वीरले १ बैशाख देखि दुवाकोटबाट समेत प्रयोगशाला र एक्सरे सेवा सुरु गर्ने
काठमाडौँ, ८ चैत । भक्तपुरको दुवाकोटमा अत्याधुनिक अस्तपाल निर्माण गर्ने योजना अघि बढाउन नसकेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को वीर अस्पतालले आगामी १ बैशाख देखि त्यस ठाँउबाट प्रयोगशाला र एक्सरे सेवा उपलव्ध गराउने भएको छ ।
मंगलबार दुवाकोट प्रोजेक्टको स्थलगत अनुगमनमा निस्केका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्थानीय जनतालाई लक्षित गरी वीरले तत्कालका लागि दुईवटा सेवा सुरु गर्ने बताए ।
‘सरकारले दुवाकोटमा अत्याधुनिक नमूना अस्पताल बनाउने योजना त छ नै त्यो नबन्दासम्म यहाँबाट ल्याव र एक्सरे सेवा भने जारी नै रहन्छ । स्थानीयको माग बमोजिम नै यो निर्णय लिएका हौँ,’ उनले भने ।
सो क्रममा वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन बमोजिम आफुहरु सेवा दिन तत्पर रहेको बताए ।
मंगलबार अनुगमनका लागि स्वास्थ्य मन्त्री खतिवडाको नेतृत्वमा स्वास्थ्य सचिवद्धय देवकुमारी गुरागाँई र डा रोशन पोखरेल, नीति योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल, न्याम्सका उपकुलपति प्राडा देवनारायण साह, वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा बस्नेत लगायतको टोली दुवाकोट पुगेको थियो ।
टोलीलाई चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र लगायतले स्वागत गरेका थिए ।
सम्पर्क इमेल : [email protected]