नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन, १ भदौ । नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपख हुने चहलपहलसँगै मानव सेवाको अर्को गतिविधि पनि देखिन थालेको छ । यहाँ हरेक साँझ सञ्चालन हुँदै आएको रक्तदान अभियानमार्फत नियमित रूपमा रगत सङ्कलन भइरहेको छ ।
साँझको समयमा नदी किनारमा रहेको चौतारीको छेउमा सानो पाल टाँगेर सञ्चालन गरिने अभियानमा स्वास्थ्य प्राविधिकले रक्तदाताको स्वास्थ्य परीक्षण गरी रगत सङ्कलन गरिरहेका हुन्छन् । नारायणी किनारमा घुम्न आउने सर्वसाधारण स्वतःस्फूर्त रूपमा रक्तदानमा सहभागी हुने गरेका छन् ।
दैनिक साँझ यहाँ रक्तदानका लागि सर्वसाधारणको उत्साहजनक सहभागिता हुने अभियानका संयोजक राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।‘मानवताका लागि रक्त अभियान’ नाम दिइएको उक्त अभियानका संयोजक पौडेल रहेका छन् । अभियानमा उनीसँगै निःस्वार्थ रूपमा मानवीय सेवामा खटिएका स्वयंसेवी परिचालित छन् ।
वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवनको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा अभियान सञ्चालन भइरहेको पौडेलले जानकारी दिए ।
अभियानका संयोजक पौडेलले यो विशुद्ध मानवीय सेवाको उद्देश्यले सञ्चालन गरिएको बताए । “सुरुमा यहाँ आउने व्यक्तिहरू रक्तदानका लागि इच्छुक हुनुहोला कि नहोला भन्नेमा हामी अन्योलमा थियौँ । तर पहिलो दिनदेखि नै रक्तदानप्रति देखिएको उत्साहले हामीलाई थप हौसला दिएको छ”, उनले भने । बिरामीका लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिनु र मानवीय सेवामा सहयोग पुर्याउनु अभियानको मुख्य उद्देश्य रहेको उनले बताए ।
गत असार २१ गते परीक्षणका रूपमा नारायणी नदी किनारमा घुम्ती रक्तदान शिविर सुरु गरिएको थियो । पौडेलका अनुसार अभियान ३०औँ संस्करणसम्म आइपुग्दा ६१९ पिन्ट रगत सङ्कलन भइसकेको छ । २९औँ संस्करणसम्म ५९४ पिन्ट रगत सङ्कलन भएको थियो ।
उनले भारी वर्षाका कारण समस्या हुने र अन्य विशेष अवस्थाबाहेकको समयमा नारायणी नदी किनारमा हरेक साँझ ४ः०० बजेदेखि ८ः०० बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए । “सुरुका दिनमा भरतपुरबाट केही रक्तदाता लिएर आएका थियौँ । तर यहाँका स्थानीयको उत्साहले नारायणी किनारबाट नियमित रूपमा रक्त सङ्कलन गर्न सकिने प्रमाणित भएको छ”, उनले भने ।
नारायणी नदी किनार रगत सङ्कलनका लागि उपयुक्त स्थान भएको संयोजक पौडेलको भनाइ छ । यहाँ चितवन र नवलपुरबाट मात्रै नभई अन्य जिल्लाबाट आउने व्यक्तिसमेत रक्तदानमा सहभागी हुने गरेका छन् । रक्तदान गर्न इच्छुक हुँदाहुँदै पनि अवसर नपाएका व्यक्तिले नारायणी किनारमा सहज रूपमा रक्तदान गर्न पाइरहेका पौडेलले बताए ।
बिदामा नेपाल आएका विदेश बस्नेहरूले अभियानमा सहभागी भएर रक्तदान गरिरहेका पौडेलले जानकारी दिए । “केही दिनअघि विदेशबाट आएका दुई महिलाले पनि यहाँ आएर रक्तदान गरे । उनहरू रक्तदान गर्न पाउँदा निकै खुसी भए । यसले हामीलाई पनि उत्साहित बनाएको छ”, उनले भने ।
अभियानमा रक्तदानका लागि कुनै पूर्व जानकारीबिना स्वतःस्फूर्त रूपमा आउने व्यक्तिको सङ्ख्यासमेत बढ्दै गएको उनले बताए । रगतको आवश्यकता पर्ने बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउन अभियानले सहयोग पुर्याउने अभियानको विश्वास छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




