स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बने डा. अनुज भट्टचन

अब स्वास्थ्यका तीनवटै विभागमा निमित्त महानिर्देशक !
608
Shares

काठमाडौँ, ३० बैशाख । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले पाएका छन् ।

स्वास्थ्य मन्त्री डा निशा मेहताले गत सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा भट्टचनलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकार सहित निमित्त महानिर्देशकको भूमिकामा रहेर काम गर्ने जिम्मेवारी तोकेकी हुन् ।

भट्टचन एघारौँ तहका अधिकृत हुन् । उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक थिए ।

यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा रहेका डा केशरबहादुर ढकालले आफू स्वास्थ्य उपचार लामो समय विदामा रहनु पर्ने भन्दै २२ बैशाख देखि डा भट्टचनलाई कार्यवहाकको जिम्मेवारी तोकेका थिए ।

‘त्यसबेला आफू नहुँदाको बखतमा बरिष्ठताको आधारमा एक जनालाई कार्यवहाक दिने विषय थियो र डा भट्टचनले सो जिम्मेवारी पाउनु भएको थियो । तर गत सोमबार मन्त्री मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै पूर्ण अधिकार सहितको निमित्त महानिर्देशक तोक्नु भएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।

डा भट्टचनले पनि आफूले गत सोमबार पत्र बुझेको र जिम्मेवारी सम्हालेको बताए ।

अब स्वास्थ्यका तीनवटै विभागमा निमित्त महानिर्देशक !

संयोग भन्नु पर्छ अहिले स्वास्थ्य मन्त्रालय अन्तर्गतका तीनवटै विभागमा निमित्त महानिर्देशक रहेका छन् ।

तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा  डा. श्यामबाबु यादवलाई निमित्त महानिर्देशक बनाएका थिए ।

अहिलेकी स्वास्थ्य मन्त्री मेहताले औषधी व्यवस्था विभागमा  शिवानी खड्गीलाई निमित्त महानिर्देशक बनाएकी छन् भने यता स्वास्थ्य सेवा विभागमा पनि डा अनुज भट्टचनले निमित्त महानिर्देशकको रुपमा जिम्मेवारी पाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *