परिषद्ले गरेको ‘लाइसेन्स खारेजीको निर्णय’ र यसले उब्जाएका प्रश्नहरु

ईच्छा नहुँदा नहुँदै पनि नर्सिङ पेशा र यसका नेतृत्व बर्गले पछिल्लो समय गलत भुलभुलैयाको बाटो समाएपछि यसबारे केही कुरा लेख्न बाध्य भएको छु

यो लेख पढि सकेपछि नेपाल नर्सिङ परिषद् र त्यसलाई पृष्ठ पोषण गर्ने अन्य संस्थाहरु (नेपाल नर्सिङ सङ्घ र मिडसन) ले यस्तो कुरा किन लेखेको भनेर प्रतिप्रश्न गर्न पनि सक्दछन् ।

बिना बादलको वर्षा हुनु, दिउँसो मध्यान्ह प्रताप सूर्यको प्रकाशमा मैंन बत्ती बाल्नु, बिना पूजा आरतीको घन्टी बजाउनु, नेपाली समाजको संस्कृति र विश्वासमा सहि सगुन मानिदैन ।

हिजो आज यस्तै विकराल र अनौठो गतिविधि मडारिई रहेको छ नर्सिङ क्षेत्रमा ।

अझ यसलाई समग्र स्वास्थ्य सेवा प्रणालीलाई नै क्षतविक्षत पार्ने गरी मडारिरहेको कालो बादल हो भनेर समेत बुझ्न सकिन्छ ।
यति भनिसकेपछि यहाँहरुले पक्कै पनि विषय बस्तु बुझिसक्नु भयो । हो, मैले आज नेपाल नर्सिङ परिषदले हालैका दिनमा गरेको एउटा निर्णयको विषयमा आफ्नो धारणा राख्दै छु ।

नर्सिङ सङ्घमा दर्ता भएका देशभरका नर्सहरूबाट अत्यधिक रुपमा अमूल्य मत पाएर निर्वाचित वरिष्ठ उपाध्यक्षको नाताले पनि यो विषयमा मैले आफ्नो धारणा राख्नै पर्ने भयो । किनभने परिषदको निर्णय पछि धेरै साथीहरुले फोन गर्नु भयो, मेरो धारणा सोध्नु भयो । चिन्ता व्यक्त गर्नु भयो । समाधानको उपाय केही छ कि भनेर छलफल समेत गर्नु भयो । यो म प्रति देखाएको चासो भन्दा पनि नर्सिङ सेवा र पेशा प्रति देखाएको चासो हो भनेर म बुझ्दछु ।

मैले अर्कोे कुरा पनि स्पष्ट पार्न चाहेँ, कि परिषदको निर्णय विवादित बनाउन वा पेशाप्रति आँच आउने कार्य गर्ने जो सुकैलाई जोगाउनका लागि यो लेख लेखेको पनि होइन । तर, यस्ता निर्णयले के कस्ता असर वा प्रभाव पार्दछ ? यस्ता निर्णय गर्दा कसरी सावधानी अपनाउनु पर्दछ ? वा यस्तो निर्णय गर्नुको सट्टा अरु विकल्पहरु थिए कि थिएनन् वा हेरिए कि हेरिएनन् भन्ने बारेमा पनि सोच विचार गर्नुपर्छ भन्ने मात्रै हो ।

अव विषयमा प्रवेश गरौँ, पछिल्लो निर्णयको सन्दर्भबाट । अर्थात एक जना नर्सको लाइसेन्स खारेजीको प्रशंगबाट ।

खासमा नर्सिङमा विज्ञता अनुरूप कार्य क्षेत्रमा निपूर्णता ल्याउन असल व्यावहारिकता अपनाउनु पर्ने, नर्सिङको कार्य क्षेत्र समय सापेक्षिक अति वैज्ञानिक, अति व्यावहारिक फराकिलो बनाउँदै लैजानु पर्नेमा यस्तो बाँझिने खालको अनावश्यक कुरोको निर्णयमा अल्झिरहनु नेतृत्व बर्गका लागि कमजोरी हो । यसले नर्सिङ जगत नेतृत्वबिहीन छ भन्ने दरो प्रमाण देखाएको छ । यो अवस्थाको उपज नर्स नेतृत्व वर्गको संकिर्ण मनस्थितिबाट कसरी गुज्रेका रहेछन् भन्ने पनि छर्लङ्ग पारेको छ ।

हो आफ्नो पेशामा आँच आउने कुनै पनि कार्य कदापी गर्न दिनु हुँदैन र क्षम्य पनि हुनु हुँदैन तर आफैमा बाँझिने खालको निर्णय लेखेर आफैलाई कमजोर हुने गरी प्रस्तुत हुनु सबैभन्दा नेतृत्वको गम्भीर गल्ती हो ।

पछिल्लो निर्णयलाई नै हेरौँ न, यति ठूलो निर्णय गर्दा फलानो अस्पतालको नि. मेसु भनेर नाम तोकिएको छ । कारवाही गर्दा फलानो अस्पतालको मेसुले भन्यो त्यसकारण भनेर किन उल्लेख गर्नु पर्छ ? मेसुको नाम किन लेख्ने ? कारवाही गर्ने नै हो भने यति मितिको स प्रमाण यस्ता घटनाका विवरणहरु, त्यसको छानबिन र आवश्यक कारवाहीको लागि काटिएको परिपत्रहरु साथै नेपाल नर्सिङ सङ्घले गठन गरिएको छानबिन टोलीले दिएको विवरणहरुको आधारमा र आम नर्सहरुको सप्रमाण गुनासोको आधारमा कारवाही अगाडि बढाउँदा वैज्ञानिक र चली आएको मूल्यमान्यता वैज्ञानिक पद्धति अनुकरण गर्दै यो निर्णय लिईयो भन्न सकिन्न किन सकिएन ?

अनि व्यवहारकै कारणले यति ठूलो निर्णय लिनु अघि आरोपित व्यक्तिलाई ब्यवहार सुधारको लागि मौका दियौँ ? मौका दिएको भए, पटक पटक मौका दिदा पनि व्यवहारमा परिवर्तन नगरेको कारण वा पटक पटक पठाएका पत्रहरुको चित्त बुझ्दो जवाफ नआएपछि यस्तो निर्णय गरियो र यो परिषदको पूर्णकालीन सदस्यहरूको बहुमतको निर्णय अनुरुप छ भनेर भन्न किन नसकेको ?

त्यस्तै पेशागत निर्णय गर्दा आफ्नै पेशामा आबद्ध विज्ञहरुको प्रमुख भूमिकालाई प्रशय दिएको हुनु पर्दछ। यहाँ पेशा प्रति आँच आउने कार्य गर्ने जो कसैलाई जोगाउन वा परिषदको निर्णयलाई विवादित बनाउन यो लेख लेखिएको पनि होइन तर प्रक्रियागत अलि भएन कि, समय सान्दर्भिक भएन कि भन्न मात्रै खोजिएको हो।

अर्को अचम्म लाग्दो कुरा नर्सिङ कलेजहरूमा, ठूला ठूला अस्पतालहरुमा, अन्य नर्सिङ होम र स्वास्थ्य संस्थाहरुमा नर्सहरुलाई बलिको बोका बनाएको बारे नर्सिङ परिषद, नर्सिङ सङ्घ र मिडसन किन बोल्दैनन् ? त्यता तिर पनि त जिम्मेवार निकायको ध्यान जानु पर्ने थियो होईन र ?

नर्सिङ सङ्घको प्रमुख पदमा आसिन नर्सहरु, देशभरी कै प्रतिनिधित्व गर्ने अर्को समानान्तर संस्था (गोनान) को प्रमुख पदमा आसिन हुँदा त्यो बारे किन बोल्दैनन् रु त्यस्तै यस्ता गलत पद्दतिको र गलत प्रबृतिको पक्षमा खुलेर वकालत गर्ने सिनियर विज्ञ नर्सहरुले पेशागत एकताका लागि साझा आवाज बुलन्द गर्न किन सक्दैनन् ? यसअघि मिडियामा छाउनेहरु यसबारे किन चुप लागेर बसेका छन् ?

नर्सिङ सङ्घको केन्द्रीय सदस्य जो निजी संस्थामा नर्सिङ शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ उहाँलाई कामबाट निकालिँदा किन चुप लागेर बस्दछन् ? किन एक शब्द पनि बोल्दैनन् ? यहाँ नर्सिङ परिषद, मिडसन र नर्सिङ सङ्घको पदेन् सदस्यको हैसियतले दवाव दिन किन सक्दैनन् ?

यो मात्र नर्सिङ सङ्घ, मिडसन र नर्सिङ परिषदको कुरो होइन आम नर्सहरुको पनि उत्तिकै अहम भूमिकाको ठूलो नै सवाल छ।

यो पछिल्लो निर्णयले नचाहिने कुरोमा बढी बाठो बन्ने, चाहिने कुरोमा दिमाग शून्य हुने गलत आदतको मानसिक दीर्घ रोगी हावी हुने प्रबृत्ति नर्सिङ पेशामा आबद्द आफुलाई विद्वान विज्ञ हुँ भनेर दावी गर्नेबीच बढ्दै गएको छ । पेशागत हक र हितको लागि एक हुन नसकेको बेला कतिपयले अहिले नर्सिङ पेशालाई आफ्नो व्यक्तिगत फाइदा, अति स्वार्थी आत्मपरक रुपमा प्रयोजन गर्दै गइरहेको देखिएको छ ।

धेरै पहिले मलाई प्रवीणता प्रमाण पत्र प्रथम वर्ष अध्ययन गर्दा हाडजोर्नी विज्ञ चिकित्सकले यो कुरो बारे बारम्बार भन्ने गर्नु हुन्थ्यो। आज झलझल उहाँको याद आईरहेको छ।

  • कतै हाम्रो नर्सिङ स्कुलिङ, हाम्रो सामाजिक, सांस्कृतिक, भौगोलिक र आर्थिक बनौट अनुरूप मौलिक ढाँचामा परिवर्तन गराउन असक्षम भएको त होईन ?
  • कतै यो हाम्रो पाठ्यक्रम समय सापेक्ष परिमार्जित गर्न नसकिएको परिणाम त होईन् ?
  •  कतै यो बिग्रँदो अस्थिर राजनीतिको एउटा प्रतिबिम्ब त होईन ?

जो पीडित (सजायको भागी) आफै जनस्वास्थ्य विज्ञ छन्, जो आफै नर्सिङ परिषदको निर्वाचित सदस्य छन् उनलाई नर्सिङको आचार संहिताबारे बोध गराउन यहाँ आवश्यक ठान्दिनँ। तर उहाँबाट नै गरिने केही कार्यहरू नर्सिङ परिषदको नीति नियम बिरुद्द विरोधाभाष हुँदा प्रश्न उठ्नु स्वभाविक नै हुन् आउँदछ, उहाँप्रति लाग्दै आएका केही आरोपहरु पनि छन् जस्तो क,

  •  खुल्ला रुपमा कुनै ठूलो राम्रो काम गरिएको, स्वास्थ्य क्षेत्रमा उदाउँदो संस्थाहरुलाई धराशायी बनाउने बदनियत पूर्वक सुनियोजित तवरले आम सामाजिक संजालमा गाली बेईज्जत गर्नु,
  • कुनै एक वा त्यो भन्दा बढी आधिकारिक संस्थाको सम्मानित व्यक्तिलाई त्यस्तै गाली बेईज्जत गर्नु
  • सीधा सोझा भर्खरका जूनियर नर्सहरुलाई भड्काएर उनीहरूलाई आफ्नो स्वार्थ सिद्ध गर्न गलत प्रयोजन गर्नु
  • नर्सिङ सङ्घको बिरुद्द आमरण भोख हडतालमा बस्न उकास्नु
  • नर्सिङ सङ्घको भवन तोडफोड गर्न उकास्नु
  • अति सिनियर सबैको सम्मानित नर्स माथि ढुङ्गा प्रहार गर्नु
  • राजधानीको मुटु ट्रमा अस्पतालमा पेशा कै बेईज्जत हुने गरी गाली बेईज्जत गर्नु
  • आफै परिषदको शिक्षा क्षेत्रको लाइसेंस फांटमा रहनु र आफैले कोचिङ सेन्टर चलाएर यति प्रतिशत पास गराउन सफल भएको भनी व्यापक प्रचार प्रसार गर्नु

यस्तो गर्न पाइन्छ ? इथिक्सले दिन्छ ?  अहिले मिडियामा छाउने नर्सहरुलाई सोध्न मन लागेको छ।

अर्को कुरा यो निर्णय धेरै नै पहिले हुनु पर्ने थियो, केही बाहिर पानी माथि ओभानो हुने र उचाल्नेहरुले पनि आफै निर्णयमा दस्तखत गरी कार्यान्वयन मात्र नगरिएको भन्ने जानकारी समेत आएको छ । यसको कार्यान्वयन पछि पूर्णता कार्यसमितिले पाएर मात्र भाको मात्र हो। त्यसैले अहिले नर्सिङ पेशा माझमा छाएको शून्यता चिर्नु पर्ने छ त्यसैले यो लेख पस्किन बाध्य परेको हो ।

कति शिक्षण संस्था नर्सिङ कलेज, मेडिकल कलेजहरुले कोरोना अवधिमा विद्यार्थीहरुसंग पूरा शुल्क असुली गर्ने गरे तर नर्सिङ शिक्षकहरुलाई जब्बरजस्ति कतिले बिदामा बस्न लागाए, कलेज बन्द गरे, संरक्षित बिदा कटाए र तलब दिएनन्। यसबारे किन नर्सिङ सङ्घ, मिडसन र नर्सिङ परिषद बोल्दैन ?
मिडियामा छाउने नर्सहरुले नर्सिङ सङ्घलाई आवाज बुलन्द गर्नका लागि किन सघाउँदैनन् ।

संस्था घाटामा गए त तलब दिन मिलेन रे तर मुनाफा कमाउनेले पनि दिएनन्, किन आवाज उठेन ?

राज्यको दोहरो सुविधा लिने र दावी गर्ने संस्था पनि नदेखिएको होइन, केही कुरो नमिलेर सूचना बाहिरिएको हुन सक्दछ। तर यो बारे किन बोल्दैनन् मुख्य जिम्मेवार पदाधिकारीहरु । नर्सिङका प्रमुख पदमा आसिन क्याम्पस प्रमुख, मेंट्रोनहरुलाई मुनाफा आर्जन गराउने जीवित कठपुतली बनाउँदा किन त्यो बारे कुनै ठोस नीति नियम बनाउन सक्दैन यी नर्सिङ सम्बन्धी आधिकारिक पेशागत संघ संस्थाहरू ?

त्यस्तै धमाधम प्रवीणता प्रमाण पत्र तह नर्सिङ कलेजहरू बन्द हुँदै गएको छ, बी एस्सी, बी एन एस मा नर्सिङ कलेजले पूरा विद्यार्थी भर्ना गर्न पाईरहेको छैन, मेडिकल शिक्षा आयोगको नीति नियम समय सापेक्षित वैज्ञानिक हुनु पर्नेमा नर्सिङ सम्बन्धी अति नै बेमेल छ। यो सम्बन्धी एक भएर पुन ः सच्याउनु पर्नेमा यसरी विवादमा अल्झिनु राम्रो होइन।

कलेजहरू विद्यार्थी विहिन हुँदै जानु, नर्सिङ शिक्षकहरु बेरोजगार हुदै जानु, अस्पतालमा नर्सहरू शोषित पीडित हुँदै जानु, दशौं हजार नर्सहरू वर्षेनी बिदेसिनु बाध्य पारीन्दै जानु पक्कै पनि नर्सिङ नेतृत्वको सही मार्ग निर्देशन नहुनु हो। नर्सिङ पेशामा सही नेतृत्वको अभाव हुनु हो। त्यसैले सबै एक भएर एक पटक सोच्न बाध्य बनाएको छ, कसरी नर्सिङमा नेतृत्वको विकास गर्ने, साथै भएका सीमित नेतृत्व वर्गको संरक्षण र सम्बर्द्धन गर्न सम्पूर्ण नर्सहरु एक हुनु अति आवश्यक छ। यो कांग्रेस, एमाले, माओवादी राजावादी र मधेसवादी दलको नाममा नर्सहरू विभाजित हुनुहुन्न । हो हुनसक्दछ कुनै न कुनै दलमा आबद्ध होला तर पेशाको सवालमा हामी सम्पूर्ण नर्सहरू एक छौ रही रहने छौ।

आज बेमौसमको बाजा त्यो पनि ओरालो लागेको मृगलाई खेद्न झै बजाउने किन गर्दछन्, यक्ष प्रश्न यो आम नर्सहरुबाट तेर्सिन आउने गरेको छ।

आफ्ना पुराना साथी दौंतरी छुट्दै अर्को समूहमा सामेल हुन गएकी, त्यस्तै उहाँसंग सहकार्य गर्ने साथीहरू आफैले कारवाही गरिएको भनेर आम सामाजिक सञ्जाल मिडियामा छाईसकेको, हिजो आज नर्सिङ पेशाको द्वन्दबाट टाढा रही बसेकीलाई अहिले आएर कारवाही किन गर्नु पर्‍यो ?
यो कारवाही गलत हो भनिएको पनि होइन, समय सान्दर्भिक होइन मात्र भनेको हो ।

कतै, नाङ्लो ठटाएर हात्तीलाई तर्साएको त होइन ?

कतै, बुढी मरी भनेको त काल पल्केकी त होइन, भन्ने अनुभूति आम नर्सहरुमा पर्ने गएको छ, त्यो स्वाभाविक पनि हुन सक्दछ।
त्यसैले म फेरी पनि भन्छु, खबरदार, यहाँहरुलाई हामी नै नर्सिङमा सर्वेसर्वा हौ भन्ने लागेको छ र त्यसैको उपज नै यो निर्णय हो भने, त्यसको प्रतिफल यहाँहरुलाई अति प्रत्युपादक हुनेछ।

नर्सिङ सङ्घको आधिकारिक १९ औं कार्यकारीणी समितिको वरिष्ठ उपाध्यक्षको हैसियतले आम नर्सहरू माझ यो माथि उल्लेखित प्रश्न राख्ने गर्दछु। कतिले नर्सिङ पेशाबारे वकालत गर्दै सत्य कुरो लेख्दा, सत्य कुरो बोल्दा विशेष क्षमता भएका व्यक्तिहरुले बाू भन्न पाए जस्तो भन्ने गरेका छन्, कतिले वरिष्ठ उपाध्यक्षले अध्यक्ष जस्तो आधिकारिक हैसियत हुँदैन त्यसैले लेख्न र बोल्न मिल्दैन भनेका छन् ।

अझ त्यो समूहले नियतवश नै आचार संहिता लागू गराई पदच्यूत गराउने भित्री नियतले विधान संसोधन गरी उनीहरूको चाहना अनुरूप बनाउन दवाव दिंदै आएको छ। तर सत्य कुरो लेख्न, सत्य कुरो बोल्न, नर्सिङ पेशालाई आम समुदायको माझ मर्यादित र सांगठनिक संरचना विकास गर्न पछि पर्ने छैन जब सम्म श्वास र मुटुको धडकन चलि रहन्छ।

त्यसैले कुनै निर्णय सही हुँदा हुँदै पनि समय सापेक्षित नहुँदा उल्टो असर आम मानिसमा पर्न जानेछ। समय, सन्दर्भ र आम जनचाहना लाई मध्य नजर गरी त्यही अनुरुप निर्णय हुनु पर्दछ। कसैलाई फसाउने छु, कसैको बदनाम गराउने छु वा यो मौका हो बदला लिनेछु भन्ने खालको निर्णय कसैले पनि लिनु हुँदैन। साथै यो विश्वास पनि छ त्यस्तो बदनियतपूर्वक यो निर्णय पनि भएको होइन। यदि यसमा गलत नियत छ भने कसैलाई यसले हित गर्ने छैन् ।


Leave a Reply

Your email address will not be published.