जनकपुरमा हुने आठौँ इन्टरनेशनल क्यान्सर कंग्रेसको तयारी पुरा
३४ अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानकर्ता सहभागी हुँदै

काठमाडौं, १ असोज । बिनयतारा इन्टरनेसनल क्यान्सर कंग्रेसको आठौँ संस्करणको तयारी पूरा भएको छ। आगामी अक्टोबर २ र ३ मा जनकपुरमा हुने कंग्रेसमा यस वर्ष आठ देश र तीन महादेशबाट ५५ वटा एब्स्ट्र्याक्ट प्राप्त भएका छन्। तीमध्ये ३४ वटा अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानकर्ताहरू सहभागी छन्।
प्राप्त अनुसन्धान १९ वटा विषयगत क्षेत्रमा केन्द्रित छन्। यसमा लिम्फोमा, जेनोमिक्स, स्त्रीरोगसम्बन्धी क्यान्सरदेखि रेटिनोब्लास्टोमा सम्मका विषय समेटिएको सम्मेलनका कन्फ्रेन्स डाइरेक्टर डा. विनय शाहले जानकारी दिएका छन्।
उनले भने, ‘प्राप्त प्रस्तावमध्ये स्तन क्यान्सरसम्बन्धी अनुसन्धान सबैभन्दा बढी छन्। करिब २० प्रतिशत एब्स्ट्र्याक्ट स्तन क्यान्सरसँग सम्बन्धित छन्। त्यसैगरी टाउको तथा घाँटीको क्यान्सरसम्बन्धी अनुसन्धान करिब ११ प्रतिशत छन्।’
यस वर्ष ४९ वटा एब्स्ट्र्याक्ट छनोट भएका छन्। तीमध्ये ४४ वटा पोस्टर प्रस्तुति र पाँच वटा ओरल प्रिजेन्टेसनका लागि छनोट भएका छन्।
सम्मेलनमा प्रस्तुत हुने सबै एब्स्ट्र्याक्ट बिनयताराको सहयोगमा प्रकाशित हुने मेडिकल जर्नल ‘इन्टरनेसनल जर्नल अफ क्यान्सर केयर एन्ड डेलिभरी’मा उपलब्ध गराइनेछ।
उनका अनुसार क्यान्सर उपचार, प्रारम्भिक पहिचान, बाल क्यान्सर, प्यालिएटिभ केयर, महिला क्यान्सर, रक्त क्यान्सर, पाचन प्रणालीका क्यान्सर, मूत्र तथा जनन प्रणालीका क्यान्सर, टाउको तथा घाँटीको क्यान्सर र फोक्सोको क्यान्सरलगायतका विषयमा विशेषज्ञबीच छलफल हुनेछ।
दुई दिनसम्म चल्ने सम्मेलनमा केसमा आधारित छलफल, ट्युमर बोर्ड शैलीको प्रस्तुति, अनुसन्धानात्मक प्रस्तुति, प्यानल डिस्कसन तथा क्यान्सर उपचारमा पहुँच विस्तारका विषय समेटिएका छन्।
पहिलो दिन दुईवटा सत्र
सम्मेलन अक्टोबर २ मा सुरु हुनेछ। पहिलो दिन केसमा आधारित दुईवटा सत्र सञ्चालन हुनेछन्।
पहिलो सत्रको अध्यक्षता डा. सुभाष ठाकुरले गर्नेछन्। सत्रमा क्यान्सर उपचारपछि बिरामीको जीवन, प्यालिएटिभ केयर, क्यान्सर स्क्रिनिङ तथा प्रारम्भिक पहिचान र बालबालिकामा हुने ट्युमरका विषयमा प्रस्तुति हुनेछ।
डा. श्रीकान्त आत्रेयले सर्वाइवरसिप एन्ड प्यालिएटिभ केयर अर्थात् क्यान्सर उपचारपछि बिरामीको जीवन तथा प्यालिएटिभ केयरबारे प्रस्तुति दिनेछन्। त्यसपछि डा. सरिता घिमिरेले क्यान्सर स्क्रिनिङ एन्ड अर्ली डिटेक्सन अर्थात् क्यान्सरको स्क्रिनिङ तथा प्रारम्भिक पहिचानका विषयमा प्रस्तुति दिनेछिन्।
बालबालिकामा हुने ट्युमरसम्बन्धी केसमा आधारित प्रस्तुति डा. राजीव झाले गर्नेछन्। तीनवटै प्रस्तुति पछि प्यानल छलफल हुनेछ। यसको संयोजन डा. सुभाष ठाकुरले गर्नेछन् भने डा. आत्रेय, डा. घिमिरे र डा. झा प्यानलमा सहभागी हुनेछन्।
दोस्रो सत्रमा बाल क्यान्सर र मल्टिपल मायलोमाका विषयमा केसमा आधारित छलफल हुनेछ। सत्रको अध्यक्षता डा. रोबर्ट म्याकक्रोस्की र डा. दिनेश भुरानीले गर्नेछन्।
डा. रितु लामिछानेले पेडियाट्रिक अन्कोलोजी अर्थात् बाल क्यान्सरसम्बन्धी प्रस्तुति दिनेछिन् भने डा. दिनेश भुरानीले मल्टिपल मायलोमाका विषयमा प्रस्तुति दिनेछन्।
स्वास्थ्य पत्रकारितामाथि विशेष संवाद
पहिलो दिनको अर्को महत्वपूर्ण सत्र ‘मिडिया म्याटर्स स् हेल्थ, ट्रुथ एन्ड पोलिसी’ हो। स्वास्थ्य, सत्य र स्वास्थ्य नीतिबीचको सम्बन्धमा केन्द्रित यो संवादको अध्यक्षता डा. विनय शाह र डीबी खड्काले गर्नेछन्।
प्यानलमा अर्जुन पौडेल, भगवती तिमिल्सिना, पुष्पराज चौलागाईं र रामप्रसाद न्यौपाने सहभागी हुनेछन्।
स्वास्थ्यसम्बन्धी सूचना प्रवाह, स्वास्थ्य पत्रकारिताको भूमिका, तथ्य र भ्रमबीचको अन्तर, स्वास्थ्य नीति र सञ्चारमाध्यमबीचको सम्बन्धलगायतका विषयमा यो सत्र केन्द्रित हुनेछ।
पहिलो दिनको औपचारिक कार्यक्रमपछि साँझ सम्मेलनमा सहभागी विशेषज्ञ तथा अतिथिका लागि फ्याकल्टी रिसेप्सन आयोजना हुनेछ।
दोस्रो दिन महत्वपूर्ण प्रस्तुति
दोस्रो दिन अर्थात् अक्टोबर ३ मा महिला क्यान्सरमा केन्द्रित ट्युमर बोर्ड स्टाइलमा छलफल हुनेछ। महिला क्यान्सरमा ट्युमर बोर्ड शैलीको छलफलको अध्यक्षता डा। रमेश श्रेष्ठ र डा. विवेक घोषले गर्नेछन्।
यस सत्रमा महिलामा देखिने प्रमुख क्यान्सरमध्ये स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरका विषयमा छुट्टाछुट्टै प्रस्तुति हुनेछ।
शारदा खड्काले स्तन क्यान्सरबारे प्रस्तुति दिनेछिन्। त्यसपछि डा. ज्योति भाजु लामाले डिम्बाशयको क्यान्सर, डा. धीरज गुप्ताले पाठेघरको मुखको क्यान्सर र डा. सूर्यप्रसाद रिमालले पाठेघरको क्यान्सरबारे प्रस्तुति दिनेछन्। प्रस्तुतिपछि चारै विशेषज्ञसहित प्यानल छलफल हुनेछ।
त्यसपछि सुरु हुने सत्रमा बिनयताराले क्यान्सर उपचारमा पहुँच विस्तार गर्न गरिरहेको कामदेखि नयाँ अनुसन्धानका निष्कर्षसम्मका विषय समेटिनेछन्।
डा. बिनय शाहले ‘विनयतारा स् एक्सपान्डिङ एक्सेस टु क्यान्सर केयर’ शीर्षकमा क्यान्सर उपचारमा पहुँच विस्तारका विषयमा प्रस्तुति दिनेछन्।
यसपछि अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले आफ्ना अनुसन्धान प्रस्तुत गर्नेछन्। डा. कनिका अरोरा र डा. अनु कुमारीले भारतीय बिरामीमा डिफ्युज लार्ज बी–सेल लिम्फोमाको उत्परिवर्तन तथा आनुवंशिक वर्गीकरणसम्बन्धी अनुसन्धान प्रस्तुत गर्नेछन्।
नेपालबाट श्रव्य कर्कीले पूर्वी नेपालमा टाउको तथा घाँटीको क्यान्सरको क्लिनिकोप्याथोलोजिकल अवस्थाबारे गरिएको ६ वर्षको अध्ययन प्रस्तुत गर्नेछिन्। त्यसैगरी डा. पूर्णिमा राजकर्णिकारले काठमाडौंस्थित तृतीयस्तरीय आँखा केन्द्रमा रेटिनोब्लास्टोमाबारे गरिएको १० वर्षको अध्ययन प्रस्तुत गर्नेछिन्। उक्त अध्ययनमा रेटिनोब्लास्टोमा भएका २३६ बालबालिकाको प्रस्तुति, रोगको अवस्था, उपचार र फलोअपको विश्लेषण गरिएको छ।
पाचन प्रणालीका क्यान्सरमा ट्युमर बोर्ड
त्यसपछि ट्युमर बोर्ड स्टाइल डिस्कसन–जीआई क्यान्सर्स अर्थात् पाचन प्रणालीसम्बन्धी क्यान्सरमा ट्युमर बोर्ड शैलीको छलफल हुनेछ।
सत्रको अध्यक्षता डा. नरेन्द्र पण्डित र डा. कुणाल विक्रम देवले गर्नेछन्। डा। शिवराज शर्माले ग्यास्ट्रिक क्यान्सरबारे प्रस्तुति दिनेछन् भने डा. सत्यदीप भट्टाचार्यले रेक्टल क्यान्सरको शल्यक्रियासम्बन्धी समग्र जानकारी प्रस्तुत गर्नेछन्।
त्यसपछि डा. शिवराज शर्मा, डा. सत्यदीप भट्टाचार्य, बरुण योगी र रविन शाह सहभागी प्यानलमा छलफल हुनेछ। यसपछि दिउँसोको भोजनसँगै पोस्टर सत्र सञ्चालन हुनेछ, जहाँ विभिन्न अनुसन्धानका निष्कर्षबारे सहभागीले थप जानकारी लिन सक्नेछन्।
दिउँसोको सत्रमा जीयू क्यान्सरअन्तर्गत मूत्र तथा प्रजनन प्रणालीसँग सम्बन्धित क्यान्सरमा छलफल हुनेछ।
सत्रको अध्यक्षता डा. निर्मल लामिछानेले गर्नेछन्। डा. विवेक घोषले प्रोस्टेट क्यान्सर, डा. भरतमणि पोखरेलले मूत्राशयको क्यान्सर र आवाज काफ्लेले मिर्गौलाको क्यान्सरबारे प्रस्तुति दिनेछन्।
दोस्रो दिनको अर्को विस्तृत सत्र हेड, नेक एन्ड लङमा केन्द्रित हुनेछ। सत्रको अध्यक्षता डा. एन्ड्रिया भिच र डा. अमरेन्द्र अमरले गर्नेछन्। सत्रमा डा. प्रभातचन्द्र ठाकुरले सन् २०२६ को सन्दर्भमा टाउको तथा घाँटीको क्यान्सरको शल्यक्रियात्मक उपचारबारे प्रस्तुति दिनेछन्।
त्यसपछि डा. अरुण शाहीले टाउको तथा घाँटीको क्यान्सरमा प्रणालीगत उपचारका पछिल्ला अपडेटबारे जानकारी दिनेछन्।
डा.अस्मिता रायमाझीले नन–स्मल सेल लङ क्यान्सरमा लक्षित उपचार (टार्गेटेड थेरापी)का पछिल्ला विकासबारे प्रस्तुति दिनेछिन्।
त्यसपछि सञ्जीवकुमार ठाकुरले सोलिड ट्युमर्समा सेलुलर थेरापीको भूमिकाबारे प्रस्तुति दिनेछन्।
सत्रको अन्त्यमा विशेषज्ञहरूबीच प्यानल छलफल हुनेछ। यसमा डा. प्रभातचन्द्र ठाकुर, डा. अरुण शाही र सञ्जीवकुमार ठाकुर सहभागी हुनेछन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



