‘कम्बाइन्ड’ प्रत्यारोपणको एक वर्ष पुगेकै दिन जब महर्जन डा. पुकार खोज्दै आईपुगे….

काठमाडौँ, १ जेठ । बरिष्ठ मिर्गौला प्रत्यारोपणविज्ञ डा पुकारचन्द्र श्रेष्ठको दैनिकी अहिले भक्तपुरमा खुलेको शान अस्पतालमा आउने बिरामीसंग बित्ने गर्दछ । सदा जस्तै शुक्रबार दिउसो पनि उनी बिरामीकै उपचार तथा परामर्श व्यस्त थिए । त्यति नै बेला ‘डाक्टर साब नमस्कार !’ भन्दै ५२ वर्षीय शिव महर्जन त्यहि आईपुगे ।

डा. पुकारको शब्दमा महर्जन उनै बिरामी थिए जसले नेपालको प्रत्यारोपण क्षेत्रमा बेग्लै ईतिहास लेखेका छन् ।

अनि महर्जनसंग जोडिएर आउने दिन पनि छ १ जेठ ।

महर्जनलाई देख्नासाथ डा. पुकारले अस्पताल व्यवस्थापन टोलीलाई एउटा केक व्यवस्थापन गर्न अह्राईहाले । केही क्षणमा केक आयो । अनि महर्जनलाई केक कटाए, एक अर्कालाई खुवाए ।

………………………………………………………………………..

ठिक एक वर्ष अघि आजकै दिन महर्जनको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको थियो

गम्भीर सडक दुर्घटनामा परी काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचारका क्रममा मस्तिष्क मृत्यु भएका एक १८ वर्षीय किशोरको परिवारले अंगदानका लागि ईच्छुक भएपछि झिकिएको मिर्गौला र कलेजो उनै महर्जनमा प्रत्यारोपण गरिएको थियो ।

मस्तिष्क मृत्यु भएको व्यक्तिबाट झिकिएको मिर्गौला र कलेजो प्रत्यारोपण अर्थात कम्बाइन्ड प्रत्यारोपण सेवा प्राप्त गर्ने महर्जन नेपालकै पहिलो थिए । ‘त्यसैले उहाँ नेपालकै प्रत्यारोपणको क्षेत्रमा विशेष हुनुहुन्छ । आज हामीले उहाँको प्रत्यारोपण पछिको पहिलो वर्षगाँठ केक काटेर मनायौँ ,’ डा. श्रेष्ठले भने ।

हुन पनि अत्यन्त जटिल मानिएको यो शल्यक्रिया सम्पन्न गर्न त्यसबेला चिकित्सकको टोलीलाई झण्डै ३६ घण्टा लागेको थियो। डा. श्रेष्ठ भन्छन्, ‘अहिले उहाँको स्वास्थ्य अवस्था एकदमै राम्रो छ र प्रत्यारोपित दुवै अङ्गहरूले राम्रोसँग काम गरिरहेका छन्।’

डा. श्रेष्ठ अगाडी थप्छन्, ‘नेपालको विकसित हुँदै गरेको चिकित्सा क्षेत्र, विशेषगरी अङ्ग प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका दाताबाट अङ्ग लिने कार्यक्रम अझै प्रारम्भिक चरणमा रहेको अवस्थामा, यो सफलता व्यक्तिगत विजयमात्र नभई समग्र राष्ट्रको स्वास्थ्य प्रणालीका लागि एक ठूलो उपलब्धि हो।’

‘प्रत्यारोपण पछिको एक वर्ष कस्तो रह्यो ?’

प्रत्यारोपित व्यक्ति महर्जनले आफ्नो नयाँ जीवनप्रति खुसी व्यक्त गर्दै भने, ‘बास्तवमा यतिवेला म संग वर्णन गर्ने शब्द नै छैन ।’

उनले अगाडी डा. पुकारसंग प्रत्यारोपणमा सहभागी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीलाई सम्झे र भने ‘सबैप्रति आभारी छु ।’ उनले ‘अङ्गदाता र उनको परिवारप्रति आफ्नो उच्च सम्मान र कृतज्ञता छ’ भन्दै थपे ‘जसको निस्स्वार्थ त्यागले मलाई यो दोस्रो जीवन उपहारस्वरूप प्राप्त भयो।’

त्यसो त महर्जनले पछिल्लो समय सान अस्पतालबाट नै आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउन थालेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *