिने अन्य सबै खाले क्यान्सरमध्ये सबैभन्दा बढी थपिने र मृत्यु गराउने क्यान्सरमा पर्ने बताउछन् । उनी भन्छन्, ‘सुसुप्त अवस्थामा मानव शरीरमा फैलिदै गएको क्यान्सर उग्ररुप लिन थालेपछि मात्रै मानिसहरुले थाहा पाउने गरेका छन् । त्यसैले यसको मृत्युदर केही बढी देखिएको हो ।’ तर उनले फोक्सोको क्यान्सर लागे पछि जीवन सकियो भन्ने अवस्था पछिल्ला दिनमा नभएको समेत बताउँछन् ।

‘फोक्सोको क्यान्सर पनि चार प्रकारको छ । त्यस मध्येको एक स्मल सेल कार्सिनोमा भन्ने चाहि अलि खराव मानिन्छ । धेरै जसो चुरोट खानेलाई यो हुन्छ । अनि अरुलाई एडिनो कार्सिनोमा, स्टोमक सेल कार्सिनोमा, लार्ज सेल कार्सिनोमा भन्ने क्यान्सर हुने गरेको पाईन्छ । यिनीहरु सुरुमै पहिचान गरेमा सत प्रतिशत जस्तै निको हुन्छ । अब यी तीन मध्ये एडिनो कार्सिनोमाको बिरामीहरुमा त झन् ड्राइभर म्युटेसन् भन्ने हुन्छ । इजिएफआर, एएलके, रोज वान पोजेटिभ देखियो भने त टाउँकोमा पुगिसकेको क्यान्सर रेमिसन (जाँच गर्दा केही पनि नदेखिने) अवस्थामा राख्न सकिन्छ,’ डा शाहीले भने,’त्यसका लागि विरामीले जीवनभर औषधि भने खानुपर्छ ।’

के कारणले हुन्छ फोक्सोको कारण ?
डा. शाही भन्छन्, फोक्सोको क्यान्सर हुने सबैभन्दा मुख्य कारण धूमपान सेवन गर्नु नै हो । त्यसबाहेक बायू प्रदुषण, कलकारखानाबाट निस्कने धुवा, कोइला खानी, ईटा तथा सिमेन्ट उद्योगमा काम गर्ने मजदुर, चकको प्रयोग गरेर विद्यार्थीलाई पढाउने शिक्षकहरु जोखिमयुक्त सूचीमा पर्दछन् ।

उनले माथि उल्लेखित जोखिमयुक्त समूहले नियमित रुपमा स्वास्थ्य जाँच गर्ने र गर्दै आएको प्रयोगलाई छाड्ने प्रतिवद्धता जनाउनु पर्ने बताए ।

‘जस्तो चुरोट सेवन गर्नेले अब बन्द नै गर्नु परयो । ईटा तथा सिमेन्ट उद्योगमा काम गर्नेहरुलाई दिन बिराएर काम लगाउने र लगाउँदा नाक मुख छोपिने स्वास्थ्य सामग्रीको प्रयोग गराउने । नियमित रुपमा स्वास्थ्य जाँच गराईदिने काम गर्नु पर्छ,’ उनले भने ।

त्यसो त विभिन्न अनुसन्धान तथा अस्पतालमा आधारित तथ्यांकहरुलाई हेर्दा नेपालमा ५५ वर्ष माथिकालाई फोक्सोको क्यान्सर बढी भएको पाईन्छ । यद्धपी खानपान तथा जीवनशैलीमा आएको परिवर्तनका कारण अहिले निकै कम उमेरमा पनि यो विस्तारै बढ्न थालेका छ ।

उपचार नेपालमै सम्भव छ ?
नेपालमा क्यान्सरको उपचार गर्नका लागि अहिले प्रसस्त मात्रामा सरकारी तथा निजी अस्पतालहरु खुलेका छन् । अस्पताल मात्रै होईन अत्याधुनिक उपकरण दक्ष जनशक्ति पनि उपलव्ध छन् । त्यसैले क्यान्सर लाग्यो भन्दैमा अत्तालिएर विदेश गई हाल्नु पर्ने भन्ने अवस्था छैन् ।

आफ्नो छ आठ वर्षको उपचार अनुभव संगालेका बिरामीद्धय तन्डुकार र पौडेलले पनि त्यहि भन्छन् ।

डा शाही पनि बिरामीद्धयको कुरालाई समर्थन गर्दै अगाडी भन्छन्, ‘औषधि र उपचार गर्ने प्रोटोकल उही नै हो । केही केही मात्रै सुविधा नहुन सक्छ । त्यो निकै नै थोरै प्रतिशत हो । त्यसैले क्यान्सर लाग्दैमा विदेश दौडिई हाल्नु पर्दैन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *