अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

नवलपरासी, २ साउन । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतबार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार व्यवस्था सम्बन्धमा आइतबार बसेको बैठकको सिफारिसका आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणमा आग्रह गरिएको घिमिरेले बताए ।

“अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नुपर्ने गरी आदेश जारी गरिएको छ”, घिमिरेले भने। आदेशमा सरकारी वा सार्वजनिक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा सङ्घसंस्थामा सेवा लिँदा र दिँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको घिमिरेले बताए ।

जिल्लामा कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता बढाइएसँगै यसको अनुगमनलाई समेत अगाडि बढाउने घिमिरेको भनाइ छ। “अर्को व्यवस्था जारी नभएसम्मका लागि यो सूचना जारी गरिएको हो”, घिमिरेले भने, “कोरोनाको सङ्क्रमण बढ्ने÷घट्ने भएमा सोहीअनुसारको नीति अवलम्बन गरिनेछ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *