भोटेकोशी बाढी प्रभावितका लागि ह्युमन लाइफ साइन्सप्रालिद्धारा एक करोड ५५ लाख बराबरको हैजाबिरुद्धको खोप सहयोग

0
Shares

काठमाडौं, १ असोज ।  भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि हैजाबाट जोगाउन  खोप उत्पादक कम्पनी जीसीबीसीको सहयोगमा ह्युमन लाइफ साइन्स प्रालिले एक करोड ५५ लाख रुपैयाँ बराबरको हैजाविरुद्धको खोप स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

नेपाल औषधी आयातकर्ता संघ (मियान) को सदस्य समेत रहेको ह्युमन लाइफले यसअघि मियानले स्वास्थ्य मन्त्रालयलाई तीन करोड रुपैयाँ बराबरको औषधी तथा खोप हस्तान्तरण गर्दा हैजाविरुद्धको खोप आफूले उपलव्ध गराउने बताएको थियो ।

सोही अन्तर्गत विहीबार २४ हजार ९६० भाइल खोप स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा उपलव्ध गराएको हो ।

ह्युमन लाइफ साइन्स प्रालिका अध्यक्ष रामानन्द दासको नेतृत्वमा विभाग पुगेको टोलीले व्यवस्थापन महाशाखाका निर्देशक डा. वीरेन्द्रकुमार मण्डललाई खोप हस्तान्तरण गरेको हो ।

‘श्यानकोल’ नामको यो खोप भारतीय कम्पनी जीसीबीसी भ्याक्सिन प्रालि (शान्ता बायोलोजिक्स प्रालि)बाट उत्पादित ओरल केरेला भ्याक्सिन हो ।

‘विश्व स्वास्थ्य संगठनले गुणस्तरमा ‘एप्रुभ’ गरेको यो खोपको नेपालमा आयात गर्ने आधिकारिक कम्पनी हामी हौँ । गत १० भदौको प्रलयकारी बाढीबाट प्रभावितका लागि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भन्ने मान्यता अनुरुप मियानले थालेको अभियानमा हामीले खोप सहयोग गर्ने भनेका थियौँ । त्यहि प्रतिवद्धता आज पुरा गरेका हौँ,’ अध्यक्ष दासले भने ।

उनले खोप उत्पादक कम्पनी जीसीबीसीले निशुल्क रुपमा उपलव्ध गराएको भन्दै राहतका लागि ठूलो श्रेय कम्पनीलाई पनि जाने स्पष्ट पारे ।

‘हामी यहाँका आधिकारिक विक्रेता हौँ । नेपालमा आएको महाविपत्तीमा केही सहयोग गरौँ भन्ने हाम्रो प्रस्तावलाई जीसीबीसीले सहस्र स्वीकार्नु भयो र निशुल्क रुपमा खोप उपलव्ध गराउनु भयो । यसमा हामी कम्पनी प्रति पनि आभार व्यक्त गर्दछौँ,’ दासले भने ।

नेपाल औषधी आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले पूर्व प्रतिवद्धता अनुसार ह्युमन लाइफ साइन्सले ठूलो परिमाणमा खोप उपलव्ध गराएको भन्दै यसका पहलकर्ताहरु प्रति आभार व्यक्त गरे ।

उनले देशलाई आवश्यक पर्दा व्यवसायिहरुले आफ्नो उत्तरदायित्व नभुल्ने भन्दै बाढी पछिको समयमा ठूलो परिमाणमा औषधीको राहत उपलव्ध गराउने आफूहरु पहिलो संस्था भएको दावी गरे ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *