अन्तर्राष्ट्रिय नर्सिङ दिवसमा उठ्यो आवाज: कामको सम्मान, कार्यस्थल सुरक्षा र समान सुविधा चाहियो
काठमाडौं, २९ बैशाख । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघले मंगलबार लाजिम्पाटमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले नर्सहरूको सेवा, श्रम र योगदानको सम्मान गर्दै समान पारिश्रमिक, सुरक्षित कार्यस्थल र मर्यादित श्रम वातावरण सुनिश्चित गर्न राज्यसँग माग गरेका छन्।
कार्यक्रममा बोल्दै नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नेपालका नर्सहरूले न्यून पारिश्रमिक, अत्यधिक कार्यबोझ, कार्यस्थल असुरक्षा जस्ता समस्या भोगिरहेको बताइन्।
उनले केही महिनाअघि भएको नर्सिङ आन्दोलनपछि सरकारसँग सरकारीसरह तलब–सुविधा उपलब्ध गराउने सहमति भए पनि धेरै निजी स्वास्थ्य संस्थाले अझै कार्यान्वयन नगरेको उल्लेख गर्दै त्यसको प्रभावकारी अनुगमन र कार्यान्वयनका लागि सरकारले थप दबाब दिनुपर्ने धारणा राखिन्।
उनले सरकारी सेवामा कार्यरत कर्मचारीहरुले दुई सातामा दुई दिन विदा पाउने गरेको भन्दै नर्सहरुलाई पनि सो सुविधाको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरिन । ‘अन्य कर्मचारीलाई लागू हुने दुई दिन बिदाको व्यवस्था नर्सका हकमा अझै प्रभावकारी रूपमा लागू भएको छैन,’ उनले भनिन्, ‘हामीले बिरामी सेवामा असर नपर्ने गरी नर्सहरूको बिदा तथा श्रम अधिकार व्यवस्थापन गर्न राज्यसँग आग्रह गरेका छौँ।’
अध्यक्ष प्राध्यापक शर्माले केही दिनअघि नोबेल मेडिकल कलेजमा कार्यरत एक नर्समाथि भएको दुर्व्यवहार र आक्रमण प्रयासप्रति खेद व्यक्त गर्दै कार्यस्थल सुरक्षा नर्सहरूको ‘पहिलो बटम लाइन’ भएको बताइन्।
कार्यक्रममा नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष प्राध्यापक तारा पोखरेलले नर्सहरू अन्यायविरुद्ध संगठित भएर आवाज उठाउनुपर्ने आवश्यकता औंल्याइन्। उनले न्यून दरबन्दी, कम तलब, असुरक्षित कार्यस्थल र सेवा–सुविधाको अभावका कारण दक्ष नर्सहरू विदेशिन बाध्य भइरहेको बताउँदै राज्यले स्वदेशमै टिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।
संघकी उपाध्यक्ष बविता घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नर्सहरू श्रम शोषणको समस्याबाट प्रभावित भइरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय नर्सिङ दिवसले नर्सहरूबीच एकता, भाइचारा तथा अधिकार सुनिश्चिताको आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा संघकी पूर्वअध्यक्ष प्रा. प्रमिला देवान, महासचिव प्राडा देवका आचार्य लगायतले स्वास्थ्य सेवा प्रणालीमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा राखेका थिए।

विश्वभर नर्सहरूको चुनौती
हरेक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ। आधुनिक नर्सिङ सेवाकी अग्रदूत फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर करिब २ करोड ८० लाख नर्स कार्यरत छन्। तर अझै पनि विश्वमा लाखौं नर्सको अभाव रहेको विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले देखाएका छन्। विशेषगरी न्यून तथा मध्यम आय भएका देशहरूमा कम तलब, लामो ड्युटी आवर, मानसिक तनाव, हिंसा र असुरक्षित कार्यस्थल नर्सहरूको साझा समस्या बनेको छ।
कोभिड–१९ महामारीपछि नर्सहरूको कार्यबोझ झनै बढेको थियो। महामारीका क्रममा हजारौं स्वास्थ्यकर्मी संक्रमित भएका थिए भने धेरैले मानसिक तनाव र थकानको सामना गर्नुपरेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
नेपालमा पनि निजी तथा सरकारी अस्पतालबीच तलब–सुविधामा ठूलो असमानता, न्यून जनशक्ति, अत्यधिक कार्यबोझ र श्रम अधिकार कार्यान्वयनको समस्या लामो समयदेखि उठ्दै आएको छ। नर्सिङ क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरूले स्वास्थ्य सेवा प्रभावकारी बनाउन नर्सहरूको मनोबल, सुरक्षा र सेवा–सुविधा सुधार अपरिहार्य रहेको बताएका छन्।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 


Yas international nurses day ko theme jastai sabai nurses empowered huna sakun shuvakamana!