सन्दर्भ : विश्व मुख स्वास्थ्य दिवस

दाँत तथा मुख स्वास्थ्यको मूल्य र मान्यता बुझौं

– डा. प्रकाश बुढाथोकी

रोग तथा समस्याको मात्रा तथ्यांक र विभिन्न खोज अनुसन्धानलाई आधार मान्दा नेपाल मात्रै होइन विश्वमै दाँत तथा मुख स्वास्थ्य सम्वन्धी समस्या बढी देखिन्छ ।  दन्तहर्षा रुघाखोकी भन्दा बढी पाईन्छ ।

गाउँघरमा गिजा सम्वन्धी रोग, त्यसपछि दाँत खिइने रोग, प्रमुख रूपमा देखा पर्दछ भने शहर बजारमा दाँत किराले खाने त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्रहरू हुने समस्या बढी देखिएको छ ।

दन्त स्वास्थ्यका प्रमुख रोगहरूमा दन्त सड्न, दन्तहर्षा, पाइरिया, दाँत सिरिङ सिरिङ गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत मुखमा घाउ खटिरा र मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र देखा पर्नुका साथै यी सामान्य रोगहरूबाट उत्पन्न भएका जटिलताहरू गाला वा चिउडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएकोे, तथा थोेते भएको पनि त्यतिकै भेटिन्छन् । प्रकोपको कुरा गर्दा दन्तसड्नको मात्र उपचार एकैपटक गर्न खोजियो भने अहिलेको नेपालको वार्षिक वजेटको १० गुणा लाग्न सक्ने अनुमान छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ७ अर्ब जनसंख्या मध्ये ६ अर्ब ७५ करोड दाँतको रोगबाट पिडीत छन् । विश्वका अधिकांश मुलुकमा विशेषगरी स्कुल जाने उमेरका बालवालिका ९० प्रतिशत बढी दन्तरोगी छन् ।

अन्य रोगहरूको तुलनामा दाँत एवं मुखको रोगलाई गम्भीर रुपमा नलिने हाम्रो प्रबृत्ति, सरकारी तथा गैरसरकारी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दात तथा मुखका रोगहरूबाट मानिसको तत्कालै इहलीला समाप्त भएको देखिदैन ।

त्यस्तै प्रायः जसो दाँत र मुखमा लाग्ने रोगले लगातार दुःख दिने समस्याको रूपमा नभई बीच बीचमा मात्र बल्झिने प्रकृतिका हुन्छन । अशिक्षा, गरिवी र जनचेतनाको अभावका कारणले दुखाई बढेपछि र यो रोगले जटिलता निम्त्याएपछि मात्र स्वास्थ्य संस्थाको ढोका ढकढकाउने वा चिकित्सक कहाँ पुग्ने गर्दछन् । परिणामतः रोग निको हुन लामो समय लाग्ने, कठिन प्रक्रिया अपनाउन पर्ने भएकोले दन्त्य उपचार सबैलाई महंगो पनि लागिरहेको छ ।

मुख आयतनले सानो अंग भए पनि महत्वको आधारमा ज्यादै ठूलो एवं अहंम् अंग हो, किनभने मुख शरीरको प्रवेशद्वार हो । स्वच्छ र सफा मुख नै स्वस्थ जीवनको आधार हो । त्यस्तै मुखका अङ्ग—प्रत्यङ्ग र दाँतमा देखिने रोगहरू मुखसँगै मात्र सम्बन्धित नहुन सक्छन, शरीरका अंग—प्रत्यंग वा प्रणालीसँग सम्बन्धित रोगहरूको प्रतिविम्बका रुपमा मुखमा देखिन्छन् । त्यही भएर नै मुखलाई शरीरको ऐना पनि भन्ने गरिन्छ । दादुरा आउनु भन्दा २—४ दिन पहिले मुखमा कप्लिक स्पट,एच.आई.भी.एडसमा सबैभन्दा पहिले मुखमा कापोसिस सार्कोमा, मधुमेहीमा फलफुलको गन्धजस्तो सासमा गन्ध आउने, रक्त अल्पतामा मुख र जिब्रोको सुजन, कलेजोको रोगमा गिजाबाट रगत आउने, मुखबाट बिग्रेको अण्डाको गन्ध आउने हुन्छ ।

दन्त लेउमा भएको ३६५ भन्दा बढी प्रकारका मध्ये दर्जनौ ब्याक्टेरियाले गिजाको रोग निम्त्याउँछ । अस्वस्थ गिजामा पनि यस्ता ब्याक्टेरियाहरु हुन्छन् । गिजामा भएको रक्तनलीहरु मार्फत ब्याक्टेरियाहरु शरीर भरी पुग्दछन् । केही ब्याक्टेरियाले बगिरहेको रगतलाई जमाई क्लट बनाउँछन् । उक्त क्लटले सानो भए विभिन्न अंगहरुलाई रगत पुर्याउनमा कमी र क्लट ठूलो भए आघात नै बनाउन सक्छ । यस्तो घटना मुटुको नलीमा भए हृदयाघात, दिमागको रक्तनलीमा भए स्ट्रोक र पक्षघात, मिर्गाेलाका रक्तनलीमा भए मिर्गाेला फेल हुनसक्छ ।

जन्मदादेखि नै मुटुको समस्या भएका, बाथरोग भएका, प्रोस्थेटिक भल्भ भएका बिरामीहरुले झनै गिजा तथा मुखको सरसफाई र दन्त उपचारमा ध्यान नदिंदा सब—एकयुट ब्याक्टेरियल इन्डोकार्डाइटाइटिस रोग निम्तिन सक्छ ।

समयमै ध्यान दिऔँ
दाँत तथा मुखका सामान्य रोग तथा समस्याले जति ढिलो भयो, त्यतिनै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महंगो पनि हुनेगर्छ । दाँत किराले खाने, दन्तहर्षा र पाइरिया जस्ता सामान्य रोगबाट स्पेस संक्रमण हुन गई पछि गएर खाद्यनली र सास फेर्ने नली थिचीन गई सास फेर्न नसकी मृत्यु हुनसक्छ ।

सेलुलाइटीस, पिनास र दिमागमा क्याभरनस साईनस थो्रम्बोसीससम्म हुनसक्छ । त्यसैगरी गिजा तथा मुख सम्वन्धी रोग भएका व्यक्तिमा, अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वास—प्रश्वास सम्वन्धी रोग–निमोनिया,दम, मुटुसम्वन्धी रोग, बाथज्बरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, ह्रदयाघात, मष्तिष्कघात हुने सम्भावना बढी हुन्छ ।

गर्भवती महिलामा दात तथा मुखको समस्या भए, समयभन्दा पहिलेनै बच्चा जन्मने र शारीरीक तथा मानसिक रूपले कमजोर वच्चाको जन्म हुने सम्भावना रहन्छ । धरिला, नमिलेका दाँत, लामोे समयसम्मको घाउखटिरा, रोग, फोेहर साथै सुर्तीजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समय सम्म भएमा मुखको क्यान्सर पनि हुनेगर्दछ ।

अस्ट्रेलियाको एक खोजमा दाँत र गिजाको स्वास्थ्यमा ध्यान नदिदा ढिलो गर्भाधारण हुने, बाँझोपना लगायत अनेकन प्रजनन स्वास्थ्यमा असर परेको प्रसस्त छ । गिजामा डेण्टल फ्लस नगर्दा गर्भधारणमा २ महिना ढिलो पारेको थियो । हुन त यसअघि नै पेरियोडेन्टल रोग र मुटु रोग, टाईप २ मधुमेह, गर्भपतन–मिसक्यारियज र पुरुषमा शुक्रकिटको गुणस्तर कमजोरसंग सम्बन्धित रहेको तथ्य आइसकेका छन् ।

विश्वमै सवैभन्दा बढी मानव समुदायलाई सताउने नसर्ने दीर्घकालिन प्रकृतिका रोगहरुमा मुखमा पाइने रोगहरु पर्दछन् । यी रोगहरुले पैदा गर्ने दुखाई, असहजता, कुरुपपना र कहिले काहि हुने मृत्युले मान्छेको गुणस्तरीय जीवनमा प्रभाव पार्दछ । यसले व्यक्ति, समाज र राज्यको जीवनमा अनावश्यक आर्थिक भार थप्दछ । तसर्थ मानव जीवनलाई सुखदायी बनाउन व्यक्ति, समाज र राज्यलाई आर्थिक बोझबाट बचाई गुणस्तरीय मानव जीवन बनाउनलाई समुदाय र राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले विश्व मुख स्वास्थ्य दिवस प्रत्येक वर्ष मार्च २० मा विश्वभरी मनाईदै आएको छ ।

रोकथाम
रोग लागिसकेपछि रोगको उपचार गर्नु भन्दा रोग लाग्ननै नदिनु अतिनै उत्तम तथा उचित हुन्छ । त्यसकारण दाँत एवं मुखको सर—सफाई,खानेकुरामा नियन्त्रण र नियमित दन्त परीक्षण व्यवहारत अपनाउनै पर्छ । मुख पनि हाम्रो शरीरको हात जस्तै व्यस्त अंग हो । खाना खानु अघि र पछि हात मुख धुनु जत्ति अनिवार्य छ, खाना खाईसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उत्तिनै अनिवार्य छ र गर्नु पर्दछ ।

टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग नगरौं । भिटामनी बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अकुराउँदै गरेका अन्नबाली, मूला, गाजर, बन्दागोबी, सकरखण्ड जस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गरौं । रेशादार, ताजा फलफुल, दुध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्नुपर्दछ ।

६–६ महिनामा दन्त परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ र दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण संभव हुन्छ ।

बालक जन्मेदेखी दन्त परीक्षण गराउन शुरु गर्नु पर्दछ र त्यस पछि नियमित रुपमा दन्त परीक्षण गराउने बानी बसाल्नु पर्दछ । समयमै सचेत भई १४४० मिनेटको एक दिनमा विहान खाना खाइसकेपछि ४ मिनेट र बेलुका सुत्नु अगाडि ४ मिनेट मुखको सरसफाईमा दिन सक्यौं भने करिब ९० प्रतिशत मुखका रोगहरुबाट मुक्त हुन सकिन्छ ।

अन्त्यमा,मुख स्वास्थ्यको महत्व बुझी गर्ब गरौ र मुख स्वास्थ्यमा संलग्न सवै सरोकारहरुलाई एक जुट हुन पनि हामी अनुरोध गर्दछौ ।

 


Leave a Reply

Your email address will not be published.