स्वास्थ्य पत्रकार मञ्च नेपालको सातौं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, ५ चैत । स्वास्थ्य ‘बिट’मा क्रियाशिल पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको सातौं बार्षिक साधारण सभा तथा बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार ललितपुरको गोदावरी पार्कमा मञ्चको साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।
साधारणसभा मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले संस्थाको समग्र रुपमा बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा बोल्दै उनले कोभिड महामारीका बीचमा आएको नयाँ कार्यसमितिले यसअघि गरेका कार्यहरुको समिक्षा गर्दै संस्थालाई थप प्रभावकारी र क्रियाशिल रुपमा अघि बढाउने बताए । उनले स्वास्थ्य पत्रकारलाई प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोप दिन सफल भएको, यस्तै महामारीका बेला प्रयाप्त रुपमा स्वास्थ्य सामग्री र केही फेलोसिप कार्यक्रम अघि बढाउन सकिएको जानकारी दिए । उनले आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रभावकारी ढंगले अघि बढाउने बताए ।
महासचिव भिषा काफ्लेले संस्थाले पछिल्लो एक वर्षमा गरेका सांगठनिक गतिविधिका बारेमा जानकारी गराएका थिए । आठ वर्ष अघि एघार जना पत्रकारबाट सुरु भएको संगठनले अहिले ७६ जनामा विस्तार भएको भन्दै अव छिटै नै प्रदेश तहमा आफ्नो सञ्जाल विस्तार गर्ने योजनामा अघि बढेको बताए ।
कार्यक्रममा कोषाध्यक्ष कमला गुरुङले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा निवर्तमान अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकार मञ्च नेपालको विगत र वर्तमानलाई केलाउँदै यसलाई थप सशक्त र क्रियाशिल गराउनु पर्नेमा जोड दिईन् । उनले सोही अवसरमा स्वास्थ्य पत्रकार कोषमा २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरिन ।
यस्तै अग्रज स्वास्थ्य पत्रकार विष्णु नेपालले स्वास्थ्यमा क्रियाशिल पत्रकारलाई जसरी मञ्चले संगठित गरिरहेको छ, त्यसैगरी क्षमता अभिबृद्धि तथा बृत्तिविकासमा समेत सहयोग गर्नुपर्ने बताए । उनले संस्थाले पछिल्लो समय गरेका कामहरुको प्रसंशा समेत गरे ।
कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थ र नसर्ने रोगको विषयमा मञ्चसंग लामो समय सहकार्य गर्ने मौका पाएको भन्दै खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि सहकार्यलाई जारी राख्ने बताए ।
कार्यक्रममा मञ्चका सदस्य बासुदेव न्यौपानेले स्वास्थ्य पत्रकार पुरस्कार कोष स्थापना गर्नका लागि जोड दिंदै त्यसका लागि आफ्नो तर्फबाट बार्षिक रुपमा १० हजार सहयोग गर्ने घोषणा गरेका थिए ।
सोही अवसरमा संस्थाले आफ्नो नयाँ वेवसाइट www.hjfn.org औपचारिक रुपमा समेत सञ्चालनमा ल्याएको छ ।
औपचारिक कार्यक्रम सकिएपछि सबै सहभागीहरु बनभोज कार्यक्रममा सरिक भएका थिए ।
सम्पर्क इमेल : [email protected]