विनाशकारी बाढीपश्चात् गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास

44
Shares

गोसाईकुण्ड गाउँपालिका रसुवा जिल्लाको भौगोलिक रूपमा विकट तथा चीनसँगको सीमावर्ती क्षेत्रमा अवस्थित स्थानीय तह हो।

गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य सेवा, खोप, औषधि, मातृ तथा बाल स्वास्थ्य, दीर्घरोग व्यवस्थापन, जेष्ठ नागरीक स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, मनोसामाजिक परामर्शलगायतका स्वास्थ्य सेवाहरू नियमित रूपमा प्रवाह गर्दै आएको थियो।

तर मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोले गोसाईकुण्ड गाउँपालिकामा ठूलो जनधनको क्षति हुनुका साथै जनजीवन, भौतिक संरचना, यातायात, सञ्चार, व्यापार–व्यवसाय तथा सार्वजनिक सेवा प्रवाहमा गम्भीर प्रभाव पारेको छ।

यस विपद्ले गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीलाई समेत प्रत्यक्ष रूपमा प्रभावित बनाउँदै स्वास्थ्य संस्था, औषधि, उपकरण, स्वास्थ्य सामग्री तथा स्वास्थ्य सेवा प्रवाहमा ठूलो चुनौती सिर्जना गरेको छ।

विशेषगरी गोसाईकुण्ड गाउँपालिका-२ अन्तर्गत टिमुरे स्वास्थ्य चौकी, रसुवागढी हेल्थ डेस्क, गोसाईकुण्ड गाउँपालिका-५ अन्तर्गत स्याफ्रुबेँसी स्वास्थ्य चौकी तथा गाउँपालिका स्वास्थ्य स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। गाउँपालिकाको कार्यालय भवन, स्वास्थ्य संस्थाका भवन, औषधि, उपकरण, फर्निचर तथा अन्य स्वास्थ्य सामग्रीमा क्षति पुगेको छ।

यस विपद्का क्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, पर्यटक तथा व्यापार व्यवसायमा संलग्न व्यक्तिहरूसहित ठूलो जनधनको क्षति भएको छ। स्वास्थ्य क्षेत्रतर्फ ६ जना स्वास्थ्यकर्मी तथा ५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्पर्कविहीन/बेपत्ता भएको अवस्थाले स्वास्थ्य सेवा सञ्चालनमा थप गम्भीर चुनौती सिर्जना गरेको छ।

१. स्वास्थ्य सेवा प्रवाहमा देखिएका प्रमुख चुनौती

१.१ स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अभाव

विपद्का कारण केही स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्वयं प्रभावित हुनुका साथै केही सम्पर्कविहीन तथा बेपत्ता भएका छन्। सेवा प्रदान गर्ने जनशक्ति नै प्रभावित भएपछि उपलब्ध सीमित स्वास्थ्य जनशक्तिमाथि कार्यभार अत्यधिक बढेको छ।

स्वास्थ्यकर्मीहरूले आफ्नो व्यक्तिगत सुरक्षा, परिवारको अवस्था, आवास तथा मानसिक तनावका बाबजुद नागरिकको स्वास्थ्य सेवामा निरन्तर खटिनुपरेको अवस्था छ। यसले स्वास्थ्यकर्मीको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत थप दबाब सिर्जना गरेको छ।

१.२ स्वास्थ्य संस्थाको भौतिक संरचना तथा सामग्रीमा क्षति

बाढीका कारण स्वास्थ्य संस्थाका भवन, औषधि, उपकरण, फर्निचर, स्वास्थ्य सामग्री तथा भण्डारण संरचनामा क्षति पुगेको छ। स्वास्थ्य स्टोरमा समेत क्षति पुगेपछि औषधि तथा स्वास्थ्य सामग्रीको सुरक्षित भण्डारण र आपूर्ति व्यवस्थापनमा चुनौती उत्पन्न भएको छ।

१.३ सडक सञ्जाल तथा यातायात अवरुद्ध

बाढी तथा पहिरोका कारण सडक तथा यातायात सञ्जाल अवरुद्ध भएपछि स्वास्थ्य संस्थामा आवश्यक औषधि, खोप, स्वास्थ्य सामग्री, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु नियमित रूपमा पुर्‍याउन कठिन भएको छ।

सामान्य अवस्थामा सडकमार्फत हुने आपूर्ति प्रणाली अवरुद्ध भएपछि वैकल्पिक माध्यमको खोजी गर्नुपरेको छ। विशेषगरी सडक सम्पर्कबाट विच्छेद भएका तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सामग्री पुर्‍याउनु अत्यन्त चुनौतीपूर्ण बनेको छ।

१.४ हेलिकप्टरमार्फत अत्यावश्यक सामग्री ढुवानी

सडक सञ्जाल अवरुद्ध भएपछि स्वास्थ्य सेवा निरन्तरता दिन आवश्यक खोप, औषधि, स्वास्थ्य सामग्री, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गरी प्रभावित क्षेत्रमा पुर्‍याउने व्यवस्था गरिएको छ।

विशेषगरी बालबालिकाहरू नियमित खोप सेवाबाट वञ्चित हुन नदिन आवश्यक खोप तथा खोपसँग सम्बन्धित सामग्रीको आपूर्तिलाई प्राथमिकता दिइएको छ। साथै दीर्घरोगीका लागि आवश्यक नियमित औषधि, आकस्मिक उपचारका औषधि तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिलाई निरन्तरता दिइएको छ।

सडक सञ्जाल पुनःस्थापित नभएसम्म हेलिकप्टरमार्फत आपूर्ति अत्यन्त खर्चिलो, मौसममा निर्भर तथा चुनौतीपूर्ण भए पनि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालनको महत्वपूर्ण वैकल्पिक माध्यम बनेको छ।

१.५ स्वास्थ्यकर्मीको सुरक्षा चुनौती

विपद्पश्चात् क्षतिग्रस्त तथा जोखिमयुक्त भौगोलिक क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नु आफैंमा ठूलो चुनौती बनेको छ। सडक तथा पुलहरू क्षतिग्रस्त हुनु, कतिपय स्थानमा पहिरोको जोखिम कायम रहनु तथा सञ्चार सेवा प्रभावित हुनुका कारण स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा सेवा स्थलसम्म पुग्न कठिन भएको छ।

स्वास्थ्यकर्मीहरूको भौतिक सुरक्षा, यात्रा सुरक्षा, पुनःविपद्को जोखिम, आवास, खाद्यान्न, सञ्चार तथा मनोसामाजिक सुरक्षा प्रमुख चुनौतीका रूपमा रहेका छन्। तथापि, आफ्नो व्यक्तिगत कठिनाइका बाबजुद स्वास्थ्यकर्मीहरू अग्रपंक्तिमा रही सेवा प्रवाहलाई निरन्तरता दिइरहेका छन्।

१.६ खोप तथा कोल्डचेन सेवाको निरन्तरता

विपद्का कारण स्वास्थ्य संस्था तथा कोल्डचेन संरचनामा क्षति पुग्दा नियमित खोप कार्यक्रम प्रभावित हुने जोखिम उच्च थियो। सडक अवरुद्ध हुँदा खोप तथा खोपजन्य सामग्रीको नियमित आपूर्ति समेत कठिन भएको थियो।

यस अवस्थालाई मध्यनजर गर्दै उपलब्ध वैकल्पिक स्वास्थ्य संस्था तथा सुरक्षित स्थानबाट खोप सेवा सञ्चालन गर्ने, आवश्यक खोप सामग्रीको व्यवस्थापन गर्ने तथा लक्षित बालबालिकालाई नियमित खोप सेवाबाट वञ्चित हुन नदिने प्रयास गरिएको छ।

१.७ दीर्घरोगी तथा संवेदनशील समूहको स्वास्थ्य सेवा

विपद्को समयमा उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घरोग भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिका तथा अन्य संवेदनशील समूह थप जोखिममा पर्न सक्छन्।

त्यसैले प्रभावित समुदायमा आवश्यक औषधि उपलब्ध गराउने, स्वास्थ्य परामर्श प्रदान गर्ने तथा आवश्यकता अनुसार स्वास्थ्य संस्थासँग समन्वय गरी नियमित उपचार तथा औषधि सेवनको निरन्तरता कायम गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।

१.८ मनोसामाजिक स्वास्थ्य तथा परामर्श

बाढीका कारण आफन्त, साथी, सहकर्मी तथा सम्पत्ति गुमाएका, बेपत्ता भएका तथा विस्थापित भएका नागरिकमा डर, त्रास, तनाव, शोक तथा अन्य मनोसामाजिक समस्या उत्पन्न हुन सक्ने अवस्था रहेको छ।

यसलाई मध्यनजर गर्दै होल्डिङ सेन्टर, विद्यालय तथा प्रभावित समुदायमा मनोसामाजिक परामर्श, स्वास्थ्य शिक्षा तथा आवश्यक परामर्श सेवा सञ्चालनलाई प्राथमिकता दिइएको छ।

२. चुनौतीका बाबजुद स्वास्थ्य सेवा निरन्तरताका प्रयास

विपद्ले स्वास्थ्य सेवा प्रणालीमा गम्भीर चुनौती सिर्जना गरे पनि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाले सेवा पूर्ण रूपमा अवरुद्ध हुन नदिने उद्देश्यका साथ उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गर्दै आएको छ।

स्वास्थ्यकर्मीहरू स्वयं विपद्बाट प्रभावित हुँदाहुँदै पनि समुदायको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी निम्न सेवाहरू निरन्तरता दिने प्रयास गरिएको छः

आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा

खोप सेवा

औषधि वितरण

दीर्घरोगीका लागि नियमित औषधि व्यवस्थापन

मातृ तथा बाल स्वास्थ्य सेवा

मनोसामाजिक परामर्श

स्वास्थ्य शिक्षा तथा जनचेतना

होल्डिङ सेन्टरहरूमा स्वास्थ्य सेवा

प्रभावित समुदायमा स्वास्थ्य शिविर तथा घुम्ती सेवा

रोगको जोखिम तथा स्वास्थ्य अवस्थाको निगरानी

सडक सञ्जाल अवरुद्ध हुँदा हेलिकप्टरमार्फत खोप, औषधि, खाद्यान्न, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने, स्वास्थ्यकर्मी परिचालन गर्ने, अस्थायी तथा वैकल्पिक स्थानबाट स्वास्थ्य सेवा सञ्चालन गर्ने तथा विभिन्न निकाय र सहयोगी संस्थासँग समन्वय गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।

२.१ वैकल्पिक विद्युत् संरचनाको निर्माण

विपद्का कारण विद्युत् आपूर्ति प्रभावित हुँदा स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा सञ्चालन, खोपको सुरक्षित भण्डारण, कोल्डचेन व्यवस्थापन तथा आवश्यक स्वास्थ्य उपकरण सञ्चालनमा चुनौती उत्पन्न भएको छ।

यस अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य संस्थाहरूमा सौर्य ऊर्जा प्रणाली, ब्याट्री ब्याकअप तथा अन्य वैकल्पिक विद्युत् स्रोतको निर्माण तथा व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

यसबाट विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा समेत खोप तथा औषधिको सुरक्षित व्यवस्थापन, आवश्यक स्वास्थ्य उपकरण सञ्चालन, प्रकाश तथा आधारभूत स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सहयोग पुग्नेछ।

२.२ पूर्ण डिजिटल ब्याकअप प्रणालीको निर्माण तथा व्यवस्थापन

विपद्का कारण स्वास्थ्य संस्थाका भौतिक अभिलेख, उपकरण तथा संरचनामा क्षति पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा प्रणालीलाई थप विपद् प्रतिरोधी र डिजिटलमैत्री बनाउने उद्देश्यले पूर्ण डिजिटल ब्याकअप प्रणाली निर्माण तथा व्यवस्थापन आवश्यक रहेको छ।

यसअन्तर्गत:

  • स्वास्थ्यसम्बन्धी डिजिटल अभिलेखको सुरक्षित ब्याकअप,
  • खोपसम्बन्धी विवरणको डिजिटल संरक्षण,
  • HMIS तथा नियमित प्रतिवेदनको डिजिटल ब्याकअप,
  • औषधि तथा स्वास्थ्य सामग्रीको डिजिटल अभिलेख,
  • स्वास्थ्यकर्मी तथा सेवा विवरणको सुरक्षित डिजिटल भण्डारण,
  • क्लाउड/अफलाइन ब्याकअप प्रणाली,
  • वैकल्पिक इन्टरनेट तथा सञ्चार प्रणाली,

जस्ता व्यवस्थालाई क्रमशः सुदृढ गर्दै लैजान आवश्यक छ।

यस प्रणालीले भविष्यमा स्वास्थ्य संस्थाका भौतिक संरचना वा अभिलेखमा क्षति पुगे पनि महत्वपूर्ण स्वास्थ्य सूचना सुरक्षित राख्न तथा विपद्पश्चात् स्वास्थ्य सेवा पुनःस्थापना छिटो गर्न महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।

३. आगामी प्राथमिकता

बाढीपश्चात् स्वास्थ्य सेवा पुनःस्थापना मात्र नभई भविष्यमा विपद्का समयमा स्वास्थ्य सेवा थप प्रभावकारी र सुरक्षित बनाउन निम्न विषयहरूलाई प्राथमिकतामा राख्न आवश्यक छः

  • क्षतिग्रस्त स्वास्थ्य संस्थाको शीघ्र पुनर्निर्माण तथा पुनःस्थापना।
  • विपद् प्रतिरोधी स्वास्थ्य संरचना निर्माण।
  • पर्याप्त स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको व्यवस्थापन।
  • सम्पर्कविहीन/बेपत्ता स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका परिवारका लागि राज्यले उचित राहत, क्षतिपूर्ति तथा आवश्यक सहयोगको व्यवस्था।
  • स्वास्थ्यकर्मीको सुरक्षा तथा जोखिम भत्ता/बीमा लगायतका व्यवस्थाको सुनिश्चितता।
  • औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात।
  • स्वास्थ्य संस्थामा वैकल्पिक विद्युत् संरचनाको निर्माण तथा विस्तार।
  • पूर्ण डिजिटल ब्याकअप प्रणालीको निर्माण तथा व्यवस्थापन।
  • डिजिटल स्वास्थ्य प्रणालीलाई विपद् प्रतिरोधी बनाउने व्यवस्था।
  • खोप तथा कोल्डचेन प्रणालीको वैकल्पिक व्यवस्था।
  • आकस्मिक अवस्थामा हेलिकप्टर तथा अन्य वैकल्पिक ढुवानी प्रणालीको पूर्वतयारी।
  • होल्डिङ सेन्टर तथा विस्थापित समुदायमा नियमित स्वास्थ्य सेवा।
  • विपद् प्रभावित बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा दीर्घरोगीका लागि विशेष स्वास्थ्य सेवा।
  • मनोसामाजिक स्वास्थ्य तथा परामर्श सेवाको विस्तार।
  • स्वास्थ्य संस्था तथा समुदायस्तरमा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि।
  • स्वास्थ्यकर्मी, स्थानीय सरकार, सुरक्षा निकाय, जिल्ला, प्रदेश तथा संघिय स्वास्थ्य निकाय र सहयोगी संघसंस्थाबीच प्रभावकारी समन्वय।

४. निष्कर्ष

मिति २०८३ भदौ १० गतेको विनाशकारी बाढीले गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीलाई गम्भीर रूपमा प्रभावित बनाए पनि स्वास्थ्य सेवा रोकिएन। स्वास्थ्य संस्था तथा स्वास्थ्य स्टोरमा क्षति पुग्यो, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति प्रणाली अवरुद्ध भयो, सडक सञ्जाल बन्द भयो, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू स्वयं प्रभावित भए र स्वास्थ्यकर्मीको सुरक्षा समेत चुनौतीपूर्ण बन्यो।

तर यी सबै कठिनाइका बाबजुद गोसाईकुण्ड गाउँपालिका, स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित सरोकारवालाहरूको निरन्तर प्रयासबाट होल्डिङ सेन्टरहरूमा स्वास्थ्य सेवा, खोप सेवा, आधारभूत स्वास्थ्य सेवा, दीर्घरोगीका लागि नियमित औषधि वितरण तथा आवश्यक स्वास्थ्य सेवामा नागरिकको पहुँच कायम राख्ने प्रयास भइरहेको छ।

सडक सञ्जाल बन्द भएको अवस्थामा हेलिकप्टरमार्फत खोप, औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउनु, अस्थायी तथा वैकल्पिक संरचनाबाट स्वास्थ्य सेवा सञ्चालन गर्नु, वैकल्पिक विद्युत् प्रणालीको निर्माण गर्नु तथा डिजिटल स्वास्थ्य अभिलेखको ब्याकअप व्यवस्थापनतर्फ अघि बढ्नु स्वास्थ्य सेवा निरन्तरताका महत्वपूर्ण प्रयासहरू हुन्।

यो अवस्था केवल स्वास्थ्य सेवाको चुनौती मात्र नभई विपद्को समयमा स्थानीय स्वास्थ्य प्रणालीको क्षमता, स्वास्थ्यकर्मीको समर्पण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान र समुदायप्रतिको उत्तरदायित्वको परीक्षा समेत हो।

गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखा आगामी दिनमा पनि उपलब्ध स्रोत साधनको अधिकतम परिचालन, अन्तरनिकाय समन्वय र स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासमार्फत “विपद्मा पनि स्वास्थ्य सेवा निरन्तर” भन्ने मूल उद्देश्यका साथ प्रभावित नागरिकको स्वास्थ्य सुरक्षाका लागि निरन्तर क्रियाशील रहनेछ।

#घिमिरे गोसाईकुण्ड गाउँपालिका, रसुवाका स्वास्थ्य शाखा प्रमुख हुन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *