ग्राण्डीले गर्यो १०३ जनाको मिर्गौला प्रत्यारोपण
काठमाडौँ, २८ फागुन । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ६ वर्षको अवधीमा १०३ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जनाएको छ ।
ग्राण्डीले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो ।
अस्पतालले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गरेको हो।
कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्नु ठूलो कुरा भएको बताए।
नेपाल मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्राडा भोलाराज जोशीले मिर्गौला दान गर्नेको सङ्ख्या मुलुकमा बढाउनु जरुरी रहेको बताए। सन् २००८ मा नेपालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण भएको स्मरण गर्दै हाल देशभर एक हजार ५०० बढी बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको उनले बताए।
‘नेपालका बिरामी मिर्गौला प्रत्यारोपणका लागि विदेश जान नपरोस्, स्वदेशमा नै सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्न पाईयोस्,’ उनले भने।
अस्पतालका मेडिकल निर्देशक डा विनोद विजुक्छेले १०३ बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएपनि दुई निमोनिया, दुई कोरोना र एक बिरामीको उच्च रक्तचापका कारण मृत्यु भएको बताए। रासस
सम्पर्क इमेल : [email protected]