क्यान्सर स्क्रिनिङ गर्न मधेश झर्‍यो भक्तपुर क्यान्सर अस्पतालको टोली

काठमाडौं । महिलामा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको स्क्रिनिङ गर्न भक्तपुर क्यान्सर अस्पतालको टोली मधेश झरेको छ । विशेषज्ञसहितको टोलीले अहिले बारा र धनुषा जिल्लामा निशुल्क स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको छ ।

‘महिलामा अत्यधिक देखिने दुई क्यान्सरहरु ( पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर)को प्रारम्भिक अवस्थामै पहिचान गर्ने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशका विभिन्न जिल्लामा क्यान्सर स्क्रिनिङ तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेका हौँ,’ अस्पतालका निर्देशक एवं क्यान्सररोग विशेषज्ञ डा. उज्वल चालिसेले भने ।

अस्पताल विकास समितिकि सदस्य संगिता फुयालले गत २६ बैशाखका दिन बारा जिल्लाको कोल्हवीमा शिविर सञ्चालन गरिएको र आज २८ बैशाखका दिन धनुषाको रुपहीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शिविर सञ्चालन भइरहेको बताईन् ।

उक्त कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड तथा लायन्स क्लव इन्टरेनशनल अन्तर्गतको लायन्स क्लब अफ बागमतीको सहयोग रहेको अस्पतालले जनाएको छ।

सदस्य फुयाँलका अनुसार शिविरमार्फत हालसम्म एक हजारभन्दा बढी महिलाले स्वास्थ्य सेवा लिइसकेक छन् । उनले मधेश प्रदेशपछि सुदूरपश्चिम प्रदेशसहित देशका अन्य विभिन्न स्थानमा पनि यस्ता कार्यक्रम बिस्तार गरिने बताइन्।

त्यसो त अस्पतालले वर्षैभरि उपत्यका आसपासका क्षेत्र तथा देशका विभिन्न जिल्लामा क्यान्सरसम्बन्धी जनचेतना, स्क्रिनिङ तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *