जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

रुकुमपूर्व, ७ असार । रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ। गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो। औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै छाडेका छन् ।

सुरु–सुरुमा आयुर्वेद स्वास्थ्योपचारतिर आकर्षित भएका यहाँका नागरिक पछिल्लो समय औषधि पाउन छाडेपछि उपचारबाट वञ्चित हुन पुगेका हुन्। उपचारका लागि स्वास्थ्य केन्द्रसम्म धाउनेलाई अहिले खाली हात फर्काउनुपर्ने अवस्था सिर्जना भएको केन्द्रका प्रमुख डा गनेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले केन्द्रमा ग्यास्टिक र रुघाखोकीको मात्र औषधि उपलब्ध छ। हातखुट्टा तथा जोर्नी दुख्ने समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका छन्। झन यही समस्यासम्बन्धीको औषधि गएको वर्ष पुस महिनादेखि नै नभएको डा अधिकारीले बताए। औषधि अभाव भएको लामो समयपछि अहिले खरिद प्रक्रिया अघि बढाइएको छ ।

डा अधिकारीका अनुसार आवश्यक पर्ने औषधिको खरिद प्रक्रिया अघि बढिसकेका कारण यही असारको अन्तिम सातासम्ममा रुकुमकोट औषधि आइपुग्ने भएको छ। साथै बिजौरीस्थित आयुर्वेद चिकित्सालयबाट पनि केही औषधि ल्याउन लागिएको छ। सेवा प्रवाह चलिरहेको बेलामा आयुर्वेद स्वास्थ्य केन्द्रमा हात, जोर्नी तथा नशासम्बन्धी, पायल्स, फिस्टुला, फिसरको समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका थिए।

यसैगरी, ग्यास्टिक, श्वासप्रस्वाससम्बन्धी समस्या, महिनावारी गडबड, छाला तथा मुखको समस्या, मधुमेह र रक्तचापका बिरामी पनि आउने गर्दछन् ।रुकुमपूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गएको जेठ २६ गतेदेखि सेवा सुरु गरेको थियो ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *