स्वास्थ्य राज्यमन्त्री केसीद्धारा राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर, २८ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले अस्पताल अनुगमनलाई तिब्रता दिएका छन् । उनले मंगलबार मात्रै भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन् ।

सो क्रममा राज्यमन्त्री केसीले बिरामीमैत्री सेवा प्रबाह गर्न अस्पतालका निर्देशकहरुलाई निर्देशन दिए । उनले त्यसका लागि मन्त्रालयले गर्नुपर्ने काम बाँकी भएमा भन्न समेत निर्देशकहरुलाई आग्रह गरे ।

प्रत्यारोपण केन्द्रको अनुगमन गर्ने क्रममा उनले डायलासिस सेवा र प्रत्यारोपण सेवालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर जिज्ञासा राखेका थिए । उनले डायलासिस गर्न र प्रत्यारोपण गर्न पालो कुर्नुपर्ने बाध्यता रहेको गुनासो आफूले धेरै सुनेको भन्दै यदि त्यस्तो समस्या छ भने त्यसलाई तत्काल समाधान गर्ने ढंगले अघि बढ्न निर्देशन दिए ।

‘कहिलेकाँही डायलासिस गर्न नपाएको भन्ने खबर सुनेका छौँ । प्रत्यारोपणका लागि समेत निकै पालो कुर्न पर्छ भन्ने पनि सुनेका छौँ । यो कुराको बास्तविकता के हो ? यदि त्यस्तो छ भने त्यसलाई अन्त गर्ने तर्फ अघि बढ्नुहोला । मन्त्रालयको तर्फबाट के गर्नुपर्छ मैले सहयोग गर्नेछु,’ उनले भने ।

सो अवसरमा केन्द्रले दिएको सेवा र मन्त्रालयले गर्नुपर्ने सहयोगको बारेमा कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी गराएका थिए ।

यस्तै राज्यमन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गर्ने क्रममा पनि बिरामीको हितलाई सर्बोपरि राखेर काम गर्न निर्देशन दिए । उनले सीमित स्रोत साधनका बाबजुत रातदिन खटेर सेवा प्रवाह गरेको भन्दै अस्पताललाई भक्तपुर अस्पताललाई धन्यवाद दिए ।

उनले अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने बताए । अस्पतालमा भवनको समस्या देखिएको भन्दै सरकारको तर्फबाट भूमिका खेल्ने बताए ।

सो अवसरमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा विष्णुदत्त पौडेलले सेवा प्रवाहको बारेमा विस्तृत जानकारी गराएका थिए ।

यस्तै अस्पतालका कर्मचारीहरुले लामो समयदेखि करारमा काम गर्न बाध्य भएको भन्दै अस्पतालको गठन आदेश परिमार्जन गर्न स्वास्थ्य राज्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए । राज्य मन्त्री केसीले लामो समयदेखि क्यान्सर अस्पतालमा करारको रुपमा काम गर्ने बाध्यताको हल गर्न पहल थाल्ने बताए ।

अनुगमनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा.सर्वेश शर्मा लगायतको सहभागिता थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *