सिटामोल अभावको विषयमा बालुवाटारको चासो

काठमाडौँ, १३ असोज । बजारमा सिटामोलको अभाव देखिएको विषयलाई लिएर प्रधानमन्त्री कार्यालयको सचिवालयले चासो व्यक्त गरेको छ ।

सचिवालयले सिटामोलको अवस्था के छ ? के कति कम्पनीले सिटामोल उत्पादन गर्दैछन् ? कति कम्पनीले सिटामोल उत्पादन गर्ने लाइसेन्स लिएका छन् ? त्यो सबै विवरणका साथ बिहीबार विहान १० बजे बालुवाटार उपस्थित हुन स्वास्थ्य अधिकारीहरुलाई निर्देशन दिएको छ ।

बुधबार नेपाल औषधि उत्पादक संघको २८ औँ बार्षिक साधारणसभालाई सम्वोधन गर्न पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले सिटामोलको अभावको विषयमा बालुवाटारले चासो व्यक्त गरेको कुरा सुनाएका थिए । उनले  उत्पादक तथा व्यवसायीहरुलाई सिटामोलको सहज उपलव्धताका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

उनले त्यसैबेला भनेका थिए, ‘सिटामोलको अभावको विषयमा भोली विहान १० बजे हाम्रा सचिव ज्यू, विभागका महानिर्देशक ज्यू तथा अन्य पदाधिकारीहरुलाई बालुवाटारबाट बोलावट भइसकेको अवस्था छ ।’

उनले उत्पादक तथा व्यवसायीहरुको सिटामोलको मूल्यको सन्दर्भमा केही गुनासो रहेको र त्यसमा आफू पनि गम्भीर भएको बताउँदै तर डेंगी फैलिएको र प्रमुख औषधि सिटामोल नै भएको अवस्थामा मूल्य बढाउने कुरा सान्दर्भिक नहुने बताए ।

स्रोतका अनुसार प्रधानमनत्री पत्नी आरजु देउवाको चासो पछि सिटामोलको विषयमा बालुवाटारले खोजी गरेको हो ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले सिटामोलको विषयमा बालुवाटारबाट चासो व्यक्त भएको पुष्टि गरे ।

औषधि उत्पादकहरुले भने सिटामोलको मूल्य विगत १५ बर्ष देखि एउटै रहेको र आफूहरुलाई यसले निकै घाटा भएको बताउने गरेका छन् । उनीहरुले प्रकोप तथा महामारीका बेलामा माग अत्यधिक बढी हुने र अनावश्यक रुपमा व्यक्तिले सिटामोल खरीद गरी स्टोर गर्ने बानीले पनि समस्या थपिएको बताउने गरेका छन् ।

‘अहिले पनि सिटामोल उत्पादन भई नै रहेको छ । तर बजार हल्लाले अनावश्यक रुपमा बढी खरीद गरेर राख्ने चलन भयो । यसले अभाव बढायो । अर्को कुरा व्यवसायीहरुले उठाउँदै आएको मूल्य समायोजनको कुरालाई सरकारको तर्फबाट ध्यान दिइएको छैन् । यसले पनि बेला बखतमा समस्या पैदा गरेको छ,’ नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *