कोभिडविरुद्ध लड्न र त्यसबिरुद्ध खोपमा प्रेरित गर्न जोखिम सञ्चार तथा सामुदायिक प्रणाली आवश्यक
काठमाडौँ, ११ जेठ । विभिन्न संगठनहरूले कोभिड–१९ को खतरा विरुद्ध लड्न र मानिसहरूलाई खोप लिन प्रेरीत गर्न मजबूत जोखिम सञ्चार र सामुदायिक सहभागिता प्रणालीको आह्वान गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित राष्ट्रिय स्तरको कोभिड–१९ तथा खोप अपटेक रिस्क कम्युनिकेशन एण्ड कम्युनिटी इन्गेजमेन्ट (आरसीसीई) विषयक कार्यशाला सहभागी संस्थाका प्रतिनिधिहरुले यस्तो आव्हान गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्र र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरूको संजालसँगको समन्वयमा सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा भएको कार्यशालामा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनील राज शर्माले भने, “कोभिड–१९ को खतरा अझै छ, र हामी संगठनहरूलाई सरकारसँगको सहकार्यमा काम गर्न र खोप ग्रहण बढाउन प्रमाणद्वारा निर्देशित अधिक समुदाय केन्द्रित जोखिम संचार र सामुदायिक सहभागिता सम्बन्धी कार्यहरू डिजाइन गर्न आह्वान गर्छौं ।”
सेभ द चिल्ड्रेनकी कार्यकारी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले कोभिड–१९ र यसको खोप सम्बन्धी जनचेतना फैलाउने कार्यमा सरकार र विकास साझेदार संस्थाले हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै भनिन्, “मैले कोभिड–१९ को खोपले मानिसहरूमा आशा जगाएको देखेकी छु र कसरी खोपले विषेश गरी बालबालिकाको जीवन रक्षा गर्छ भन्ने पनि देखेकी छु । त्यसैले, भविष्य प्रतिको आशा र विश्वास कायम राख्न हामी सबैले मिलेर कार्य गर्नु आवश्यक छ ।”
उनले सरकार र संघ संस्था सबै मिलेर प्रत्येक व्यक्तिलाई खोपको दायरामा ल्याएर कोभिड–१९ विरुद्धको लडाईँ साझा रुपमा लड्नु पर्ने कुरामा जोड दिईन् ।
कार्यक्रममा सहभागीहरूले मिडिया, सामुदायिक सहभागिता र आउटरीच, प्रमाण निर्माण र सामाजिक मान्यता, अनुसन्धान,कोभिड–१९ मा प्रयोग भएका सर्वोत्तम अभ्यासहरू र जोखिम संचार र सामुदायिक सहभागिता सम्बन्धी कार्यहरू डिजाइन गर्न आवश्यक सामाजिक मूल्य मान्यता सम्बन्धी अनुसन्धान बारे छलफल गरे।
कोभिड–१९ सम्बन्धी गरिएका आरसीसीई का कार्यक्रमहरूमा चुनौती, अन्तर र अवसरहरूबारे छलफल गर्न अभ्यास समुदायको आवश्यकता छ भन्ने कुरामा सहभागीहरू सहमत भए ।
सम्पर्क इमेल : [email protected]