गतवर्ष भन्दा करीब २ प्रतिशतले घट्यो स्वास्थ्यको बजेट
काठमाडौँ, १५ जेठ । नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कुल बजेटको कम्तिमा १० प्रतिशत हिस्सा स्वास्थ्यमा छुट्याउनु पर्छ भनेर विज्ञहरुले बर्षौ अघि देखि भन्दै आएका हुन् । गत वर्ष सरकारले ल्याएको बजेट मध्ये ७.४५ प्रतिशत हिस्सा स्वास्थ्यले ओगटेको थियो । तर यसपटक स्वास्थ्यको भागमा कुल बजेटको ५.७५ प्रतिशत मात्रै परेको छ ।
अर्थ मन्त्री जनादर्न शर्माले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका थिए ।
त्यसमा स्वास्थ्यको हिस्सा १ खर्ब ३ अर्व १८ करोड रुपैयाँ ( ५.७५ प्रतिशत) रहेको छ । तत्कालिन अर्थ मन्त्री विष्णु पौडेलले गतवर्ष कुल १६ खर्व ४७ अर्व ५७ करोडको बजेट प्रस्तुत गर्दा स्वास्थ्यमा १ खर्ब ११ अर्व ५७ करोड रुपैयाँ ( ७.४५ प्रतिशत) छुट्याएका थिए ।
कतिपयले त्यसबेला कोरोना महामारीका कारण सरकारले बाध्य भएर बजेट बढी छुट्याएको समेत टिप्पणी गरेका छन् । तर स्वास्थ्यका जानिफकारहरुले भने स्वास्थ्य क्षेत्रको बजेट घट्नु दुखद रहेको भन्दै स्वास्थ्यलाई महत्व नबुझेको प्रतिक्रिया दिएका छन् ।
सम्पर्क इमेल : [email protected]