महालेखा परीक्षकको कार्यालयको ६३ औं प्रतिवेदन:

सरकारी अस्पतालका लागि ल्याइएका महंगा स्वास्थ्य उपकरणको गरिएन उपयोग

काठमाडौँ, २ जेठ । सरकारी स्वास्थ्य संस्थामा नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गरिने महंगा उपकरणहरु छन् । तर बर्षौ देखि ती उपकरण चलेका छैनन् । भएका उपकरण नचल्दा ती सेवाका लागि नागरिकहरु महंगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा सेवा लिन जान बाध्य छन् भने अर्का तिर सरकारको लगानी खेर गईरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शुक्रबार पेश गरिएको महालेखा परीक्षकको ६३ औँ बार्षिक प्रतिवेदनमा अस्पतालहरुले आफूसंग भएका स्वास्थ्य उपकरणको प्रयोग नगरिएको विवरण उल्लेख गरेको छ । विवरणमा अस्पतालहरुले जनशक्ति अभावमा त्यस्ता मेसिन तथा उपकरणहरु सञ्चालन नगरेको उल्लेख छ ।

कुन कुन अस्पतालमा थन्कियो मेसिन ?

प्रतिवेदनका अनुसार दक्ष जनशक्तिको अभावमा राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाख ८२ हजार मूल्यको क्याथ ल्याव मेसिन २०७२ साल देखि उपयोगविहीन छ । सोही सेन्टरमा २४ करोड ७७ लाख ९ हजार मूल्यका सीटीस्क्यान सिस्टम, १४ थान भेन्टिलेटर, ५ थान लिड ईसीजी केवुल ३०० सेट पनि प्रयोग विहीन अवस्थामा छ ।

उता मधेश प्रदेशको गजेन्द्रनारायणसिंह अस्पतालमा ४ करोड ९० लाख ९५ हजार मूल्यमा किनिएका एक्सरे मेसिन, ईण्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन तथा इलेक्टेकार्डियोलोजी लगायत उपकरण पनि प्रयोगमा ल्याइएको छैन ।

प्रतिवेदनले सिंहदरबार वैद्यखाना विकास समितिमा रहेका सिंगल रोटरी ट्याव्लेटिङ मेसिन, एयर कम्प्रेसर, इन्कजेट कोडर, डबल कोन ब्लेन्डर, अटोमेटिक हाइस्पिड लेभलिङ मेसिन, ब्वायलर, क्लोड मिल, इलेक्ट्रिक ट्रे ड्रायर, रोटरी रनर खल, अटोमेटिक क्याप्सुल फिल मेसिन तथा पाउडर फिलिङ मेसिन लगायतका ६० प्रकारका मेसिन पनि सञ्चालनमा ल्याइएको छैन ।

यस्तै नेपाल प्रहरी अस्पतालले खरीद गरेको १६ स्लाइस सीटी स्क्यान मेसिन, १.५ टेस्लाको एमआरआई मेसिन उपकरण प्रयोग विहीन अवस्थामा रहेको बताइएको छ ।

खरीद गरी योजना अनुसार उपयोगका लागि नपठाउनेमा स्वास्थ्य सेवा विभाग पनि अग्रस्थानमा छ । विभागले यो वर्ष ९६५ हाइट बोर्ड र ९६५ थान इलेक्ट्रोनिक बेट स्केल खरीदमा ६ करोड ७३ लाख २१ हजार खर्च गरेकोमा गत विगतमै खरीद गरेको ६ करोड ५३ लाख ९९ हजार रुपैयाँको १ हजार ३३६ इलेक्ट्रोनिक वेट स्केल (मदर चाइल्ड) तथा रु २ करोड ४२ लाख ५४ हजारका ७ प्रकारका १३३ थान मेसिन, उपकरण प्रयोगविहीन छन् ।

यस्तै भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापनाकाल देखि क्यान्सर उपचारमा प्रयोग हुँदै आएको टेलिथेरापी मेसिन ४ वर्ष देखि पूर्णरुपमा उपयोगविहीन भई अस्पतालको बंकरमा राखिएकोमा मेसिन भित्र रहेको रेडियोधर्मी स्रोतको आयू सकिदै गएको भएता पनि त्यसको विकीरण जोखिम कायमै रहेको बताइएको छ ।

प्रतिवेदनमा यी सबै संस्थाहरुको मेसिन तथा उपकरणहरुको सञ्चालनका लागि मन्त्रालयले अनुगमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *