वीर अस्पतालको दन्त र प्याथोलोजी विभागमा सेवा बिस्तार

काठमाडौँ, ७ कात्तिक । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा दाँत विभाग र प्याथोलोजी विभागको सेवा बिस्तार भएको छ। दाँत विभाग अन्तर्गत इन्डो र र प्रोस्थो डोन्टिक्स विभागमा डेन्टल माइक्रोस्कोप, डेन्टल ल्याब र डेन्टल कुर्सीहरु थपिएको छ।

प्याथोलोजी विभाग अन्तर्गत फ्लोसाइटोमेट्री र आईएचसी सेवाको पनि बिस्तार भएको हो।

आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल यी दुबै विभागको सेवा बिस्तार गरिएको ब्लकमा पुगेर उद्घाटन गरे ।
बिस्तार भएका सेवातर्फ दाँत विभागको इण्डो विभागमा दाँत भर्ने लगाएतका कामहरू हुन्छन् भने प्रोस्थोमा कृतिम दाँत, आँखा, नाक र मुख सम्बन्धि उपचार हुन्छ। उक्त विभागहरूमा १७ वटा नयाँ डेन्टल कुर्सीहरु थपिएको छ।

दाँत सम्बन्धी समस्याको लागि बिरामीहरुले लगभग डेढ दुई वर्ष पालो कुर्नुपर्ने बाध्यतालाई कम गर्न सेवा विस्तार गरिएको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले बताए।

‘दाँत विभागमा अहिले पनि करीब डेढ वर्ष पालो पर्खनुपर्ने बाध्याता थियो । त्यसलाई न्युनिकरण गर्न यो सेवा विस्तार गरिएको हो । अझै दाँत विभागमा ओपीडी र अप्रेसन थियटरको सेवा पनि विस्तार गर्ने गृहकार्य गरिरहेका छौँ। साथै, यो विभागमा नर्सहरुको कमि छ त्यसलाई पनि सम्बोधन गर्ने छौँ,’ उनले भने।

दाँत विभागमा हप्ताको ६ दिन नै ओपीडी र ओटी सेवा संचालन गर्न काम भईरहेको समेत उनले बताए।

त्यस्तै दाँत विभागकी विभाग प्रमुख डा शैली प्रधानले सेवा विस्तार हुनाले बिरामीले समयमा उपचार पाउन सजिलो हुने बताएकी छन्। ‘अब केही हदसम्म बिरामीलाई सहज हुनेछ। आगामी दिनहरुमा यस अस्पतालको दोस्रो तल्लामा पुरै दाँत विभागलाई विस्तार गरेर सेवा सर्वसुलभ बनाउन कोशिस गरिरहने छौँ,’ उनले भनिन्।

त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव डा पोखरेलले पनि दाँतको उपचारको लागि एक डेढ वर्ष कुर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ भन्दै विभागको सेवा विस्तार भएकोमा खुसी लागेको बताए।

‘आम सर्वसाधारणले वीर अस्पतालमा नभएको सेवा अन्त कहाँ पाउनु ? त्यसैले राज्यको प्राथमिकता वीर नै परेको छ । सेवालाई चुस्त बनाई आम जनताको स्वास्थ्य समस्यामालाई सहज तरिकाले सम्वोधन गर्नुहोला,’ निर्देशन दिने क्रममा उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *