काउन्सिलमा दुई वर्ष भित्र चिकित्सक र अस्पतालबिरुद्ध पर्यो १०६ वटा उजुरी
काठमाडौँ, २० भदौ । चिकित्सक तथा अस्पतालहरुको लापरवाहीले बिरामीको मृत्यु भयो भन्दै हुलदंगा गर्ने क्रियाकलाप पछिल्ला वर्षमा केही कमी आएको छ । तर उपचारमा चित्त नबुझेको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्ने क्रममा कमि आएको छैन् ।
पछिल्लो दुई वर्षको उजुरी केलाउने हो भने काउन्सिलमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी (चिकित्सक)बिरुद्ध १०६ वटा उजुरी परेको छ । त्यसमा कतिपयको फैसला भएको छ भने कतिपयको हुने क्रममा छ । केहीले अदालतमा उजुरी दिएर काउन्सिलमा त्यसको बोधार्थ दिने गरेका छन् । त्यसको पनि काउन्सिलले अनुसन्धान गरी जवाफ पठाउने गरेको छ ।
काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा काउन्सिलमा ५० वटा उजुरी परेको बताए । यस्तै काउन्सिलमा गत आर्थिक बर्ष अर्थात आव २०७८/७९ मा ४६ वटा उजुरी परेको थियो । चालु आर्थिक बर्षको डेढ महिनामा १० वटा उजुरी परिसकेको छ । ‘यी मध्ये अघिल्ला वर्षका अधिकांश उजुरी फरस्र्यौट भएका छन् । केही हुने क्रममा छन्,’ डा अधिकारीले भने ।
कस्ता उजुरी पर्छन् ?
डा अधिकारीका अनुसार काउन्सिलमा पर्ने अधिकांश उजुरी चिकित्सकको लापरवाही भन्ने नै हुन्छ । त्यसमा डाक्टरमाथि कारवाही र क्षतिपूर्तिको कुरा उल्लेख हुन्छ । उजुरी परेपछि विषय वस्तुको अध्ययन गरी त्यसको उपयुक्त निस्कर्ष निकालिने गरेको उनले बताए ।
‘लापवाहीले बिरामीको मृत्यु भयो भन्दै आउने धेरै हुन्छन्, कतिपयले उपचारमा गम्भीर गल्ती गरेको भन्दै आउँछन, कतिपयले बिरामी राम्रोसंग नहेरिदिएको भनेर पनि आउँछन् । यसको महत्व र प्राथमिकता हेरेर काम कारवाही अघि बढ्ने गरेको छ,’ उनले भने ।
काउन्सिलमा पर्ने उजुरीमा क्लिनिक देखि ठूला अस्पताल, सरकारी गैरसरकारी र निजी क्षेत्रका नयाँ देखि पुराना अस्पताल सबैमा कार्यरत चिकित्सकहरुबिरुद्ध परेको डा अधिकारीले बताए ।
सम्पर्क इमेल : [email protected]