सन्दर्भ: अन्तर्राष्ट्रिय नर्सिङ दिवस

नर्सिङ पेशाको सम्मान मात्र होइन नेतृत्व पनि आवश्यक

60
Shares

हरेक वर्ष मे १२ मा ‘आधुनिक नर्सिङ सेवाकी जननी’ फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीको अवसरमा विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ ।

सन् १९६५ देखि सुरु भएको यो यात्रा आज “Our Nurses. Our Future. Empowered Nurses Save Lives” (हाम्रा नर्स हाम्रो भविष्य, नर्सलाई सशक्त बनाऔं जीवन बचाऔं) भन्ने मूल मर्मसम्म आइपुग्दा नर्सहरू स्वास्थ्य सेवाका निर्विकल्प मेरुदण्ड हुन् भन्ने सन्देश विश्वव्यापी बनेको छ ।

यो दिवस नर्सहरूको समर्पणको सम्मान गर्ने पर्व मात्र नभई स्वास्थ्य प्रणालीमा उनीहरूको भूमिका, अधिकार र नेतृत्वबारे गम्भीर विमर्श र आत्ममूल्याङ्कन गर्ने महत्त्वपूर्ण अवसर पनि हो ।

सन् १९६५ मा International Council of Nurses ले सुरु गरेको यो दिवस आज विश्वव्यापी स्वास्थ्य नीतिको महत्वपूर्ण विमर्शको हिस्सा बनेको छ।

बि.सं. २०१८ (सन् १९६२) सालमा स्थापना भएको नेपाल नर्सिङ संघ र यसका अग्रजहरुको महत्वपूर्ण भूमिकाले नेपाल नर्सिङ संघ अन्तर्राष्ट्रिय नर्सिङ परिषदमा आवध्द भई नेपाली नर्सलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ।

“Safe Motherhood” देखि “Our Nurses. Our Future.” सम्मका अन्तर्राष्ट्रिय नाराहरूले नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्ड मात्र होइन, प्रणाली परिवर्तनका आधारस्तम्भ पनि हुन् भन्ने सन्देश दिँदै आएको छ।

नेपालको जटिल भूगोल, सीमित स्रोत-साधन तथा असुरक्षित कार्यस्थलका बीच पनि नर्सहरूले पुर्‍याएको योगदान स्वास्थ्य सेवामा निकै गहिरो, बलिदानी र निर्णायक छ । दुर्गमका स्वास्थ्य संस्थादेखि सहरका अत्याधुनिक अस्पताल तथा समुदायसम्म नर्सहरूले निरन्तर सेवा दिँदै आएका छन्।

प्रसूति सेवा, बालस्वास्थ्य, खोप अभियान, दीर्घरोग व्यवस्थापनदेखि आपत्कालीन उपचारसम्म नर्सहरूले निभाएको भूमिकाले स्वास्थ्य सेवालाई जीवित राखेको छ । उदाहरणको रुपमा कोभिड–१९ महामारीका बेला नेपाली नर्सहरूले ज्यानको जोखिम मोलेर “हामिले नगरे कसले गर्छ” भन्ने भाव सहित देखाएको साहस, धैर्यता र सेवा भावले नर्सिङ पेशाको वास्तविक मूल्य र पेसागत प्रतिबद्धताको ऐतिहासिक उदाहरण समाजलाई प्रस्तुत गरेका थिए ।

यति महत्वपूर्ण योगदान हुँदाहुँदै पनि नर्सिङ क्षेत्रले आज पनि गम्भीर संरचनागत त्रुटी, परम्परागत पितृसत्तात्मक सोच तथा अवैज्ञानिक निति नियमका कारण वृत्ति विकास तथा नेतृत्वमा अकल्पनिय चुनौतीहरू भोगिरहेको छ।

नर्सको वृत्ति विकासमा (career development) प्राथमिकता नदिनु तथा यो पेशामा भविष्य उज्ज्वल छ भन्ने संस्थागत विश्वास दिलाउन नसक्नुले आज धेरै दक्ष नर्सहरू पलायन भैरहेका छन् र अझै बढी पलायन हुने अवस्था सिर्जना भएको छ। यहि अवस्था रहदै गएमा विदेशबाट नर्सहरु ल्याउनु पर्ने अवस्था हुन सक्छ।

तलब–भत्ता र सेवा सुविधामा नकारात्मक असमानता, साथै सेवाग्राही र नर्सको न्यूनतम अनुपात (Nurse-Patient Ratio) को वैज्ञानिक निर्धारण नहुँदा नर्सहरू चरम तनाव र कार्यदबाबमा काम गर्न बाध्य भएका छन् भने आत्मबल पनि घटाएको छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, स्वास्थ्य सेवाको ठूलो हिस्सा ओगटेर पनि नीति निर्माण र नेतृत्व तहमा नर्सहरूलाई पुग्न सहज अवसर नदिइनु, निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्न नीतिगत तहमा हिच्किचाउने प्रवृत्तिले स्वास्थ्य प्रणालीको समग्र प्रभावकारितामा नै प्रश्न उठाएको छ। यी समस्याहरू केवल पेशागत असन्तुष्टिका विषय मात्र होइनन्, समग्र स्वास्थ्य सेवाको गुणस्तर र सुरक्षा सँग प्रत्यक्ष जोडिएका विषय हुन्।

यी समस्या तथा चुनौतीका बीच पछिल्ला समय केही सकारात्मक परिवर्तनका संकेत पनि देखिन थालेका छन् जसले सम्पूर्ण नर्सिङ समुदायमा आशा जगाएको छ ।

संघीय संरचनामा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा तथा स्वास्थ्य बिमा बोर्ड मा नर्सिङ सेवाबाट नेतृत्वमा पुग्नु महत्वपूर्ण उपलब्धि हो। त्यसैगरी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मा नर्सिङ पृष्ठभूमिबाट नेतृत्व स्थापित हुनु र वर्तमान स्वास्थ्य मन्त्रालयको राजनीतिक नेतृत्व नै नर्सिङ पृष्ठभूमिबाट हुनु सम्पूर्ण नर्सिङ समुदायका लागि गर्व र आशाको विषय बनेको छ।

यसले नर्सिङ पेसाको क्षमता र नेतृत्व दक्षताप्रति नयाँ विश्वास स्थापित गर्दै नीति निर्माण र स्वास्थ्य प्रणाली रूपान्तरण गर्न सक्षम छ भन्ने विश्वासलाई थप बलियो बनाएको छ ।

बिरामीसँग प्रत्यक्ष जोडिएर चौबीसै घण्टा सेवा दिने हुनाले नर्सहरूसँग स्वास्थ्य सेवाका व्यावहारिक समस्या र कार्यक्षेत्रको यथार्थता (Ground Reality) प्रति सूक्ष्म अनुभव रहेको हुन्छ ।

त्यसैले स्वास्थ्य नीतिलाई व्यावहारिक जनमुखी बनाउन र गुणस्तरिय सेवा प्रदान गर्न नर्सहरूको यो अनुभवलाई नेतृत्व तहमा उपयोग गर्नु अपरिहार्य छ । तेसैले अबको बाटो भनेको यी सकारात्मक अभ्यासलाई संस्थागत गर्दै समस्या समाधानतर्फ स्पष्ट नीति अघि बढाउनु हो।

बर्षौ देखि पिडित भएका नर्सलाई न्याय दिने, नर्सिङ वृत्ति विकासलाई व्यवस्थित गर्ने, कार्यस्थल सुरक्षित र सम्मानजनक बनाउने, उचित तलब–सुविधा सुनिश्चित गर्ने, नर्स–सेवाग्राही अनुपात वैज्ञानिक रूपमा निर्धारण गर्ने तथा नेतृत्व तहमा नर्सहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषय अब विकल्प होइन, आवश्यकताको विषय बन्नु पर्दछ । नर्सिङ केवल सेवा मात्र होइन, ज्ञान, संवेदना र नेतृत्वको संयोजन हो। सशक्त नर्स बिना सशक्त स्वास्थ्य प्रणाली सम्भव छैन।

त्यसैले नर्सहरूको सम्मान शब्दमा मात्र होइन, अवसर, संरचना र निर्णय प्रक्रियामा समान सहभागिता व्यवहारमा देखिनुपर्छ।
अन्तमा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा स्वास्थ्य सेवा सुधारका लागि नर्सहरूको योगदानको कदर गर्नुको साथै उनीहरूको अधिकार, अवसर र नेतृत्वको पनि समान रूपमा सम्मान गरिनुपर्छ भन्ने संकल्प गर्दै अघि बढौं ।

 #पौडेल नेपाल नर्सिङ संघकी सचिव हुन् । 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नर्सिङ पेशाको सम्मान मात्र होइन नेतृत्व पनि आवश्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *