सन्दर्भः विश्व मुटु दिवस २०२२

‘मन लगाउ, सबैको मुटु बचाउ’

प्रत्येक वर्ष २९ सेप्टेम्बरका दिन विश्व मुटु दिवस मनाउने चलन छ । यस वर्ष विश्वभर “मन लगाउ, सबैको मुटु बचाउ” भन्ने नाराका साथ विश्व मुटु दिवस मनाईदै छ । यस वर्ष मुटु मैत्री जीवनशैली र वातावरणीय संरक्षणका माध्यमबाट मुटुलाई स्वस्थ बनाउन सबैलाई प्रोत्साहित गर्ने तर्फ नारा र कार्यक्रमहरु केन्द्रित छन् ।

यस वर्षको विश्व मुटु दिवसको नारामा ३ वटा कुरा समेटिएका छन्ः पहिलो कुरा मानवताको दृष्टिले विपन्न र पिछडिएका वर्गको मुटुको सुरक्षालाई ध्यान देउ भन्ने छ । दोस्रो, मुटु सुरक्षाका लागि प्रकृतिको संरक्षण मार्फत वातावरणीय प्रदूषणको न्यूनिकरण तर्फ लाग्न आव्हान गरिएको छ । यस्तै तेस्रो कुरा, सबैले आफ्नो मुटु स्वास्थ राख्न मानसिक तनाव व्यवस्थापन तर्फ ध्यान देउ भनिएको छ ।

विश्व मुटु महासंघका अनुसार विश्वभर वर्षेनी १ करोड ८० लाख मानिसहरुको मृत्यु मुटुको रोगहरुबाट हुने गर्दछ । यी मध्ये विकासोन्मुख र अविकसित राष्ट्रहरुमा वर्षेनी मुटु रोगबाट मर्नेहरुको संख्या यसको ८० प्रतिशत भन्दा बढी पर्न आउछ ।

१९ औं शताब्दीमा मानव मृत्युको प्रमुख कारण संक्रामक रोगहरु र कुपोषण थिए ।

२० औं शताब्दीको सुरु सम्ममा पनि मुटु रोगबाट मर्नेहरुको संख्या १० प्रतिशत भन्दा कम थियो । २१ औं शताब्दीको सुरुमा आएर मुटुरोगबाट मर्नेहरुको संख्या विकसित राष्ट्रहरुमा करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रहरुमा २५ प्रतिशत पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले भविष्यवाणी गरे अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने छ र कोरोनरी मुटुको रोग (हृदयघात) संसार कै हत्यारा नंं. १ रोगका रुपमा स्थापित हुनेछ ।

सन् २०३० सम्ममा नेपाल लगाएतका विकासोन्मुख राष्ट्रहरुमा हृदयघात भएर मर्नेहरुको संख्या ३५ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

नेपालमा हाल २५ प्रतिशत अर्थात करिब ७५ लाख जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन् । मुटु रोगीहरुको संख्या नेपालमा २० वर्ष यता ५ गुणाले बृद्धि भएको छ ।

हाल नेपालमा विद्यमान मुटुरोगहरु मध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरु र उच्च रक्तचाप प्रमुख समस्याका रुपमा देखिएका छन् ।

मुटुका रोगहरु मध्ये कोरोनरी मुटुको रोग र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गैरहेको देखिन्छ र यसको प्रमुख कारणका रुपमा मानिसहरुको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तनलाई औल्याइएको छ ।

आजका मानिसहरुको जीवनशैली अस्वस्थकर भएको छ । मानसिक तनाव बढेको छ, व्यायाम घटेको छ । धूमपान, मद्यपान, खानामा गुलियो र चिल्लो प्रयोग बढेको छ । सागसब्जी र फलफुल खाने बानी एकदमै कम छ । तयारी खाना (फाष्टफुड) धेरै खाने बानी छ ।

नेपाल एनसीडी एलायन्सका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ, २५ प्रतिशतलाई कालेस्टेरोल छ, १० प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई बाथ मुटु रोग छ । ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन् । करिब ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चूरोट, सुर्ति सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ । जताततै वातावरणीय प्रदूषण छ । शुद्ध खानेपानीको अभाव छ । तरकारी र फलफूलहरु विषादीले भरिएका छन् । मानिसको जीवन कष्टकर भएको छ ।

आज विश्वमा ३० करोड भन्दा बढी मानिसहरु मोटोपनको शिकार भएका छन् । ५ वर्ष मुनिका २ करोड २० लाख बाल बालिकाहरु आवश्यक भन्दा बढी शारीरिक तौल भएका छन् । मोटोपन मुटुको लागि खतरा हो । नेपालका शहर बजारमा बाल बालिकाहरुलाई धेरै खुवाउने, त्यसमाथि अस्वस्थकर खाना खुवाउने र मोटोघाटो बनाउने प्रवृत्ति बढ्दो छ । २० प्रतिशत बालबालिकामा मोटोपना भएको देखिन्छ ।

मोटोपना जस्तै धूमपान, मद्यपान, बढी गुलियो, चिल्लो र बोसोयूक्त खानपान गर्ने प्रवृत्ति धेरै बढेको छ जसका कारण हृदयघात, उच्चरक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल आदीको समस्या पनि आकासिदै गैरहेको छ । यसरी बढ्दै गैरहेको मुटुरोगको समस्यालाई रोकथाम गर्न जनचेतना जगाउने साथै निती निर्माताहरुलाई मुटुरोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निति कार्यक्रमहरु बनाउन घच्घच्याउन अति जरुरी देखिन्छ । यसै उद्देश्यले विश्व मुटु महासंघले विश्व मटु दिवस मनाउने चलन चलाएको हो ।

धेरै मानिसहरुलाई आफनो मुुटु र स्वास्थ्यमा रहेको खतराबारे जानकारी हँुदैन किनकी उनिहरु नियमित स्वास्थ्य परीक्षण गराउदैनन् । यस्तै प्रकारले धेरै लाई मुटु रोगका कारक तत्वहरु (जोखिमहरु) बाट आफु प्रभावित भए नभएको बारे जानकारी राख्नुपर्छ र यसबाट मुक्त हुने उपाएहरु पनि समयमै गर्नुपर्छ भन्नेवारे चेतना छैन । यो चेतना अभावको कारण बहुसंख्यक मानिसहरुको हृदयघात र मास्तिष्कघातबाट मृत्यु भैराखेको छ । प्रत्येक मानिसले आफ्नो मुटु कति खतरामा छ त्यो थाहा पाईराख्नु पर्छ र यसबाट बच्ने उपाय समयमै गर्नुपर्छ ।

मुटुका लागि जोखिम तत्वहरु उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, धुम्रपान गर्ने बानी, बंशानुगत, व्यायामको कमि र मानसिक तनाव आदि प्रमुख हुन् । यदि कसैलाई यि समस्याहरु छन् भने तुरुन्त यसबाट छुट्कारा पाउन आवश्यक उपचार र सावधानी अपनाउनु पर्छ भन्ने बैज्ञानीकहरुको सल्लाह छ । अन्यथा हृदयघात र मस्तिष्कघात भएर आकस्मिक मुत्यु हुन सक्छ ।

मुटुका धेरै रोगहरु जीवनशैलीसँग सम्बन्धित हुन् । अध्ययन अनुसन्धानले देखिएको छ कि जीवनशैली परिवर्तनबाट मात्र पनि ९० प्रतिशत भन्दा बढी मुटु रोगका कारणहरु माथि नियन्त्रण गर्न सकिन्छ । यस कारण मुटुरोग नियन्त्रण कार्य जीवनशैली स्वस्थकर बनाउने तर्फ लक्षित हुनुपर्छ ।

सबै सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले मुटु मैत्री वातावरण सृजना गर्न सहयोग गर्नु पर्छ र विश्वव्यापी अभियानमा सबै जानु पर्छ । यसै सन्दर्भमा विश्व मुटु महासंघले विश्वका जनतालाई मुटु रोगबाट बच्नका लागि निम्न लिखित सन्देशहरु जारी गरेको छ । यसलाई सबैले पालना गरी आफ्नो मुटुलाई स्वस्थ राख्ने प्रयास गरौं ।

१. आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ । स्वास्थ्य परीक्षण गराउँदा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्टेरोल आदी जचाउनुका साथै पेटको नाप र मोटोपन बारे पनि जानकारी लिनुपर्छ ।

२. आफुलाई रहेको खतराबारे जानकारी पाए पछि स्वास्थ्यकर्मीसंग यि खतराहरुबाट मुक्त रहन के कसो गर्ने हो त्यस बारे परामर्श लिनु पर्छ ।

३. हृदयघात र मस्तिष्कघातको प्रमुख कारण उच्चरक्तचाप हो जसको कुनै लक्षण हुँदैन । औजारले नजाँची रक्तचाप कति छ थाहा हुँदैन । यस्तै प्रकारले मधुमेह साथै रगतमा कोलेस्टेरोल बढेको छ छैन भन्ने बारे थाहा पाउन नियमित रुपमा रगतको परीक्षण गराउनु पर्दछ ।

४. नियमित ब्यायाम गर्ने, नुन, चिल्लो र चिनी कम खाने, चुरोट, सुर्ती नखाने, मोटोपन घटाउने, मानसिक तनाव नियन्त्रण गर्ने तर्फ लाग्नु पर्छ ।

५. दैनिक प्रशस्त मात्रामा फलफूल र हरियो तरकारी खानु पर्छ ।

६. धुम्रपान निषेधीत सार्वजनिक स्थलहरु विस्तार गर्दै जान सम्बन्धित निकायहरुले सहयोग गर्नु पर्छ ।

७. तरकारी र फलफूलमा विषादी र रसायनको प्रयोगलाई निरुत्साहित गरिनु पर्छ ।

८. बढी गुलियो, नुनिलो, चिल्लो र तयारी खानाहरु (फाष्टफुड) को उपभोग कम गर्नु पर्छ ।

९. मानसिक तनाव र उत्तेजनालाई नियन्त्रण गर्नुपर्छ ।

१०. आफु भित्र प्रशन्नता, सन्तुष्टी, सहयोगी र दानी प्रवृत्तिको विकास गर्न सके सुख र स्वास्थ्य दुवै पाउन
सकिन्छ ।

#बरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मी नेपाल एनसीडी एलायन्सका अध्यक्ष समेत हुन् ।


Leave a Reply

Your email address will not be published.